६ वैशाख, ललिपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले पाटन माध्यमिक विद्यालयको पुनर्निर्मित भवनको उद्घाटन गरेका छन् । २०७२ साल वैशाखमा गएको भूकम्पले क्षतिग्रस्त नेपालकै दोस्रो पुरानो विद्यालय पाटन माध्यमिक विद्यालयको पुनर्निर्मित भवनको प्रधानमन्त्री ओलीले सोमबार उद्घाटन गरेका हुन् ।
९७ वर्षअघि निर्मित पाटन माध्यमिक विद्यालयको मुख्य भवनको रेट्रोफिटिङ गरिएको छ भने अन्य भवन नयाँ संरचना अनुसार निर्माण गरिएको छ । विद्यालय भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘शिक्षाले समृद्ध नेपाल, सुखी नेपालीको परिकल्पना पूरा गर्न महत्वपूर्ण भूमिका खेल्ने भएकाले ऐतिहासिक पाटन माध्यमिक विद्यालयको पुनर्निर्माण हुनु गौरवको कुरा हो ।’
पाटन माध्यामिक विद्यालय वि.सं. १०८१ मा सर्वसाधारणका लागि चन्द्र शमशेरले स्थापना गरेका थिए । प्रधानमन्त्री ओलीले चन्द्र शमशेरले गरेका कामहरुको चर्चा गर्दै जनताको पक्षमा राम्रा काम गर्नेहरुलाई सम्झनुपर्ने बताए ।

जाइकाकी प्रमुख आसाकुमा युनिकाले जापान सरकार र नेपाल सरकारको सहयोगमा ऐतिहासिक भवनको पुनर्निर्माण गर्न पाउँदा खुसी लागेको बताइन् ।
भवनको पुनर्निर्माण जापानी सहयोग नियोग (जाइका)को ओडीए (अफिसियल डेभलभमेन्ट एसिस्टेन्स) ऋण सहयोगबाट भएको हो ।
विद्यालयको तीन वटा भवनमा २७ वटा कोठा छन् । विद्यालय आधुनिक प्रविधियुक्त र अपांगमैत्री रहेको छ ।

‘कक्षा ८ र १२ को परीक्षा पूर्वनिर्धारित समयमा नै हुन्छ‘
शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले कक्षा ८ र १२ को परीक्षा पूर्वनिर्धारित समयमा नै हुने बताएका छन् ।
पाटन माध्यामिक विद्यालयको पुनर्निर्मित भवनको उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री श्रेष्ठले विद्यालय बन्द भएपनि पठनपाठन बन्द नभएकाले पूर्वनिर्धारित समयमा परीक्षा सम्पन्न गरिने बताए । उनले भने, ‘विद्यालय बन्द भएको हो । पढाइ बन्द भएको होइन । त्यसले गर्दा सबैको परीक्षा पूर्वनिर्धारित समय अनुसार हुन्छ ।’
तस्वीर : शंकर गिरी/अनलाइनखबर
 
 
 
 
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4