Comments Add Comment

मन्त्रीज्यू ! नागरिकलाई मृत्यु बाँड्ने ?

स्वास्थ्यमन्त्री भानुभक्त ढकाल दुई दिनदेखि निक्कै चर्चामा छन् । गैरजिम्मेवार अभिव्यक्तिको कारण सर्वत्र आलोचना बढिरहेको छ उनको । विस्तारै सरकार नै विवादको घेराभित्र तानिँदै गइरहेको छ । मन्त्री ढकालले मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा राष्ट्रिय युवा संघ नेपालको ध्यानाकर्षण पत्र बुझ्दै चीनबाट विद्यार्थी ल्याएर क्वारेन्टाइनमा राखेजसरी राख्न नसक्ने कुरा बताए । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार आफैं क्वारेन्टाइनमा बस्नुपर्ने कुरासमेत गरे ।

मन्त्रीज्यू ! संसार कोरोनाविरुद्ध लडिरहेको यस बखत के तपाईं नागरिकलाई मृत्यु बाँड्न चाहानुहुन्छ ? उपचार गरिदिने त कुरै छाडौं, क्वारेन्टाइनमा समेत राख्न नसक्ने ? क्वारेन्टाइनमा बसेको खर्च नागरिक आफैंले व्यहोर्नुपर्ने ? दशजना संक्रमित व्यक्ति क्वारेन्टाइन बस्न सक्दैनन् । आफैंले खर्च गर्नुपर्ने भएपछि आफ्नै तरिकाले बाहिरी संसारमा बाँच्छु भन्यो भने के हुन्छ ? कल्पना गर्नुस् त ।

मन्त्रालयमा हुने भ्रष्टाचार नगर्ने संकल्प गर्ने हो भने पनि हजारौं व्यक्तिलाई क्वारेन्टाइनमा राख्न सकिन्छ । भ्रष्टाचार गरेको सम्पत्तिले स्वास्थ किन्न सकिन्छ र ? त्यसैले हे भ्रष्टाचारीहरू हो ! जब तिम्रो जीवन नै जोखिममा छ भने कसका लागि भ्रष्टाचार गर्छौ ? कम्तिमा तिमीहरूसँग मानवीय संवेदना छ भने कोरोनाबाट पार नपाउन्जेल त भ्रष्टाचार नगर । अनि हामी (औषधि व्यापारी) पनि कति संवेदनाहीन ? नाथे मुख छोप्ने मास्कमा नाफा खान्छौं । नाफा खान पाइएन भनेर मास्क लुकाउँछौं । कृत्रिम अभाव सिर्जना गर्छौ ।

सरकार ! संसारमा मान्छेका लागि स्वास्थ्यभन्दा ठूलो कुरा अरू केही हुन सक्दैन । कम्तिमा नागरिकको स्वास्थ्यप्रति संवेदनशील बन । अनि मन्त्रीज्यू ! आफ्नो पदीय मर्यादाको ख्याल राखेर मात्रै बोल्ने गर्नुस् । तपाईं व्यक्ति होइन, संस्था हो । अनि व्यापारी साथीहरू ! संकटको बेला साथ दिने हो । सहयोगको हात बढाउने हो । मास्कमा समेत नाफा खाने होइन । मृत्यु शाश्वत सत्य हो । आखिर अजम्बरी कोही छैन । कम्तिमा पाप र धर्मको त ख्याल राखौं ।

छिमेकी देश चीनको वुहानबाट उत्पत्ति भएको कोरोना भाइरस संसारभरि फैलिरहेको छ । चारहजार जनाभन्दा बढीको मृत्यु भैसकेको छ भने एक लाखभन्दा बढी व्यक्ति संक्रमित देखिएको छ । संक्रमित हुनेहरू सामान्य नागरिक मात्रै नभएर चिकित्सक र स्वास्थ्यमन्त्री समेत छन् । बेलायतकी स्वास्थ्य मन्त्री नदिन डोरीजले आफू कोरोना भाइरसबाट संक्रमित भएको कुरा आफैँले पुष्टि गरेकी छिन् । कतिपय देशले कोरोना विरुद्ध जुध्न राष्ट्रव्यापी रूपमा सङ्कटकाल घोषणा गरेका छन् । कोरोना विरुद्ध युद्धको घोषणा गरेका छन् ।

कोरोना महामारीले संसार आतंकित छ । विश्व स्वास्थ्य संगठन चिन्तित छ । भाइरस रोकथामका सम्पूर्ण उपायहरू प्रयोग गर्न सरकारहरूलाई अपील गरेको गरेकै छ । तर, हाम्रो देशको सरकार र स्वास्थ्य मन्त्रालय भगवान भरोसामा दिन बिताइरहेका छन् । गणतान्त्रिक सरकार राजतन्त्रमा राजाले झैँ ‘पशुपतिनाथले हामी सबैको कल्याण गरून’ भन्दै पशुपतिको पुकारा गरिरहेका छन् । मन्त्रीज्यू ! रोगले आफ्नो र पराई छुट्ट्याउँदैन । कोरोनाले छानीछानी नागरिकलाई मात्रै हमला गर्दैन । यस्तै लापरवाही र गैरजिम्मेवार बन्दै जाने हो भने तपाईंको स्वास्थ्य मन्त्रालयभित्र तपाईं बिराजमान कुर्सीमै तपाईंलाई हमला गर्न आइपुग्नेछ कोरोना । जसरी बेलायती स्वास्थ्यमन्त्री आज कोरोना हमलामा परेकी छन् ।

राधा पोखरेल

डब्ल्युएचओले नेपाल कोरोनाको उच्च जोखिममा रहेको र उच्च सतर्कता उपनाउन अनुरोध गरेकोगरेकै छ । कोरोना विरुद्ध जुध्न आजसम्म सरकारले के–के तयारी गरेको छ ? हामी नागरिकलाई औपचारिक सूचना खोइ ? च्याउजतिकै उमृएको मेडियाहरूले जथाभावी समाचार लेखेकोलेखेकै छ । नागरिकहरू एउटा मिडियाको समाचार पढेर सुरक्षित महसुस गर्छन् अर्को मिडियाको समाचार पढेर पुरै आतंकित हुन्छन् । सरकार भनेको नागरिकको अभिभावक हो । उसले अभिभावकत्व दिनसक्नुपर्छ । चुनावमा फोस्रो आश्वासन बाँडेर मात्रै हुँदैन ।

आजको युग सूचना सन्चारको युग हो । सूचनाको मनोबैज्ञानिक प्रभाव कतिपर्छ यहाँ व्याख्या गरिरहनु पर्दैन । गलत सूचनाको कारण आत्तिएर कतिपय भाइरस संक्रमित व्यक्तिहरूको मृत्यु भएको हुनसक्ने अनुमान चिकित्सकहरूले गरिरहेका छन् । उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको समितिले के के काम गरिरहेको छ ? कोरोना सम्बन्धी सरकारको आधिकारिक विचार त त्यहीँबाट आउनुपर्ने होला नि ! तर सरकारको जतिवटा अङ्ग उतिवटा विचार बाहिर आइरहेको छ । अहिले पनि शिक्षामन्त्रालय आफ्नै कुरा बोलिरहेको छ । गृह मन्त्रालय आफ्नै कुरा बोलिरहेको छ । नागरिक उड्डययन प्राधिकरण आफ्नै दावी गरिरहेको छ । सबै आ–आफ्नो कुरा बोलिरहेका छन् । आ–आफ्नो दावी गरिरहेका छन् ।

कोरोना संक्रमित धेरैवटा देशले सीमाना सिल गरेको छ । अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरेको छ । तर, हाम्रो देशमा न त सीमाना सिल गरेकोछ, न त अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरेको छ । कोरोना जोखिम बढेदेखि यता मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बाटोबाट झन्डै एकलाख यात्रु विभिन्न देशहरूबाट नेपाल भित्रिएका छन् । उनीहरू संक्रमित हुन् कि होइनन् ? राम्रोसँग चेकजाँच गरिएको पनि छैन । उनीहरू कहाँ बसेका छन् ? कहाँकहाँ घुमिरहेका छन् ? के गरिरहेका छन् ? कुनै अभिलेख र सूचना भएजस्तो पनि लाग्दैन । भ्रमण बर्ष– २०२० सफल पारौं ! भन्दै पर्यटक बोलाउन व्यस्त छन् मन्त्रीदेखि कर्मचारीसम्म ।

नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरु उडान बन्द गर्नु नपर्ने दाबी गरिरहेका छन् । उडान बन्द गर्न आवश्यक छ कि छैन ? नागरिक उड्डयनका अधिकारीहरूले भन्ने कुरा हो र ? त्यो कुरा त स्वास्थ्य मन्त्रालयले भन्ने होला नि ! नागरिकको स्वास्थ्यभन्दा ठूलो व्यापार हो ? नाफा हो ? भ्रमण बर्ष हो ? कति संवेदनाहीन भएको हाम्रो सरकार ? हाम्रा मन्त्री र उच्च पदस्थ कर्मचारीहरू ?

संसार कोरोना विरुद्ध युद्ध लड्दैछ । आजको संसारमा कुनै पनि देश निर्जन टापू बनेर बाँच्न सक्दैन । वैश्वीकरण आजको संसारको चरित्र हो । संसारको कुनै ठूलो देशमा संकट आयो भने त्यसको प्रत्यक्ष परोक्ष असर संसारभर पर्छ । रेमिट्यान्समा बाँचेको हाम्रो देशमा खाडी मुलुकहरूले उडान बन्द गर्ने्बित्तिकै त्यसको असर आर्थिक क्षेत्रमा देखापर्न थालिसक्यो । भारतले सीमा सिल गर्ने कुरा सँगसँगै ग्यास, पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य बस्तुको अभाव बजारमा देखिन थालिसक्यो । आयातमुखी अर्थतन्त्र भएको हाम्रोजस्तो देशमा अहिलेदेखिनै राम्रो तयारी नगर्ने हो भने भोलि हामी कसैले कल्पनै नगरेको संकट आउनसक्छ । कोरोना संक्रमित देशहरूबाट सरकारले बेलैमा सिकेर आवश्यक पूर्वतयारी गर्नु जरुरी छ ।

संसारमा कोरोना विरुद्धको औषधि बनिसकेको छैन । तसर्थ, रोग लाग्नै नदिने तयारी गर्नु सबैभन्दा बुद्धिमानी हुन्छ । ‘नेपालीहरूको इम्युनिटी पावर धेरै भएकाले नेपालीलाई कोरोना लाग्दैन । लागिहाले पनि आफ्नै घरेलु उपचारद्वारा निको बनाउन सकिन्छ ।’ के यस्तो भनेर लापरबाही गर्न मिल्छ ? रोग लागिहाले घरेलु उपचारका नाममा बेसार दलेर हुन्छ ? लसुन खाएर हुन्छ ? बोझो चपाएर हुन्छ ? हुँदैन ।

मनोबल कमजोर हुन नदिन रोग नलागुन्जेल यस्ता तर्कले पनि सकारात्मक भूमिका खेल्न सक्छ । सरकारको भूमिका हेर्दा यस्तै बजारू तर्कलाई बल पुर्‍याउने जस्तो देखिन्छ । सभा, सम्मेलन नगर्ने कुरा त गर्‍यो सरकारले । तर के कडाइपूर्वक रोकेको छ ? के भैरहेको छ, अनुगमन गरेको छ ? फागु नखेल्नु त भन्यो सरकारले । तर, के फागु खेल्न रोक्न सक्यो सरकारले ? सकेन । धन्न, संयोग नै मान्नुपर्छ, आजसम्म नेपालमा एकजनालाई पनि कोरोना संक्रमित भएको छैन । सरकारको प्रयास र नागरिक सचेतनाको कारणले यस्तो भएको होइन । कसैले जस लिन नखोजौं । यो संयोग मात्रै हो ।

केही गरी हाम्रो देशमा कोरोना भाइरस संक्रमित भयो र फैलियो भने सायद नियन्त्रण गर्ने बुँता हाम्रो हुने छैन । चीनले जस्तो एक हप्तामा एक हजार शैय्याको अस्पताल हामी निर्माण गर्न सक्ने छैनौं । दक्षिण कोरिया, इटली, अमेरिका, जापानले जस्तो अरबौं खरबौं बजेट खर्च पनि हामी गर्न सक्दैनौं । ती देशहरूमा जस्तो अत्याधुनिक स्वास्थ्य सेवा र दक्ष जनशक्ति पनि हामीसँग छैन ।

त्यसर्थ, हाम्रे लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको रोग संक्रमण हुनै नदिने पूर्वतयारी गर्नु हो । साथसाथै अन्य आवश्यक तयारी पनि युद्धस्तरमा गर्नु जरुरी छ । अन्यथा, प्लेग, कोलेरा, इबोलाले संसारमा जसरी लाखौं, करोडौं मान्छेको ज्यान लिएको थियो, त्यस्तै महामारीको रूप लिन सक्छ कोरोनाले पनि ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment