Comments Add Comment

तिलोत्तमाका मेयर-उपमेयरको गाडी संक्रमित बोक्न प्रयोग गरिने

२३ वैशाख, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयर र उपमेयर चढ्दै आएको गाडीलाई कोरोना संक्रमित बिरामी बोक्ने एम्बुलेन्सको रुपमा प्रयोग गरिने भएको छ ।

नगरभित्र कोरोना संक्रमितको संख्या बढदै जांदा संक्रमितलाई अस्पताल लैजान एम्बुलेन्सको अभाव भएकाले नगरप्रमुख बासुदेव घिमिरे र उपप्रमुख जागेश्वरीदेवी चौधरी चढ्दै आएको क्रमशः लु १ झ ३६० र लु १ झ ३२६ नम्बरको स्कारपियोलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न थालिएको हो ।

बिहीबार नगरपालिका कार्यालय परिसरमा पत्रकार सम्मेलन गर्दै प्रमुख घिमिरे र उपप्रमुख चौधरीले आफूले चढ्ने गाडीको चाबी कोरोना फोकल पर्सन केशव भट्टराईलाई हस्तान्तरण गरे । कोरोना संक्रमित नगरवासी एम्बुलेन्स नपाएर छ्टपटिँदा आफुहरु सुविधाको गाडीमा चढ्न अप्ठेरो लागेर एम्बुलेन्सको रूपमा प्रयोग गर्ने निर्णय गरिएको नगर प्रमुख र उपप्रमुखले बताए ।

संक्रमितलाई अन्य साना सवारीसाधनले अस्पताल वा आइसोलेशनमा पुर्‍याउन आनाकानी गर्ने र महंगो शुल्क असुल्ने गरेकाले कोरोना महामारी नहट्दासम्म आफ्ना गनडी एम्बुलेन्सकै रुपमा प्रयोग हुने र आफूहरु वैकल्पिक व्यवस्था गरी यात्रा गर्ने उनीहरुले बताए ।

दुबै गाडीमा पुरानै चालक हुने र २४ सै घण्टा संक्रमित बिरामीले फोन गरे तुरुन्तै घरमा पुग्ने नगर प्रमुख घिमिरेले बताए । अक्सिजन सिलिण्डर व्यवस्थापन गरेर आजदेखि नै एम्बुलेन्सको रुपमा प्रयोगमा ल्याइने उपप्रमुख चौधरीले बताइन् ।

‘कोरोना संक्रमित नागरिक एम्बुलेन्स नपाएर छट्पटिनु नपरोस् र हाम्रो निर्णय देशका अरु पालिकाले पनि अनुशरण गरुन् भनेर अगुवाइ गरेका हौं’–उपप्रमुख चौधरीले भनिन् ।

संक्रमितले दुवै गाडी निःशुल्क प्रयोग गर्न पाउने प्रवक्ता सुरेन्द्र श्रीले बताए । नगरपालिकाले वडा नम्बर १ शंकरनगर बनबाटिकामा रहेको स्वास्थ्य चौकीलाई अन्यत्र व्यवस्थापन गरेर अक्सिजन सहितको आइसोलेसन अस्पतालको रुपमा सञ्चालनमा ल्याइसकेको छ । तिलोत्तमा नगरपालिकामा २ वटा एम्बुलेन्स पनि सञ्‍चालनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment