Comments Add Comment

राष्ट्रपति कार्यालयले त्रुटि सच्यायो, प्रधानमन्त्री देउवाले लिए शपथ

२९ असार, काठमाडौं । राष्ट्रपति कार्यालयले आफ्नो नियुक्तबारे गरेको त्रुटि सच्याएपछि नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन् । साथै चार मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद् गठन गरेका छन् ।

सोमबार सर्वोच्च अदालतले २९ गते संसद पुनस्र्थापना गर्दै संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्रीका लागि १४९ सांसदको समर्थन जुटाएका शेरबहादुर देउवालाई साँझ ५ बजेसम्म नियुक्त गर्न परमादेश दिएको थियो । सर्वोच्चले तोकेको समय सकिन एक घण्टा बाँकी छँदा राष्ट्रपति कार्यालयले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेको सूचना निकालेको थियो ।

सर्वोच्च अदालतको फैसलाबमोजिम देउवालाई प्रधानमन्त्री नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको थियो । संविधानको कुन धाराअनुसार भनिएको थिए । त्यसमा देउवाले आपत्ति जनाए र संविधानको धारा उल्लेख नगरी शपथ नलिने अडान लिएपछि पूर्व निर्धारित समय ६ बजे शपथ समारोह सुरु हुन सकेन ।

झण्डै दुई घण्टा छलफल भएपछि राष्ट्रपति कार्यालय सर्वोच्च अदालतको फैसला र संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त गरिएको उल्लेख गर्न तयार भयो ।

लगतै देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसामू पद तथा गोपनीयताको शपथ लिएका छन् ।

शपथ ग्रहण समारोहमा गठबन्धनका नेताहरुका साथै नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समेत सहभागी थिए । तर प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली भने उपस्थित भएनन् ।

चार मन्त्री नियुक्त

नवनियुक्त प्रधानमन्त्री देउवाले मंगलबार नै मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले आफ्नै दल कांग्रेसबाट बालकृष्ण खाँणलाई गृह र ज्ञानेन्द्रबहादुर कार्की कानुन न्याय तथा संसदीय मामिलामन्त्री नियुक्त गरेका छन् ।

सत्ता साझेदार नेकपा माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री नियुक्त गरेका छन् । चारै मन्त्रीले राष्ट्रपति समक्ष शपथ लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment