
२३ वैशाख, काठमाडौं । उद्योगहरुमा मौज्दात रहेका अक्सिजन ग्यास सिलिण्डिहरु ग्यास उत्पादक वा नजिकको अक्सिजन उत्पादक प्लान्टमा उपलब्ध गराउन निजी क्षेत्रले आग्रह गरेको छ । उद्योगहरुमा पनि विभिन्न प्रयोजनका लागि अक्सिजन ग्यास प्रयोग हुने गरेको छ ।
अहिले कोरोना महामारीका कारण अक्सिजन सिलिण्डर अभाव हुन थालेपछि निजी क्षेत्रका तीन ठूला संगठनहरु नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले सिलिण्डर बुझाउन आग्रह गरेको हो ।
तिनै संगठनहरुले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै स्वास्थ्य बाहेकका अन्य प्रयोजनमा अक्सिजन ग्यास सिलिण्डर प्रयोग नगर्न समेत सबै उद्योगीहरुलाई आग्रह गरेका छन् ।
मुलुक कहिल्लै भोग्नु नपरेको महामारी र त्यसबाट सिर्जित स्वास्थ्य जटिलतासंगै सामाजिक एवम् आर्थिक समस्यासँग जुधिरहेको छ । कोभिड १९ को दोस्रो लहरसंगै संक्रमित र यसबाट मृत्यु हुनेको संख्या हरेक दिन नया रेकर्ड राख्दै बढिरहेको छ । अस्पतालहरु भरिदै गएका छन भने विशेषगरि संक्रमितको जीवन रक्षाका लागि आवश्यक अक्सिजन सिलिन्डरको चरम अभाव देखिएको छ ।
‘सम्पूर्ण ग्यास उत्पादक कम्पनीहरुलाई स्वास्थ्य उपचार प्रयोजनका लागि मात्र अक्सिजन सिलिन्डर उपलब्ध गराउन पनि अपील गर्छौं, यस परिस्थितिमा आम उपभोक्ताहरुलाई पनि आफ्नो जस्तै अरुको स्वास्थ्यको पनि ख्याल राख्दै आवश्यकताभन्दा बढी सिलिन्डिर सञ्चिति नगरि दिन हुन आग्रह गर्दछौं’ जारी विज्ञप्तिमा भनिएको छ ।
यसैगरी अन्य व्यवसायीहरुसँग यदि सिलिन्डर छन भने त्यसलाई पनि स्वास्थ्य उपचारका लागि प्रयोग गर्ने गरि सम्बन्धित निकायमा उपलब्ध गराइदिन आग्रह गरिएको छ । संगठनहरुले अत्यावश्यकीय खाद्य सामाग्रीको सञ्चिति र त्यसमा मुल्यवृद्धि भइरहेको भन्ने सर्वसाधारणको गुनासोप्रति पनि ध्यानाकर्षण भएको जनाएका छन् ।
‘माहामारीको बिषम परिस्थितिमा कुनै पनि प्रकारको सञ्चिति र मुल्य वृद्धि नगर्न हामी निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरु सम्वद्ध सबै व्यवसायीहरुमा अपील गर्दछौ’ विज्ञप्तिमा भनिएको छ, ‘अहिलेको अवस्थामा ठूला उद्योगी एवं वितरकहरुले पनि समग्र वितरण प्रणालीमा अनावश्यक मुल्यवृद्धि हुन नदिन आवश्यक अनुगमन गर्न पनि आव्हान गर्दछौ, साथै आम उपभोक्ता वर्गमा सामानको मौज्दात रहेको जानकारी गराउदै अनावश्यक संचिति नगरिदिन हुन पनि अनुरोध गर्दछौ ।’
यसैगरि केहि निजी अस्पतालहरुले बिषम परिस्थितिमा चर्को शुल्क लिइ उपचार गरिरहेको भन्ने विषयमा पनि निजी क्षेत्रले मुख खोलेको छ । बिरामीहरुको जीवनरक्षा मुख्य उद्देश्य राखेर खुलेका अस्पतालहरु मुलुक संकटमा रहेको र स्वास्थ्य सेवा जटिल वन्दै गएको यस समयमा अनावश्यक नाफा आर्जन गर्ने तर्फ नलाग्ने आफूहरुको विस्वास गरेको महासंघ अध्यक्ष शेखर गोल्छा, सीएनआई अध्यक्ष सतिश मोर र चेम्बर अध्यक्ष राजेन्द्र मल्लद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया 4