Comments Add Comment

सांसदको लोगो फेरि बनाउँदा कसले खर्च ब्यहोर्ने ?

४ भदौ, काठमाडौं । संघीय संसदका सांसदहरुले लगाउने लोगो अस्वीकार भएपछि पुनः बनाउँदा लाग्ने खर्च कसले ब्यहोर्ने भन्ने विवाद देखिएको छ ।

लोगोमा राखिएको नक्सा नमिलेको र भद्दा देखिएको भन्दै सार्वजनिक रुपमा आलोचना भएपछि संसद सचिवालयले निर्माणकर्ता घरेलु तथा साना उद्योग कार्यालय ललितपुरलाई फिर्ता पठाएको छ ।

संघीय संसदका पदाधिकारी र सदस्यले लगाउने ३५० लोगो बनाउँदा २० लाख रुपैयाँ खर्च भएको छ ।

उक्त लोगोमा २ लाल सुनको जलपमा १ तोला चाँदीको लेप लगाइएको थियो । पित्तलको नक्सामा चाँदीको बेस थियो । लोगोको पुछारमा रहेको दुई हातमा चाहिँ तामा प्रयोग गरिएको थियो ।

घरेलु तथा साना उद्योग कार्यालय ललितपुरका अधिकृत गणेश राउतले पुनः लोगो बनाउँदा पहिले प्रयोग भएको सुन, तामा र पित्तल पुनः प्रयोग गर्न नमिल्ने बताए । चाँदी भने त्यसकै प्रयोग गर्न सकिन्छ ।

‘नयाँ बनाउँदा तताउनुपर्छ । तताउँदा प्लास्टिक कोटेड (टल्किने) पग्लिन्छ । सुन जलप हो खेर गइहाल्छ, तामा तातोले कालो हुन्छ’ उनले भने ।

सुनको भाउ पहिले भन्दा महंगो भएकाले अब पहिलेजति लोगो बनाउँदा पनि धेरैखर्च लाग्ने बताए । ३५० थान लोगोका लागि अब ७ लाख रुपैयाँको सुन चाहिने अनुमान गरिएको छ । त्यसैगरी तामा र पित्तलसमेतको खर्च जोड्दा १० लाख रुपयाँ खर्च लाग्ने राउत बताउँछन् ।

यो पनि पढ्नुहोस सांसदको लोगोमा २० लाख खर्च, माननीय भन्छन्- म त लाउँदिनँ !

अबको खर्च कसको ?

संसद सचिवालयले भने अब लोगो बनाउँदाको खर्च घरेलु तथा साना उद्योग कार्यालयले बेहोर्ने बताएको छ । ‘सचिवालयले यस (पुनः लोगो बनाउने) सम्बन्धमा थप खर्च गर्दैन’ संसद सचिवालयका सूचना अधिकारी दशरथ धमलाले भने ।

तर घरेलु तथा साना उद्योग कार्यालय ललितपुरका अधिकृत राउत आफूहरु थप सुन्न किन्ने भार बोक्न नसक्ने बताउँछन् ।

‘लोगो बिग्रेको भनिएपछि दोष कलाकारकै देखाइन्छ । त्यसकारण पुनः बनाउँदा हामी ज्याला लिन्नौं तर, सुनको बिल बनाएर पठाउँछौं’ राउतले भने ।

घरेलु कार्यालयले संसद सचिवालयसँग एउटा लोगो बनाएको ज्याला २५ सय रुपैयाँ लिएको थियो । २५ सयका दरले ३५० थान लोगोको ८ लाख ७५ हजार रुपैयाँ भने छुट गर्न सकिने राउत बताउँछन्।

३ पटक हेर्दा ठीक, विरोध भएपछि बेठीक ?

नयाँ लोगो फिर्ता भएकामा घरेलु उद्योग कार्यालयका अधिकृत राउत खिन्न छन् । ‘दुई पटक नमुना लोगो र एक पटक पुरै हेरेर वितरण सुरु गरिसक्दासम्म ठीक, बाहिर विरोध भएपछि बेठीक ?’ उनले प्रश्न गरे ।

संसद सचिवालयले नमुना ठीक छन् भनेर छिटो तयार गर्न पटक पटक आग्रह गरेको भन्दै राउन भन्छन्, ‘साह्रै दुखः लाग्यो । खिन्न भइयो, अहिलेसम्म यस्तो कम्प्लेन आएको थिएन ।’

अधिकृत राउत अगाडि थप्छन्, ‘मैले अन्तिममा पनि सबै नलैजानुस् । आधा जति गरौं भन्दा होइन लोगो ठीक छ सबै ल्याउनुस् भन्नुभयो । लगेर पनि हेर्नुभयो होला र वितरण सुरु गर्नुभयो । ९४ वटा वितरण गरिसक्नुभएछ । अरु वितरण हुँदै थिए होला, बाहिर विरोध भएपछि उल्टै हामीलाई नै दोष देखाएर यस्तो उस्तो भनेर भनेर हप्की/दप्की गरे ।’

बाहिरबाट हेर्दा दोष कलाकारको जस्तो देखिएपनि हेर्नेले हेर्नुपर्ने र कलाकारलाई समय लिएर काम गर्न दिनुपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment