+
+

कोभिडका बीच संसदीय समितिले अनुगमन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १२ गते १९:४३

१२ वैशाख, काठमाडौँ । मुलुकमा कोभिड–१९ सङ्क्रमण फैलिरहेका बेला जनताको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा संसदीय समितिले अनुगमन गर्ने भएको छ ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकले कोभिड–१९ नियन्त्रण कार्यक्रमको प्रभावकारीतासँगै सुशासन र अन्य जनजीवनमा प्रभाव पार्ने विषयमा अनुगमन हुने समिति सभापति शशी श्रेष्ठले जानकारी दिए।

‘अहिलेको जटिल परिस्थितिमा हामी पन्छिन मिल्दैन, आवश्यक मापदण्ड अपनाएर जनतालाई अभिभावक छ भन्ने अनुभूति गराउनुपर्छ’, बैठकको निष्कर्षबारे बताउँदै श्रेष्ठले थपे, ‘कोभिडका बेलामा कृत्रिम अभाव सिर्जना गर्ने, मिति सकिएका सामग्री बिक्री गर्ने, कालाबजारी गर्ने महङ्गी बढाउने लगायतका विषयमा अनुगमन गर्छौं ।’

यसपटक मुख्यगरी काठमाडौँ उपत्यका र आसपासका क्षेत्रबाट अनुगमन शुरु हुने उनले जानकारी दिए। त्यसपछि आवश्यकतानुसार अनुगमन हुने जनाइएको छ । अनुगमनमा सीमित जनप्रतिनिधि सहभागी हुने र स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाइने छ । उनले यस्ता विषयमा जनप्रतिनिधि, सरकार तथा सरकारी निकाय जस्तो सुकै अवस्थामा पनि दायाँबायाँ लाग्न नसक्नेसमेत बताए ।

समितिको आजको बैठकमा निर्वाचन आयोग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदनमाथि अध्ययन गर्न गठित उपसमितिले तयार पारेको प्रतिवेदन बुझाइएको छ । उक्त प्रतिवेदनमाथि छलफल गरी सुझाव पेश गर्न समितिका सदस्यलाई एक हप्ताको समय तोकिएको छ ।

कोभिड–१९ सङ्क्रमण रोकथामका विषयमा यसअघिका चारवटा बैठकले विभिन्‍न निर्णय गर्दै सरकारलाई निर्देशन दिइसकेको र त्यसको कार्यान्वनयको अवस्थाबारे अनुगमन गरी यथार्थ जानकारी लिन समितिका सदस्यले माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?