 
																			२९ असोज, रौतहट । सरकारले शिक्षाको पहुँच सबैमा पुगोस भन्ने उदेश्यका साथ सामुदायिक विद्यालयमा माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क गरेको छ ।
अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी नियमावली २०७७ मा समेत सामुदायिक विद्यालयले माध्यमिक तहसम्मको शिक्षामा कुनै पनि बहनामा शुल्क लिन मनाही छ । तर रौतहटको गौरमा रहेको देशकै जेठोमध्येको एक जुद्ध उच्च माध्यमिक विद्यालयमा भने विद्यार्थीहरुबाट गैरकानुनी तरिकाले शुल्क उठाउने गरिएको छ ।
विद्यालयले नेपाली माध्यममा पढ्ने विद्यार्थीहरुलाई निःशुल्क अध्यापन गराएका छ तर अंग्रेजी माध्यममा पढ्ने विद्यार्थीहरुले बोर्डिङ्ग स्कुलमा जस्तै मासिक शुल्क, भर्ना शुल्क, परीक्षा शुल्क र पाठयपुस्तकको समेत शुल्क तिर्नु परेको विद्यार्थी तथा अभिभावकले बताएका छन् ।
एउटै विद्यालयमा दुई थरिको शिक्षाले सार्वजनिक विद्यालयभित्र पनि धनी र गरीबको वर्गीकरण भएको स्थानीयको भनाइ छ ।
एउटै भवनभित्र दुई किसिमको पठनपाठन र शिक्षा नियमावलीको खिल्ली उडाउँदै मासिक शुल्कसहितको विद्यालय संचालन हुँदासमेत सम्बन्धित निकायले बेवास्था गरेको स्थानीयवासीको आरोप छ ।
विद्यालयले नयाँ भर्ना हुन गएका विद्यार्थीहरुबाट यस शैक्षिक सत्रमा नामांकनको तीन सय, मासिक शुल्क सात सय, परिचय पत्र कार्डको १२० र परीक्षा शुल्क एक सय रुपैयाँका दरले रकम उठाएको छ ।
कक्षा ९ मा नयाँ भर्ना भएका विद्यार्थीबाट एकमुष्ठ २ हजार ७२० रुपैयाँ लिएको विद्यालयले कक्षा अनुसार शुल्क निर्धारण गरेको छ ।
 विद्यार्थी संगठनको विरोध
विद्यार्थी संगठनको विरोध
समुदयमा रहेका सार्वजनिक विद्यालयहरुले शिक्षा नियमावलीको विरुद्ध विद्यार्थीबाट शुल्क उठाउन थालेपछि विभिन्न विद्यार्थी सँगठनहरुले सो कार्यको विरोध गरेका छन् ।
‘जुद्ध उच्च माध्यमिक विद्यालयले अंग्रेजी माध्यमको बहानामा सरकारी विद्यालयभित्रै अर्को एक विद्यालय खडा गरेर विद्यार्थीबाट शुल्क उठाएको भेट्टएिको छ,’ अनेरास्वयूका केन्द्रीय सदस्य रवि मिश्रले भने, ‘यसरी नियम विपरीत शुल्क उठाउँदासमेत सम्बन्धित निकाय मौन भएर बसेको छ । सरकारले भनेको अनिवार्य निःशुल्क शिक्षाको जुद्ध विद्यालयले खिल्ली उडाएको छ ।’
विद्यार्थी संगठनहरुले यस सम्बन्धमा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई ध्यानाकर्षण पत्रसमेत बुझाएका छन् ।
शिक्षकलाई तलब खुवाउन शुल्क : प्राधानाध्यापक
विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी नहुदा आफूहरु समस्यामा परेको जुद्ध उच्च माध्यमिक विद्यालयका प्राधानाध्यापक चन्देश्वर राउतले बताए ।
विद्यार्थी सँख्या अत्यधिक भएको र शिक्षक दरबन्दी कम भएपछि विद्यालयले आˆनै श्रोतमा अंगे्रजी माध्यमको कक्षा संचालन गरेको र सोही अनुरुप ३०० देखि ७०० सम्म शुल्क तोकिएको प्रधानाध्यापक राउतले बताए ।
अंग्रेजी माध्यममा पठापाठन गराउने शिक्षकहरुको तलबसमेत न्यून रहेको उनले बताए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4