प्रायः संस्थापक सेयर र अवितरित (निर्धारित अवधिमा विक्री हुन नसकेको) हकप्रद सेयर लिलामीमा आउने गर्छन । गोप्य बोलकबोल प्रकृयाबाट कुनै सेयर खरिद विक्री गरिन्छ भने यसलाई अक्सन सेयर (सेयर लिलामी) भनिन्छ ।
पछिल्लो समय कम्पनीको सेयरमा लगानी गर्नका लागि लिलामी प्रकृयाले पनि लगानीकर्तालाई राम्रो अवसर दिने गरेको छ । कतिपय लगानीकर्ता लिलामीको सेयर कहिले आउँछ भनेर पर्खी बसेका हुन्छन् ।
बोलकबोल मार्फत धेरै मूल्य कबोल गर्ने खरिदकर्ताले सेयर प्राप्त गर्छन । सेयर लिलामी प्रक्रिया गोप्य हुन्छ । लिलामी सेयर बाँडफाँड हुँदा सबैभन्दा बढी मूल्यमा बोलकबोल गर्ने आवेदकलाई सेयर बिक्री गरिन्छ । यसबाट पनि सेयर बाँकी रहेमा त्यसपछिको बढी कबोलकर्तालाइ विक्री गरिन्छ ।
बोलकबोलमा सेयर विक्री गर्दै जाँदा अन्तिम मूल्यमा दुई वा दुई भन्दा बढी आवेदकहरु पर्न गएमा बोलकबोलबाट बाँकी भएको सेयरहरु माग भएको सेयर संख्याको सापेक्षिक भार अनुसार दामासाहीले बाँडफाँड गरिन्छ ।
यो प्रक्रियामा सबै आवेदनलाई एक साथ खोलिन्छ र विक्री प्रबन्धकले सेयर विक्री हुने अन्तिम मूल्य (कट अफ प्राइस) निर्धारण गर्छन । कट अफभन्दा कम मूल्यमा खरिद गर्न खोजेका खरिदकर्ताले लिलामीको सेयर पाउँदैनन् ।
उदाहरणका लागि, कुनै कम्पनीले एक लाख कित्ता सेयर लिलामीमा निष्कासन गरेको थियो । लिलामीमा सेयर बाँडफाँड गर्दा धेरै मूल्यमा आवेदन दिनेलाई प्राथमिकता हुने भएकोले प्रतिकित्ता ५६० रुपैयाँ कबुलेकी पार्वतीलाई माग गरेको १० हजार कित्ता सेयर प्राप्त हुन्छ । त्यसपछि श्यामले ५३० रुपैयाँमा २० हजार कित्ता सेयर प्राप्त गर्छन, हरीले ५२० रुपैयाँमा ४० हजार कित्ता सेयर प्राप्त गर्छन र गीतालाई ५१० रुपैयाँमा ३० हजार कित्ता सेयर प्राप्त हुन्छ ।
गीताले सेयर प्राप्त गरे पश्चात् कम्पनीले लिलामी मार्फत निष्कासन गरेको एक लाख कित्ता सेयर सकिन्छ र गीताले प्राप्त गरेको मूल्य नै त्यो लिलामीको कट अफ प्राइस हुन्छ ।
लिलामी सेयरमा कसरी सहभागी हुने ?
सेयर लिलामीका लागि कम्पनीले सूचना जारी गर्छ । यस्ता सूचना पढिसकेपछि तपाइले तोकिएको विक्री प्रबन्धक (इस्यु म्यानेजर, मर्चेन्ट बैंकर) बाट आवेदन फारम लिनुपर्छ । सामान्यतयाः एक सय रुपैयाँ तिरेर आवेदन फारम भर्न सकिन्छ ।
फारममा तपाइले किन्न चाहनुभएको कित्ता र रकम कबोल गर्नुपर्ने हुन्छ । रकम कबोल गर्नुअगाडी तपाइले सो कम्पनीको सेयर आपूर्तिको अवस्था बुझेर मौजुदा बजार मूल्यभन्दा कममा आवेदन गर्नु बुद्धिमानी हुन्छ ।
आवेदन फारममा इस्यु म्यानेजरको खाता नम्बर दिइएको हुन्छ, जहाँ तपाइले आवेदन गरेको सेयर किन्न पुग्ने रकम जम्मा गर्नुपर्छ । रकम जम्मा गरेको भौचर साथै राखेर आवेदन फारमलाई सिलबन्दी गरी इस्यु म्यानेजरलाई बुझाउन सक्नुहुन्छ ।
इस्यु म्यानेजरले एउटा रिसिट दिनेछन् । यदि तपाइलाई लिलामीको सेयर पर्यो भने डिम्याट खातामा दाखिला हुने छ । प्राप्त नभएमा तपाइको बैंक खातामा केही समयपछि रकम जम्मा हुन्छ ।
प्रतिक्रिया 4