+
+

प्रधानमन्त्रीको दाबी : सरकार परिवर्तन गर्न खोज्नेहरु विकास विरोधी

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २८ गते २०:१९

२८ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास विरोधी र अस्थिरता निम्त्याउन खोज्नेहरु सरकार परिवर्तनको खेलमा लागेको आरोप लगाएका छन् ।

शनिबार नेपाल उद्योग वाणिज्य महासंघको ५५औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले उल्लेख्य काम गरिरहेको बताए । अहिले सरकार परिवर्तन गर्न खोजिएको भन्दै उनले भने, ‘सरकार किन परिवर्तन गर्नुपर्‍यो ? पुनर्निर्माणका काम अघि बढिरहेकाले हो ? कि अरु केही कारण छन् ?’

एक हप्तामा ८ औद्योगिक क्षेत्र तथा एकैदिन ३०९ वटा अस्पताल, १६५ सडक शिलान्यास गरेको भन्दै प्रधानमन्त्री ओलीले मुलुकमा अस्थिरता ल्याउन खोज्नेहरुले संसदीय अंकगणितलाई व्यक्तिगत स्वार्थमा दुरुपयोग गर्न खोजेको बताए ।

तर राजनीतिमा देखिएका शकुनिहरुलाई आफूले ठेगान लगाउने उनले बताए । ‘अस्थिरताका लागि संसदको अंकगणित दुरुपयोग गर्न खोज्ने प्रयासहरु सकारात्मक होइनन् । देश हितमा छैनन् । विकासको पक्षमा छैनन्’ उनले भने, ‘यस्ता कुराहरुलाई मै ठेगान लगाइहाल्छु । तपाईंहरु आफ्नो काममा लाग्नुहोस् ।’

सरकार जान्छ कि भन्ने पीर नभएको भन्दै उनले १८/२० महिनापछि चुनावबाट आउने बताए । उनले भने, ‘त्यसपछि अंकगणितलाई वरपर पार्न खोज्ने खालका शकुनिका गोटी पनि फ्याँकिने छन् । गोटी नै फ्याँकिदिएपछि शकुनिले के लडाउँछ ?’

प्रधानमन्त्री ओलीले उद्योग व्यवसाय विस्तार र विकासमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताए । ‘सरकारले गर्नुपर्ने के हो ? पिनप्वाइन्ट चाहिन्छ’ उनले भने, ‘उद्योग स्थापना, सञ्चालन, कच्चा पदार्थ आयात, निर्यातमा विलम्ब भएको छ वा व्युरोक्र्याटिक हडल्सहरु छन् भने लेखेर दिनुस् ।’

प्रधानमन्त्री ओलीले वैदेशिक लगानीका लागि सरकारले तोकेको सीमा सही र यथार्थपरक रहेको दाबी गरे ।

‘भुटानले दिनको यति डलर खर्च नगर्ने पर्यटकलाई पस्न दिन्न भन्छ, दिंदैन पनि । माल्दिभ्सले सबै कुरा यही पाइन्छ, पैसा भरेको एउटा कार्ड मात्र बोकेर आऊ भन्छ’ भुटान र माल्दिभ्सको उदाहरण दिंदै उनले भने, ‘५ लाख डलर पनि इन्भेष्ट नगर्नेले के गर्छ ? दारी काट्ने ? ५० हजार लिएर आउने प्लेन भाडा पनि कमाएर लिएर जाने हो भने यसले देशलाई योगदान गर्छ र ?

उनले अघि भने, ‘पीठो बोकेको हुन्छ, खुर्सानी पनि बोकेको हुन्छ । स्टोभ पनि बोकेको हुन्छ । मट्टीतेलको ग्यालन पनि बोकेको हुन्छ । पशुपतिको दर्शन गर्छ । अलिकति हाम्रो खर्च बढाउँछ, जान्छ । हामीले खोजेको टुरिजम यो हो र ? यो त धर्मकर्म गर्ने र पुण्य कमाउने मान्छेको कुरा हो । खर्च गर्ने मान्छेको कुरा होइन । हामीले टुरिस्ट खोजेको हो, इन्भेष्टर खोजेको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?