
१० असार हेटौंडा । मकवानपुरको ९ वटै स्थानीय तहले बुधबार नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् । बजेटमा धेरैजसो स्थानीय तहले कृषि र स्वास्थ्य क्षेत्रमा बढी बजेट केन्द्रित गरेका छन् ।
हेटौंडाको २ अर्ब ८ करोड
हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ को लागि २ अर्ब ८ करोड ६६ लाख ३३ हजार रुपैयाँको बजेट ल्याएको छ ।
बजेटको स्रोतमा आन्तरिक स्रोतबाट २० करोड १४ लाख ७९ हजार रुपैयाँ, राजश्व बाँडफाँटबाट ५५ करोड ३ लाख ४४ हजार, प्रदेश सरकारको विभिन्न अनुदानबाट ८ करोड ३५ लाख ९८ हजार र संघीय सरकारको अनुदान ९८ करोड ९९ लाख तथा चालु आर्थिक वर्षको बजेटबाट बचत २६ करोड १३ लाख ११ हजार रुपैयाँ रहेको छ ।
थाहा नगरको ८० करोड
जिल्लाको उत्तरी क्षेत्रको थाहा नगरपालिकाले ८० करोड ५६ लाख ३३ हजारको बजेट सार्वजनिक गरेको छ । मेयर लवशेर विष्टका अनुसार बजेटमा कृषि उत्पादन तथा पशुपालन, पर्यटन प्रवर्द्धन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जनालाई महत्व दिइएको छ ।
थाहानगरमा संघीय सरकारको प्रधानमन्त्री कृषि जोन परियोजना पनि कार्यान्वयनमा रहेको छ ।
बकैयाको ६५ करोड
बकैया गाउँपालिकाले ६५ करोड १९ लाख ६९ हजार २३० रुपैयाँको अनुमानित बजेट पेश गरेको छ । आगामी आर्थिक वर्षका लागि नेपाल सरकारबाट ५० करोड १० लाख २२ हजार २३० रुपैयाँ र बागमती प्रदेश सरकारबाट ८ करोड २६ लाख ८७ हजार रुपैयाँ प्राप्त भएको जानकारी दिइएको छ ।
त्यस्तै आन्तरिक आयस्रोत ६ करोड ८२ लाख ६० हजार हुने अनुमानसहित कूल ६५ करोड १९ लाख ६९ हजार २३० रुपैयाँको बजेट पेश गरिएको उपाध्यक्ष सरला बोलखेले जानकारी दिइन् ।
राक्सिराङको ५९ करोड
पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिकाले ५१ करोड १५ लाख २० हजार रुपैयाँको बजेट ल्याएको छ ।
उपाध्यक्ष निर्मला हिमडुङले आन्तरिक आम्दानी ३ करोड ३२ लाख, चालु आर्थिक वर्षको बचत ३ करोड, नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त हुने अनुदानसमेत समेटेर बजेट सार्वजनिक गरेकी हुन् ।
चालु खर्चतर्फ २९ करोड ९२ लाख र पुजीँगत खर्चतर्फ २१ करोड ३८ लाख खर्च हुने अनुमान गरेको छ ।
इन्द्रसरोवरको ५० करोड
इन्द्र सरोवर गाउँपालिकाले ५० करोड रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले कृषि र पर्यटनलाई रोजगारसंग जोडेर नीति कार्यक्रम ल्याएको छ । कृषि क्षेत्रमा विभिन्न रोजगारमुखी कार्यक्रम निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष जीवन लामाले जानकारी दिए ।
विभिन्न पकेट क्षेत्र निर्धारण गरेर कृषि उत्पादन बृद्धि गर्ने र वैदेशिक रोजगारीबाट फर्केकाहरुलाई स्वरोजगार बनाउने खालको बजेट निर्माण गरिएको अध्यक्ष लामाले बताए ।
अर्को गाउँसभाको बैठकबाट बजेट पारित हुने गाउँपालिकाले जनाएको छ ।
मनहरीको ७६ करोड
मनहरी गाउँपालिकाले ७६ करोड १६ लाख ३५ हजार ४ सय २० रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ ।
नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानिकरण अनुदान १२ करोड ५५ लाख, बागमती प्रदेश सरकार वित्तीय समानीकरण अनुदान १ करोड ३८ लाख ४ हजार, नेपाल सरकार सशर्त अनुदान १८ करोड ४४ लाख, बागमती प्रदेश सशर्त अनुदान २ करोड ५४ लाख ५५ हजार प्राप्त हुने उपाध्यक्ष मनिला विष्टले बताइन् ।
राजश्व बाँडफाँटबाट १५ करोड ६३ लाख ९६ हजार ४ सय २० प्राप्त हुने गाउँपालिकाले अनुमान गरेको छ ।
मकवानपुर गढीको ५९ करोड
मकवानपुरगढी गाउँपालिकाले ५९ करोड ७५ लाख ७ हजारको अनुमानित बजेट पेश गरेको छ । आयतर्फ संघीय सरकार र प्रदेश सरकार वित्तीय समानीकरण अनुदान १० करोड ९० लाख ५८ हजार, राजस्व बाँडफाँटबाट १६ करोड ११ लाख ५९ हजार प्राप्त हुने अनुमान गरिएको छ ।
त्यस्तै आन्तरिक आय २ करोड ९१ लाख ३० हजार प्राप्त हुने अनुमान, त्यसैगरि संघीय र प्रदेश सरकार सशर्त अनुदान २२ करोड ५ लाख ६० हजार, समपूरक अनुदान ५ करोड, विशेष अनुदान २ करोड ७६ लाख प्राप्त हुने अनुमान गाउँपालिकाले गरेको छ ।
बजेटमा पुँजीगततर्फ ३२ करोड ६९ लाख ४७ हजार अर्थात ५४ दशमलव ७१ प्रतिशत र चालुतर्फ २७ करोड ५ लाख ६० हजार अर्थात ४५ दशमवल २९ प्रतिशत विनियोजन गरिएको छ ।
भीमफेदीको ५६ करोड
भीमफेदी गाउँपालिकाले ५६ करोड ८७ लाखको अनुमानित बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाकी उपाध्यक्ष पार्वती रानाले प्रस्तुत गरेका उक्त बजेटमा ‘महामारीले सबै युवा गाउँघर, बाँझो जमिन बनाऔँ उर्बर’ भन्ने मूल नाराका साथ आगामी आवको लागि नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ ।
गाउँपालिकाले आगामी आवमा रोजगारी सिर्जना, कृषि, पशुपालन, स्वास्थ्य र भौतिक पूर्वाधारलाई विशेष प्राथमिकता दिएको छ ।
आगामी बजेटमा पूर्वाधार विकासको लागि १६ करोड, सुशासनतर्फ ६७ करोड, आर्थिक विकासतर्फ ४ करोड ६६ लाख, सामाजिक विकासमा ५ करोड, वन तथा वातावरणमा १ करोड ६४ लाख रुपैयाँ विनियोजन गरेको गाउँपालिका अध्यक्ष हिदम लामाले बताए ।
कैलाशमा ४३ करोड
कैलाश गाउँपालिकाले ४३ करोड ७२ लाख ५९ हजार ७ सय ४० रुपैयाँको बजेट ल्याएको अध्यक्ष टंक मोक्तानले जानकारी दिए ।
बाग्मतीको आएन बजेट
बाग्मती गाउँपालिकाले बुधबार नीति तथा कार्यक्रम र बजेट ल्याउन सकेन । गाउँपालिकाका नेपाली कांग्रेसका जनप्रतिनिधिहरुले सहभागिता नजनाउने भएपछि गाउँपालिकाले गाउँ सभा राख्न नसकेको हो । गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नेकपाका हुन् ।
प्रतिक्रिया 4