+
+

दुई दिनमा ४६ जनाले लिए निःशुल्क एम्बुलेन्स सेवा

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ४ गते १२:४४
Photo Credit : File Picture

४ वेशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित निःशुल्क आकस्मिक एम्बुलेन्स सेवाबाट दुई दिनमै ४६ जना लाभान्वित भएका छन् । लकडाउन अवधिभर हृदयाघात, मृगौला रोगीलगायतका बिरामीलाई अस्पतालसम्म लैजान-ल्याउनका लागि सुरु गरिएको सेवामा ४६ जना लाभान्वित भएका हुन् ।

सेवा सुरु गरेको पहिलो र दोस्रो दिनमै ४६ जनालाई सेवा दिएको एम्बुलेन्स चालक संघ, नेपाल (काठमाडौं जिल्ला कार्य समिति)का अध्यक्ष गणेश सापकोटाले जानकारी दिए । उनले डायलाइसिस गर्नुपर्ने बिरामी, मुटुरोगी, सुत्केरी व्यथा लागेकालगायतका बिरामीलाई प्राथमिकतामा राखेर सेवा दिने गरेको बताए ।

‘हाम्रो कार्यक्षेत्र महानगरपालिका भित्र मात्रै हो तर, महानगरपालिका क्षेत्र बाहिर र उपत्यका बाहिरबाट पनि हामीलाई बिरामीहरुले सम्पर्क गर्ने गर्नुभएको छ,’ सापकोटाले भने, ‘दैनिक पचास बढीका त्यस्ता फोन आउने गरेका छन् । तर, हामीले महानगरपालिका क्षेत्र भित्रका बिरामीलाई नै बढी प्राथमिकता दिएका छौँ ।

त्यस्ता बिरामीलाई वीर अस्पताल, टिचिङ अस्पताल, बालाजुको डायलाइसिस सेन्टरलगायतमा लैजाने गरेको एम्बुलेन्स चालक संघले जनाएको छ। काठमाडौँ महानगरपालिकाले संयुक्त एम्बुलेन्स चालक संघ, नेपाल (काठमाडौं जिल्ला कार्य समिति) सँग सम्झौता गरी लकडाउन अवधिभर २४ सै घण्टा सेवा दिने व्यवस्था मिलाएको थियो ।

सोही सम्झौता अनुसार पाँच वटा एम्बुलेन्सले लकडाउनको समयमा हृदयाघात, मृगौला रोगीलगायतका महानगरवासीहरुलाई आकस्मिक सेवा दिइरहेको काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए ।

लकडाउनको अवधिमा महानगरमा बसोबास गर्ने त्यस्ता बिरामीलाई सार्वजनिक यातायातको सवारी साधन उपलब्ध नभएको अवस्थामा अस्पतालसम्म लैजान-ल्याउन समस्या भए काठमाडौं‌ महानगरपालिकाले हटलाइन नम्वर ११८० मा सम्पर्क गर्न पनि उनले आग्रह गरेका छन् ।

सम्झौतामा निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्दा रोगको प्रकृति हेरी प्राथमिकीकरण गरीे सेवा प्रदान गर्नुपर्ने उल्लेख गरेको भन्दै प्रशासन विभाग प्रमुख नमराज ढकालले हृदयाघात, मृगौला रोगीलगायतलाई आकस्मिक सेवाका लागि पहिलो प्राथमिकता दिने गरेको बताए ।

‘सम्झौता अवधिभर निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने सवारी साधन ५ ओटामा २४ घण्टा नै सवारी चालक सहित सवारी साधन प्राविधिक रुपमा दुरुस्त राखिएको छ,’ उनले भने, ‘चाबहिल, बौद्ध, बालाजु, स्वयम्भु, लाजिम्पाट, अन्तराष्ट्रिय विमानस्थल, कोटेश्वरलगायतका स्थानबाट एम्बुलेन्सले सेवा दिइरहेका छन् ।’

सेवा लिनका लागि १०२ नं. मा सम्पर्क गर्न सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?