+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

वीरगञ्जको घण्टाघर उत्तरतर्फको मुख्य सडकमा फलफूल बिक्रीमा रोक

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ३१ गते ७:२९

३१ असार, वीरगञ्ज । प्रहरीले वीरगञ्जको घण्टाघरदेखि उत्तरतर्फको सडकमा फलफूल बिक्रीमा रोक लगाएको छ । बुधबार प्रहरीले १५ वटा साइकल र २ वटा ठेला फलफूलसहित नियन्त्रणमा समेत लिएको छ ।

घण्टाघरदेखि उत्तरतर्फ विपी उद्यान छेउको सडकमा साइकल र ठेलामा राखेर खुद्रा व्यापारीहरुले फलफूल बेच्दै आएका छन् । प्रहरीले दुईवटा कारणले सडकमा साइकल र ठेलामा फलफूल बेच्न रोक लगाउनुपरेको जनाएको छ ।

पहिलो उनीहरुले फलफूल भारतीय बजार रक्सौलमा गएर खरिद गरी भन्सार नतिरी वीरगञ्ज ल्याउने गरेका छन् । साइकल र ठेलामा फलफूल बिक्री गर्ने प्रायः भारतीय नागरिक नै रहेको दाबी प्रहरीको छ । यसबारेमा वीरगञ्जका फलफूल व्यवसायीले समेत प्रहरीसमक्ष गुनासो गर्दै आएका थिए ।

उनीहरुले घण्टाघरभन्दा उत्तरतर्फ सडक छेउमै फलफूल बेच्दा ट्राफिक व्यवस्थापनमा समस्या भइरहेको छ । उनीहरुले फलफूल बेच्दा ग्राहक त्यतै झुम्मिने र अटो रिक्साले समेत यात्रु खोज्न सडकमै रोक्ने हुँदा ट्राफिक व्यवस्थापन हुन सकिरहेको थिएन ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले नियन्त्रणमा लिइएको १५ वटा साइकल र तीन वटा ठेलालाई फलफूलसहित आवश्यक कारबाहीका लागि भन्सार पठाइएको बताए ।

‘साइकल ठेलामा पसल थापेजसरी एकै ठाउँमा फलफूल बिक्री गर्ने हैन, घुमाएर बिक्री गर्ने हो, नेपाली बजारबाट खरिद गरेर घुमाएर बिक्री गर्न पाइन्छ,’ डिएसपी खनालले भने, ‘बेलुका हिँड्नै सक्ने गरी बाटोमा भीड गर्ने गरेका छन्, पटक पटक आग्रह गर्दासमेत अटेर गरेपछि नियन्त्रणमा लिएका हौं ।’

फलफूल व्यवसायीहरुले भने प्रहरी प्रशासनले साइकल र ठेलामा समेत फलफुल बिक्री गर्न नदिएर गरीबको पेटमा लात मार्ने काम गरेको बताएका छन् ।

ट्राफिकले विपी उद्यानमा बिक्री गर्न भने पनि त्यहाँ हिलो भएकोले जान नसक्ने, ढलान गरेको ठाउँमा ठेकेदारले बस्न नदिएको उनीहरुको भनाइ छ ।

खुद्रा फलफू व्यवसायी संघका हरेराम साहले सबैतिरबाट मानिसहरु घण्टाघर आसपासमा जम्मा हुने भएकोले फलफूल सोही क्षेत्रमा बेच्ने गरेको बताए ।

‘हामीले १०/१५ हजारको फलफूल उठाएर बेच्ने हो, बेच्नका लागि उचित ठाउँ नभएकोले समस्या छ,’ उनले भने, ‘महानगरले गरी खाने वातवरण मिलाइदिनुपर्छ ।’

साइकल र ठेलामा फलफूल बिक्री गर्ने १५ जना नेपाली व्यवसायीले वीरगञ्जबाटै फलफूल उठाउने गरेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?