+
+

एमाले अध्यक्ष ओलीसँग घनश्याम र योगेशको मध्यरातसम्म वार्ता

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २४ गते १०:२९

२४ वैशाख, काठमाडौं । सत्तारुढ नेकपा एमालेको विभाजन रोक्न नेताहरुबीच निरन्तर सम्वाद भइरहेको छ । नेताहरुका अनुसार आज पनि सम्वादहरु हुनेछन् । तर अहिलेसम्म सम्वादले कुनै ठोस आकार लिएको छैन ।

पार्टीमा समानान्तर संरचना बनाएको माधव नेपाल समूहले २७ वैशाखमा प्रधानमन्त्रीले विश्वासको मत लिनु अगाडि नै विपक्षी दलहरुको बहुमत पुग्ने गरी सांसदहरुको राजीनामा दिने तयारी गर्नुका साथै राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाको बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षसँग मिलेर साझा उम्मेदवार बनाएपछि अध्यक्ष ओली झस्किएका थिए ।

सहमतिको प्रयासमा विहीबार एमाले वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्दा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले माधव समूहका नेताद्वय घनश्याम भुसाल र योगेश भट्टराईलाई भेटेका छन् ।

त्यसअघि बिहीबार नै अर्थमन्त्री समेत रहेका विष्णु पौडेलले नेपाल समूहका नेतमाहरु योगेश भट्टराई, सुरेन्द्र पाण्डे र गोकर्ण विष्टसँग पनि सम्वाद गरेका थिए ।

भेटवार्तामा सहभागी नेताहरुका अनुसार न शीतलनिवासमा कुनै सहमति जुट्यो, न बालुवाटारमा ।

राष्ट्रपति भण्डारीलाई भेटेर नेता नेपाल राति करीब १० बजेतिर शीतल निवासबाट निस्किएका थिए । केही घण्टासम्म चलेको त्यो भेट पनि एमालेमा देखिएको विवादमै केन्द्रित थियो । तर कुनै सहमति नभएको एक नेताले बताए ।

एमाले अध्यक्ष ओली र नेताद्वय भुसाल–भट्टराईको वार्ता भने झण्डै अझ अबेरसम्म चलेको थियो । छलफलका क्रममा ओलीले महाधिवेशन आयोजक समितिको बैठक बोलाउँछु, बैठकमा आउनुस् भनेका थिए । तर नेपाल समूहका नेताहरु त्यसमा सहमत छैनन् । उनीहरुले माओवादी केन्द्रसँग एकता गर्नुअघि अर्थात् २ जेठ २०७५ मा फर्किनुपर्ने पुरानै अडान राखेका छन् ।

वार्तामा सहभागी एक नेताले अनलाइनखबरसँग भने, ‘उहाँहरु मिल्नुपर्छ, मिल्नुपर्छ मात्र भनिरहनुभएको छ । एकलौटी निर्णयहरु नसच्याउँदासम्म कसरी सहमति होला र ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?