
१० वैशाख, जनकपुरधाम । धनुषाको कमला नगरपालिकामा बुधबार लकडाउन प्रभावितलाई वितरण गरिएको राहतमा चामल र आलु कुहिएको पाइएको छ ।
वडा नम्बर-५ स्थित लक्कड टोलमा वितरण गरिएको राहतमा चामल र आलु कुहिएको पाइएको स्थानीयहरूले बताएका छन् । राहत लिएका झण्डै चार दर्जन व्यक्तिलाई सडेको चामल र कुहिएको आलु परेको पीडितहरूले बताएका छन् ।
‘राहतको पोका लिए लगत्तै गन्हाउन थाल्यो,’ स्थानीय श्याम पासवानले भने, “खोलेर हेर्दा आलु पनि सडेको पायौँ ।” उनका अनुसार चामलमा किरा समेत लागेको देखियो । दुर्गन्धित चामल र सडेको आलु फेला परेपछि राहतलाई वडा कार्यालयमै छाडेर हिँडेको उनले बताए।
राहत लिन गएका श्यामसहित वीरेन्द्र पासवान, श्याम सढोकसहित एक दर्जन व्यक्तिले राहत त्यहीँ छाडेर गएका छन् । बाँकीले गाई, भैँसीलाई नै खुवाउने भन्दै राहत लिएर गएको उनीहरूले बताएका छन् ।
बुधबार कमला नगरपालिका वडा नम्बर-५ ले लक्कड टोलका तीन सय परिवारलाई राहत वितरण गरेको छ । राहत वितरण गरिएकामध्ये झण्डै चार दर्जन व्यक्तिले सडेको खाद्यान्न पाएका छन् ।
वडा अध्यक्ष शिवा पासवानले यो राहत वडा कार्यालयले खरिद नगरेको बताए । उनले नगरपालिका कार्यालयबाट आएको राहत आफूले वितरण गरेको बताए । ‘केही चामलमा मंगलबार भएको वर्षाको पानी पसेको थियो, अरु सबै ठिकै छ,’ वडा अध्यक्ष पासवानले भने, ‘नगरपालिकाले जे पठाइदियो त्यही वितरण गरेका हौँ ।’
प्रतिक्रिया 4