
शास्त्रहरुमा लेखिएको छ -‘बीर भोग्या वसुन्धरा ।’
अन्य प्रसंगहरुमा समेत स्त्रीलाई धन र दासीका रुपमा परिभाषित गरेको पाइन्छ । पितृसत्तामा धनका धेरै प्रकारहरुमध्ये स्त्री धन पनि एक हो र त्यो धनको मालिक हुन्, पुरुष ।
समाजमा कन्यादानको परम्परा अझै जीवितै छ । यो महिला या स्त्रीमाथिको ठूलो विभेद र दमन हो । दान वस्तु, चिज, धन, सम्पतिको गरिन्छ र स्त्री पनि धन नै मानिन्छ ।
अझ कन्यादानका बेला बोलिने ‘मारे पाप, पाले पुण्य ‘ भन्ने वचनले कस्तो अर्थ राख्ला ? हाम्रो नारीवादी आन्दोलनले यसको निर्क्यौल आफैं गरोस् ।
बिहेबारी हुँदा स्त्री नै पुरुषको घरमा जाने परम्परा दासी या बेचबिखन परम्पराको निरन्तरता बाहेक अन्य के हो त ? अंश र वंशको अधिकार महिलालाई दिइएको छैन ।
भारत वर्षमा मुस्लिम (मुगल) साम्राज्यको विस्तार गर्ने क्रममा हिन्दुहरु निकै नै त्रसित थिए । त्यसैले गर्दा हिन्दुहरुले आफ्ना छोरी चेलीहरुलाई मासिक धर्म नहुँदै विवाह गरिदिन थाले ।
त्यस्तो परम्परालाई धार्मिक मान्यता र पुण्य कमाउने साधनको रुपमा प्रयोग गर्न थालियो । यसको प्रभाव खस साम्राज्य, नेपालको काठमाडौ उपत्यका लगायत स्थानहरुमा पर्न गयो । खस राज्यको मध्यम वर्गीय समाजमा विवाहका लागि नाबालक उमेरदेखि नै बालिकाहरुको अभिभावकसँग खरिद बिक्री हुने गर्दथ्यो ।
काठमाडौंमा मल्लकालमा राजा तथा उच्च घरानीयाहरुले बाल विवाह गर्ने गरेको प्रसंग प्रसस्तै पाइन्छ । धर्म शास्त्रानुसार महिनावारी हुनु अगावै छोरीको बिहे (कन्यादान) गरिदिनुलाई पुण्यकर्म मानिन्छ । त्यसैले धर्मको आडमा नाबालिका विवाहले समाजमा अझै स्थान कायमै राखेको देखिन्छ ।
शास्त्र अनुसार ,सतीको मृत्युपश्चात उनको पुनर्जन्म पर्वत राज हिमालयको घरमा ‘पार्वती’का रुपमा हुन पुग्छ । नाबालिका पार्वतीको ६ वर्षको उमेरमा बुढा शिवसँग बिहे गरिन्छ । नाबालिका बिहे गर्ने तत्कालीन समाजको प्रचलित प्रथाको रुपमा यसलाई अर्थ्याउनु ठीक हुन्छ । तिनै शिव र पार्वतीको यौन समागमको प्रतीकलाई ‘शिवलिंग’को रुपमा अझै पूजा गर्ने चलन छ ।
भारतमा मात्रै विश्वमा हुने बाल विवाहको ४० प्रतिशत बालविवाह हुने गर्दछ । त्यस्तै भारतको ४९ प्रतिशत महिलाको १८ वर्षभन्दा कम उमेरमा विवाह हुने गर्छ । भारतको बिहार राज्यमा सबै भन्दा बढी ६८ प्रतिशत बाल विवाह हुने रहेछ । हाल भने भारतको अधिनियम २००६ बमोजिम महिलाको विवाह गर्ने न्युनतम उमेर १८ र पुरुषको उमेर २१ वर्ष व्यवस्था गरिएको छ ।
नेपालमा विसं. १९१० (सन् १८५४) को मुलुकी ऐनमा विवाहका लागि कन्याको न्युनतम उमेर ५ वर्ष तोकिएको थियो । उक्त ऐनको विवाहवारीको महलमा रहेको धारा तत्कालीन समाजको प्रचलनमा आधारित मान्नु अन्यथा ठहर्दैन । विसं. २०२० (सन् १९६३ )को मुलुकी ऐन बमोजिम विवाह गर्न स्त्रीको उमेर १४ र पुरुषको १८ वर्ष तोकिएको छ ।
तथापि हालको व्यवस्था बमोजिम स्त्री र पुरुष दुबैको विवाह गर्ने न्युनतम उमेर २० वर्ष तोकिएको छ । यो ऐनको उल्लंघन गरी बाल विवाह गरेमा ३ वर्ष कैद र जरिवानाको व्यवस्था समेत गरिएको भए तापनि कार्यान्वयनमा जटिलता देखिएको छ । जटिल बन्नुका कारण धार्मिक मान्यता लगायत दाइजो प्रथा,छोराको चाहना ईत्यादि पर्दछन् ।
दमिनी बन्ने प्रसंग
बालिका उमेर कटेर यौवनावस्थामा प्रवेश गरेकी स्त्रीको महिनावारी (मासिक धर्म) सुरु हुनु एक प्राकृतिक, स्वाभाविक र नियमित प्रक्रिया बाहेक अन्य केही होइन । यो त सृष्टिको निरन्तरताका निम्ति अनिवार्य प्रक्रिया समेत हो । स्त्रीहरु नियमित महिनावारी हुन बन्द भयो भने विश्वबाट मानव अस्तित्व समाप्त हुन्छ । मानवको जन्म नै हुन छोड्ने हो भने,संसारबाट मानव लोप हुनेछन् । अनि यस्तो स्वाभाविक, नियमित, अत्यावश्यक र अनिवार्य प्रक्रिया कसरी अपवित्र, पापको फल, श्रापको उपज,अछुत र अधर्म क्रिया हुन सक्छ ?
यो प्रश्न छाउपडीका नाममा अकाल आफ्ना छोरी-चेली मर्न बाध्य पार्ने सुदुरपश्चिम र कर्णाली बासीमाथि मात्रै होइन, महिनावारी भएका बेला पूजाकोठा, भान्सा, मन्दिर, फलफूलको बोट छुन र प्रवेशमा रोक लगाउने काठमाडौंलगायत शहरका शिक्षित परिवारमाथि पनि हो ।
छाउगोठमा झै ज्यानै जाने घटना शहरमा नहोलान्, तथापि महिनावारीका बेला हुने विभेदका घटना कम दर्दनाक छैनन् । हाम्रो गोरखातिर महिनावारी हुनुलाई ‘दमिनी हुनु’ भनिन्छ । हरेक महिना एकपटक बाहुनी पनि दमिनी हुन्छे, अर्थात अछूत हुन्छे । यस्तो मान्यता अद्यापि जीवित छ । देउता, पाप र पुण्य, धर्म, परम्परा जस्ता अकाट्य कुराहरुलाई हतियार बनाएर महिलामाथि ‘छाउ’ या ‘नछुने’ या ‘दमिनी हुने’ आदि नाउँमा विभेद गरिन्छ ।
कथित भगवान् ईन्द्रको श्राप मोचन गर्न महिलाको मासिक धर्म हुने गरेको हो भन्ने मिथकमा विश्वास गर्ने गरेको अझै सुनिन्छ । कथाका ईन्द्र पात्रको जन्म हुनु भन्दा अघिदेखि नै मानवको अस्तित्व थियो र त्यो समयमा पनि महिलाहरु महिनावारी हुने गर्दथे ।
पहिलो कुरा त हिन्दु धर्म शाास्त्रले स्त्री जाति सबैलाई शूद्र र दासको मान्यता दिएको छ । दोस्रो कुरा शूद्र याने दलित महिलामाथिको दमन, विभेद र अन्यायको पराकाष्ठा हो ‘दमिनी भएका बेला !’ भनिने प्रचलन र मान्यता ।
सती प्रथादेखि छाउपडीसम्मका कुरीति
सन् १८२९ मा बि्रटिस सरकारद्वारा भारतमा सती प्रथाको अन्त्य गरिएको थियो । गभर्नर लर्ड बिलियम बेंटिक र राजाराम मनोहर रायको विशेष अभियान स्वरुप भारतमा सती प्रथाको अन्त्य हुन पुग्यो । त्यसको करिब ९१ वर्षपछि अर्थात १९२० जुलाई २८ (विसं.१९७७ असार २५) मा राणा प्रधानमन्त्री चन्द्र शमशेर उर्फ फिस्टे महाराजले नेपालमा सती प्रथाको विधिवत अन्त्यको घोषणा गरे ।
आगामी वर्ष २०७७ असारमा नेपालबाट सती प्रथाको विधिवत अन्त्य भएको एक शताब्दी पूरा हुँदैछ ।
भारतमा मुगल अर्थात इस्लामिक राजाद्वारा सिंध, पञ्जाव, राजपूत क्षेत्रहरुमा आक्रमण हुन गयो र त्यो समयमा युद्धमा मारिएका पुरुषका पत्नीहरुले सती प्रथा अनुसार धेरै ठूलो संख्यामा आत्मदाह गरेका थिए । भारत वर्षमा सती प्रथाको शुरुवात भएका प्रमाण भेटिएका छन् ।
नेपालमा भने सती प्रथाका पृथक प्रसंग भेटिन्छन् । लिच्छवीकालीन राजा धर्मदेवको अकस्मात मृत्यु भएपछि उनकी पत्नी रानी राज्यवती सती जान तम्सिन्छिन् । तर, छोरा (नयाँ राजा) मानदेवले आफ्नी आमालाई सती जानबाट रोक्छन् । अर्का राजा भौम गुप्तकी आमा आभिरी पति अनुपरमको मृत्यु पश्चात सती जानबाट रोकिन्छिन् । लिच्छवीकालमा सती प्रथा प्रचलनमा रहेको भए तापनि अनिवार्य चाहिँ नरहेको दृष्टान्त हुन् यी ।
राजा यक्ष मल्लले विसं.१५३३ मा राखेको शिलापत्रमा सती गएका स्त्रीहरुको उल्लेख पाइन्छ भने उनै यक्ष मल्लकी रानी कीर्तिलक्ष्मीको १५४४ को शिलालेखबाट पतिको मृत्यु पश्चात सती नगएको उल्लेख छ ।
विसं.१६३१ मा काठमाडौका राजा महेन्द्र मल्लको मृत्यु, १७२९ मा भक्तपुरका राजा जगतप्रकाश मल्लको मृत्यु, १७३७ मा काठमाडौका राजा नृपेन्द्र मल्लको मृत्यु, १७६२ मा पाटनका राजा योगनरेन्द्र मल्लको मृत्यु हुँदा धेरै स्त्रीहरु सती गएका थिए । विसं. १७४४ मा काठमाडौका राजा पार्थिवेन्द्र मल्ल विष प्रयोगद्धारा मारिँदा उनीसँग २४ वटी स्त्रीहरु सती गए ।
काजी लक्ष्मीनारायण जोशीसँग मिली पति पार्थिवेन्द्रलाई विष प्रयोग गराउने रानी ऋद्धलक्ष्मी सती गइनन् । तर, विसं. १८१७ मा पाटनका राजा विश्वजीत मल्लले आत्महत्या गर्दा उनकी आमा सती गएको इतिहास छ ।
ज्ञात रहोस् ,विसं. १७९९ मा गोरखाका राजा नरभूपाल शाहको मृत्यु हुँदा उनकी कान्छी रानी सुभद्रावती सती गइनन् । तथापि राजाको स्याहार सुसार गर्ने एउटा केटोसमेत सहगमन गरी नरभूपालको लाससँगै सती गएको अनौठो घटना भेटिन्छ ।
विसं. १८३१ मा पृथ्वीनारायण शाहको मृत्यु हुँदा उनकी पत्नी नरेन्द्रलक्ष्मी सहित थुप्रै स्त्रीहरु सती गए । १८३४ मा प्रतापसिंह शाहको मृत्यु हुँदा ८ वटी स्त्रीहरु सती गए पनि उनकी रानी राजेन्द्रलक्ष्मी भने सती गइनन् ।
भनिन्छ, प्रधानमन्त्री जंगबहादुर राणा सती प्रथाका विरोधी थिए । प्रम राणाद्वारा जारी १९१० को मुलुकी ऐनमा उनले नै १६ वर्ष मुनिकी विधवा, दासी एवं नोकर महिला र ९ वर्षभन्दा कम उमेरका छोराछोरी हुने महिलालाई सती जानु नपर्ने व्यवस्था गरेका थिए ।
यद्यपि इतिहास साक्षी छ, १९३३ मा उनै जंगबहादुरको मृत्यु हुँदा उनकी बडामहारानी हिरण्यगर्भदेवी सहित ४२ जना (रानी) स्त्रीहरु उनकै चितामा भष्म भएका थिए ।
प्रतिक्रिया 4