+
+

निर्माणको मुख्य सिजनमा महँगियो निर्माण सामग्री

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २१ गते १६:२४

२१ मंसिर, काठमाडौं । बजारमा निर्माण सामग्रीको मूल्य ह्वात्तै बढेको छ । नेपाल निर्माण व्यवसायी महासंघका अनुसार डण्डी र ढुंगा, गिट्टी, बालुवाको मूल्यमा उच्च रुपमा वृद्धि भएको छ । सिमेन्टको भने मूल्य बढेको छैन ।

हालको निर्माण सामग्रीको मूल्यमा २ महिनाअघिको मूल्य तुलना गर्दा निर्माण क्षेत्र महंगीको चक्रब्युहमा पर्ने अवस्था देखिन थालेको महासंघका अध्यक्ष रबि सिंहले बताए । उनका अनुसार छडको मूल्य दुई महिनामा बीचमा प्रतिकिलो १५ देखि २० रुपैयाँसम्म बढेको छ ।

दुई महिना अघि ५७ देखि ६३ रुपैयाँ प्रतिकिलोमा पाइने छड तथा जस्तापाता लगायतका स्टिल अहिले ७५ रुपैयाँदेखि ८० प्रतिकिलो पर्न थालेको छ । त्यसैगरी २२ देखि २५ हजार रुपैयाँ प्रतिटि्रपमा पाइने गिट्टी बालुवा अहिले ३५ देखि रुपैयाँसम्म पर्न थालेको छ ।

महासंघका अनुसार जीआई वायर प्रतिकिलो ८५ देखि ९० रुपैयाँबाट ११० रुपैयाँ पुगको छ । बुनिएको तार जाली प्रतिमिटर १८५ बाट २२० रुपैयाँ पुगेको छ ।

स्टिल उद्योगीहरुले विदेशबाट आयात हुने एमएस बिलेटको मूल्य बढेकाले मूल्य बढेको तर्क गरेका छन् । यस्तै सरकारले कात्तिक २८ गतेदेखि अवैध क्रसर उद्योग बन्द गरेकाले ढुंगा, गिट्टी, बालुवाको मूल्य बढेको तर्क उद्योगीले गरेका छन् ।

कोभिड १९ को महामारीबीच निर्माणको काम सुरु हुने समयको गलत फाइदा उठाउँदै निर्माण सामग्रीहरुमा एकतर्फी रुपमा कार्टेलिङ गरी अत्याधिक रुपले मूल्यवृद्धि गरिएकोतर्फ आफ्नो गम्भीर ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ ।

‘फलामजन्य निर्माण सामग्री उत्पादक कम्पनीहरुले अन्तर्राष्ट्रिय मुद्रा डलरको दरमा र फलाम बिलेटको मूल्य थोरै मात्रामा बढेको अवस्थामा पनि अनुपात भन्दा अत्याधिक रुपले मूल्यवृद्धि गरी मिलोमतो गरेको देखिएको छ,’ अध्यक्ष सिहंले भने । अहिलेको मूल्यवृद्धि कुनैपनि दृष्टिकोणबाट व्यवहारिक तथा वैज्ञानिक नदेखिएको महासंघले जनाएको छ ।

त्यसैगरी देशको कुनैपनि स्थानबाट नदीजन्य सामग्रीको उत्खनन र बिक्री वितरण गर्न नपाइने गृह मन्त्रालयको हालैको निर्णयप्रति पनि महासंघले असन्तुष्टि जनाएको छ । गृहको निर्णय बमोजिम निर्माणाधीन परियोजनाहरुमा ढुंगा, गिट्टी, बालुवाको चरम अभाव भई परियोजना नै ठप्प हुन सक्ने अवस्था देखिएको प्रति महासंघले सरोकारवाला सबै निकायको ध्यानाकर्षण गराएको छ ।

कोभिड १९ का कारण सिर्जित चौतर्फी समस्याले गर्दा एकातिर काम गर्न समस्या भइरहेको समयमा मूल्यवृद्धि गरी कालोबजारी हुँदा विशेषगरी साना निर्माण व्यवसायीहरु बाह्रमहिना भन्दा कम अवधि भएका निर्माण आयोजनाहरुको मुल्य समायोजन नहुँदा थप समस्यामा परेको महासंघले जनाएको छ ।

व्यवसायी मैत्री ऐन कानुनको अभावमा एकपछि अर्को गरी विविध समस्या झेलिरहेका निर्माण व्यवसायीहरु बेला बखत सिर्जना भइरहने समस्याका कारण प्रताडित भइरहेको महासंघका अध्यक्ष सिंहले बताए ।

अन्य विविध कारणले निर्माण परियोजनाहरु समयमै नसकिँदा अरु पक्ष नै जिम्मेवार हुँदाहुँदै एकोहोरो रुपमा व्यवसायीहरुमाथि मात्र दोषारोपण गर्ने प्रवृत्ति लामो समयदेखि देखिँदै आएको महासंघको भनाइ छ ।

विषम परिस्थितिकाबीच निर्माणको काम गर्ने सिजनको मौका छोपी एकातिर निर्माण कार्यको लागत बढाउने र अर्कोतिर यसको फाइदा उठाउँदै मूल्यमा गरिएको कालोबजारीलाई तत्काल रोक्न महासंघले आग्रह गरेको छ ।

नेपाल सरकारबाट प्रभावकारी रुपले अनुगमन गरी मूल्यबृद्धि नियन्त्रणका लागि ठोस तथा सार्थक पहल गरिदिन सरोकारवला सबै निकाय समक्ष महासंघले माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?