+
+

बाढीपछि क्षतिग्रस्त बन्यो मेलम्ची आयोजना (भिडियो र फोटो)

दुर्घटनाले आयोजनाको भविष्य नै अनिश्चित

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७८ असार ३ गते २०:१०

३ असार, काठमाडौं । मंगलबार मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल (हेडवर्क्स) मा मेलम्ची खोलाको बाढी पस्यो । बिहान ११ बजे सुपरीवेक्षणको लागि सुरुङ बन्द गरेको ८ घण्टा नबित्दै निर्माण सिध्याउन अन्तिम चरणको काम हुँदै गरेको आयोजनाको हेडवर्क्समा बाढीले वितण्डा मच्यायो ।

आयोजना प्रमुख रामकुमार श्रेष्ठका अनुसार आयोजना सकिने चरणमा भएको यो दुर्घटनाले आयोजनाको भविष्य नै अनिश्चित बनेको छ । ‘हामीले ड्रोनबाट आयोजना स्थलको भिडियो र फोटो ल्याएका छौं, त्यसलाई हेर्दा संरचनालाई बालुवा र माटोले पुरिएको जस्तो मात्रै देखिएको छ’ उनले भने,’यदि ती संरचनामा क्षति नपुगेको भए अहिले तोकिएकोभन्दा केही समय ढिला गरेर पानी प्रशोधन केन्द्रबाट नै सुरुङमा पानी हाल्न सक्छौं ।’

मंगलबार सुरुङ बन्द गर्दा करीब ४५ दिनपछि फेरि पानी भर्न सुरु गर्ने लक्ष्य थियो । तर, बाढीले आयोजनास्थललाई विक्षिप्त बनाएकाले कहिलेबाट मर्मतको काम गर्न सकिन्छ भन्ने निश्चित छैन । यदि संरचनामा ठूलो क्षति पुगेको भए फेरि सुरुङमा पानी भर्ने काम थाल्न निर्धारितभन्दा बढी समय लाग्छ ।

‘बाढी घटेपछि केही दिनमा विज्ञसहितको टोली त्यहाँ पुगेर अध्ययन गर्छ’ आयोजना प्रमुख श्रेष्ठ भन्छन्, ‘त्यसपछि मात्रै क्षतिको अवस्था यकिन हुन्छ ।’

अहिले आयोजनाको मुहानसम्म पुग्ने बाटो बगाएको छ । ८ जना श्रमिक बेपत्ता भएकोमा बिहीबार दुई जनाको शव भेटिएको छ ।

तिम्बुबाट मेलम्ची आयोजनासम्मको साँघुरो खोच माटो र बालुवाले पुरिएर फराकिलो बनेको छ । हेडबक्स क्षेत्र तहसनहस छ । निर्माण साइटका विभिन्न संरचना बगेका छन् । पुलसहित आयोजनाका यन्त्र उपकरण बगेर गएको छ ।

बन्दै गरेको बाँध र पानी प्रशोधन केन्द्र पुरिएर माथिबाटै खोला बग्दैछ । आयोजना र विज्ञहरु अब के गर्ने भनेर परामर्शमा छन् ।

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?