+
+

प्रधानमन्त्रीको आग्रह : छिमेकमा कोरोनाको संक्रमण बढ्दैछ, सावधानी अपनाऔं

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २६ गते १६:०८

२६ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ संक्रमण जोखिम बढेको भन्दै सावधानी अपनाउन आग्रह गरेका छन् । नेपाल चेम्बर अफ कमर्सको ७०औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पछिल्लो समय भारतमा कोभिड संक्रमण दर बढ्दै गएको र खुला सिमानाका कारण नेपालमा पनि जोखिम बढेकोले सेचत बन्न आग्रह गरे।

उनले अहिले नै सतर्कता नअपनाए जनजीवन ठप्प पार्नुपर्ने स्थिति आउन सक्ने भएकाले सबैले सचेत भई सावधानीका उपायहरु अपनाउनुपर्ने बताए । भौतिक दूरी कायम गर्ने, मास्क लगाउने र हातमुख धुने लगायतका काम गर्दा कोभिड संक्रमणबाट जोगिन सकिने बताए ।

उनले भने, ‘कोभिड-१९ को सन्दर्भमा म भन्न चाहन्छु । यदि हामी सावधान भएनौं भने हाम्रो जनजीवनलाई ठप्प पनि नगरौं तर बाध्य भएरै ठप्प पार्न पर्ने स्थिति आउन सक्छ । अहिलेदेखि नै हामी सावधान हुनुपर्छ , दूरी कायम गर्ने, मास्क लगाउने। किञ्चित हामी काभिड–१९ लाई अवसर नदिऔं । मैले भन्ने गरेको छु, यहाँबाट फर्किएपछि हामी सबैले हातमुख राम्रोसँग धोऔं।’

प्रधानमन्त्री ओलीले तातो पानीको बाफ लिने, नुनपानीले कुल्ला गर्ने बानि बसाल्दा कोभिड संक्रमणबाट जोगिन सकिने पनि बताए। कोभिड–१९ विरुद्धको खोपले पनि सत प्रतिशत काम नगर्ने भएकाले सावधानी अपनाउनु नै सबै भन्दा सुरक्षित विधि रहेको बताए ।

उनले भने, ‘अलि तातोतातो पानी लिदै नस लिदै नाक स्याक-स्याक गरेर सफा गरिदिऔं। पहिले गएर नाकमा बस्ने हो कोरोना त्यहिंबाट फालिदिएपछि चैट । नुन पानीले गालगुल गरिदियो, सकिन्छ भने अम्बाका दुईवटा पात उमाल्दिउँ। बेसरी गालगुल गरिदिउँ। घाँटीमा बसेको चट, स्टिम लिइदिउँ फोक्सोबाट चट, त्यति गर्दा धेरै सुरक्षित भइन्छ ।’

आफूले कोभिडको बारेमा कुरा गर्दा कतिपयले आफ्नो कुरा गर्नु भन्दै सुझाव दिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले कोभिड नियन्त्रण गर्न नसक्दा प्रधानमन्त्रीको आलोचना हुने भएकाले आफूले पनि कोभिड धपाउनका लागि कुरा गरेको बताए ।

उनले भने, ‘कतिपयले भन्छन् मलाई, भनी आएका छन्। आफ्नो कुरा गर्नु नि भनेर । आफ्नो कुरा गर्ने भनेको मान्छेले के बुझेका छन भने मैले राजनीतिक कुरा गर्नुपर्छ । अनि तपाईहरुसँग आएर मैले राजनीतिको के भन्ने सङ्गठनात्मक कुरा बताउने की, राजनीतिका दाउपेचका छन् नि, हामी यहाँ छौं वाला कुरा बताउने की ? के बताउने, तपाईहरुलाई लड्डु खान सिकाउने की ? राजनीति , के चाहिं गर्ने ? तपाईहरुसँग त बिजनेसका कुरा गर्नु परेन ? व्यापारका कुरा गर्नु परेन ? उद्योग व्यवसायका कुरा गर्नु परेन?  त्यही कुरा गर्नुपर्छ ।’

फरक प्रसङ्गमा प्रधानमन्त्री ओलीले उद्योग व्यवासयलाई सरकारले दिने सेवामा एकद्धार प्रणाली लागू गरिएको बताए। यस्तै कर्मचारी तन्त्रमा हुने प्रक्रियागत झन्झटलाई पनि समाधान गर्दै सरलिकृत बनाउँदै लग्ने प्रतिवद्धता पनि व्यक्त गरे। उनले भने, ‘ब्युरोक्र्याटिक हडल्स, यो प्रक्रियाको जन्जालभित्र पर्ने कुरा हो यो ब्युरोक्रयाटिक हडल्स। यसलाई पनि सरलिकृत गर्ने। यसमा हामीले अलिकति प्रणालीकै बारेमा, अलिकति प्रक्रियाकै बारेमा पुनरविचार गर्न जरुरी छ। व्यक्तिलाई मात्रै दोश लगाएर हुने स्थिति छैन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?