Comments Add Comment

हामी भाइ एमाले हैनौं, वामदेवजस्तो पनि हुँदैनौं

-अजम्बर काङमाङ राई, सचिव संघीय समाजवादी पार्टी

नेकपा एमालेका पूर्वकेन्द्रीय सदस्यबाट संघीय समाजवादीका उपमहासचिव अजम्बर राई काङमाङले नेकपा एमालेलाई बिग्रेको हेलिकोप्टरको संज्ञा दिनुभएको छ । शुक्रबार मात्रै पाँचबुँदे सहमतिपत्रमा हस्तार गरेर मंसिर ४ को चुनावप्रति सहमति भएको पार्टीका युवा नेता काङमाङ आगामी चुनावमा आफ्नो पार्टी विगतको वामदेव गौतमको मालेजस्तो नहुने, बरु एमालेचाँहि त्यस्तो बन्न सक्ने दाबी गर्नुहुन्छ । 

एमालेबाट विद्रोह गरेर सामाजिक लोकतान्त्रिक पार्टीमा लाग्नुभएका पूर्वसभासद पासाङ शेर्पाले संघीय समाजवादी पार्टीलाई ‘भाइ एमाले’ भन्नुभएको छ नि ? यो प्रश्नमा काङमाङ भन्नुहुन्छ-‘ अनुहारलाई हेरेर गलत ढंगले व्याख्या गर्न आवश्यक छैन ।’Ajamber

तपाईहरु त जनजातिसँग भेट्दा संघीय समाजवादी पार्टी आदिवासी जनजातिको हित गर्ने पार्टी भन्नुहुन्छ रे । बाहुनहरुसँग भेट्दा यो कम्युनिष्ट पार्टी हो, जातीय हैन भन्नुहुन्छ रे । तपाईहरुको पार्टी आदिवासीवादी हो कि मार्क्र्सवादी ?

जो मानिसले विचारका आधारमा निर्णय गर्दैनन्, त्यस्ता मानिसहरु कि घटनाको पछि लाग्छन्, कि व्यक्तिको पछि लाग्छन् । हामी के वादी हौं भन्ने कुरा हाम्रो घोषणापत्र, राजनीतिक कार्यक्रम र विधान हेरेर टिप्पणी गर्नुभएको भए राम्रो हुन्थ्यो । हामी मार्क्र्सवादलाई प्रेरक सिद्धान्तका रुपमा मान्छौं तर, कम्युनिष्ट पार्टी हैनौं । हामी आदिवासीहरुको समस्यालाई पनि सम्बोधन गर्न चाहन्छौं । आइएलओ १६९ लाई मान्छौं । त्यसैले कोही व्यक्ति विशेषलाई, अनुहारलाई हेरेर गलत ढंगले व्याख्या गर्न आवश्यक छैन । हाम्रा विधान, राजनीतिक कार्यक्रम र घोषणापत्रहरुले बोल्छन् ।

सामाजिक लोकतान्त्रिक पार्टीका नेताका अनुसार संघीय समाजवादी पार्टी त भाइ एमालेजस्तै हुनु भो भन्ने छ नि ?

यो वहाँहरुले हेर्न नजानेको हो । यो हतासको मानसिकता पनि हो । हामी न भाइ एमाले हौं, न दाजु कांग्रेस हौं । हामीले दर्शनको आधारमा मार्क्र्सवादलाई प्रेरक सिद्धान्तका रुपमा स्वीकार गरेका हौं । वहाँहरुले त्यसलाई आदिवासीवादले नै संसारमा तहल्का मच्चाएको छ र नेपालमा पनि यसले काम गर्छ भन्ने थियो । तर, संघीय समाजवादी र उहाँहरुको पार्टीवीच तुलना गर्दा पनि वहाँहरु कुन ठाउँमा हुनुहन्छ भन्ने कुरा नै काफी छ नि ।

अशोक राईले चुनावमा एक सीट पनि नजित्ने र विगतमा वामदेव गौतमजस्तै शुन्य सीट जित्ने दाबी छ नि एमाले नेताहरुको ?

अहिले एमालेले जुन उमेद्वारहरु सिफारिस गरिरहेको छ, म त यस्तो हालत त एमालेमा पो देख्छु । एमाले निरन्तर खिइँदै गइरहेको छ । बिग्रेको हेलिकोप्टरजस्तो भएको छ । केही मान्छेहरु यो हेलिकोप्टर उड्छ कि भनेर तँछाडमछाड गर्दैछन् । संघीय समाजवादीले एक सीट पनि नजित्ने स्थिति भएको भए हामीसँगको वार्तामा झलनाथ खनाल र वामदेव गौतमहरु आउने नै थिएनन् । अहिले हामी नभई राष्ट्रिय राजनीतिको गाँठो नफुक्ने भएकाले बाध्य भएर हामीसँग वार्तामा आउने स्थिति बनेको छ । कतिसीट जित्छौं भन्ने त संविधानसभाको निर्वाचन हुन दिऔं, त्यसपछि गनौंला ।

आगामी चुनावमा तपाईहरु पुरानो वामदेव हुने सम्भावना छैन ?

त्यतिखेर समानुपातिक निर्वाचन प्रणाली भएको भए वामदेवको पुारनो पार्टीले त्यसबेला २७/२८ सीट जित्ने थियो । त्यसबेला उसले ६ प्रतिशत मत ल्याएको थियो । वामदेवका पालामा र अहिलेको तुलना गर्दै केन्द्रीय कमिटीको हैसियतबाट हेर्नहुन्छ भने वामदेवको विभाजन ठूलो हो, एजेन्डा, इस्यु र जनसमर्थनका हिसाबले हामी ठूलो छौं । अहिले हामीले ५६ जिल्लामा जिल्ला तदर्थ समिति बनाइसकेका छौं । अब ७५ वटै जिल्लामा पुग्दैछ । विदेशमा १५ वटा देशमा कमिटी बनेका छन् । पार्टी निर्माणको ८ महिनाभित्र प्रायः सबै जनवर्गीय संगठनहरु बनेका छन् । त्यसैले यसलाई पनि लर्तरो उपलब्धी ठान्नुहुन्न ।

अब एमाओवादीसँग चुनावमा तालमेल गर्ने कि नगर्ने ?

एमाओवादीको अस्तिको केन्द्रीय समितिको बैठकले योखालको निर्णय गर्‍यो । यस्तो निर्णय गर्नमा एमाओवादी आफैं स्वतन्त्र छ । एकता गर्ने कुरा नीति, सिद्धान्त र कार्यक्रम मिल्नेहरुसँग हो । एमाओवादीले कस्तो निीति अगाडि सार्छ भन्ने कुरा उसको घोषणापत्रमा के आउँछ भन्ने कुराले उसित सहकार्य गर्ने/नगर्ने भर पर्छ । अहिले भावुकतामा आएर यसको व्याख्या गर्नु चाँडो हुन्छ ।

-विहीबार बसेको समाजवादीको स्थायी कमिटी के निर्णय गर्‍यो ?

उच्चस्तरीय राजनीतिक समितिसँग वार्ता भैसकेपछि फेरि हाम्रो पार्टीको तर्फबाट दृष्टिकोण बनाउन बैठक बसेको हो ।

-के दृष्टिकोण बनाउनुभयो त ?

हामीले जुन अडानहरु राखेका थियौं, त्यही अडान अनुसार जाने भन्ने निर्णय भएको छ । हाम्रा अडान भन्नाले सर्वदलीय राजनीतिक सम्मेलनमार्फत् हाम्रा पाँचबुँदे मागहरुलाई लिपीवद्ध र सम्बोधन गर्ने भन्ने हो । यसैका आधारमा अगाडि बढ्नुपर्छ भन्ने हामीले निर्णय गर्‍यौं ।

अघिल्लो वार्तामा उच्चस्तरीय राजनीतिक समितिमा सहभागी दलका नेताहरु मंसिर ४ को निर्वाचनको समय घर्किंदै गएको भनेर अलि बढी हतारिएको अवस्थामा प्रस्तुत हुनुभयो । उहाँहरुले तयार गर्नुभएको ड्राफ्टमा पनि चार ठाउँमा मंसिर ४ को निर्वाचनमा प्रतिवद्धता भन्ने वाक्यांशहरु परेका थिए । यसले उहाँहर अलि बढी नै हतारिएको जस्तो देखिएको छ । हामीले अगाडि सारेको सर्वदलीय राजनीतिक सम्मेलनमा उहाँहरु सहमत हुनुभयो, त्यो चाहिँ सकारात्मक कुरा हो । संविधानसभाको सदस्य संख्या ६०१ को व्यवस्थालाई पुनस्थापना गर्ने उच्चस्तरीय राजनीतिक समितिको सहमति पनि ठूलो कुरा हो ।

अहिले मुलुकको भविश्य सम्पूर्णरुपले संघीय समाजवादी पार्टीको कोर्टमा आएको छ । हामीले सर्वदलीय राजनीतिक सम्मेलन गर्‍यौं भने ड्यास माओवादीहरु पनि यसमा आउँछन् । सर्वदलीय राजनीतिक सम्मेलनको मागमा उहाँहरु पनि सहमत हुनुहुन्छ । त्यसैले सर्वदलीय सम्मेलनमा हाम्रा पाँचसूत्रीय मागहरुलाई अभिभाज्यरुपमा पूरा गर्ने हो भने वैद्य माओवादी पनि चुनावमा आउँछन् ।

– अब सर्वदलीय बैठकमा के-के प्रस्ताव राख्नुहुन्छ ?

हाम्रा पाँचसूत्रीय माग अविभाज्य छन् । चारदलीय संयन्त्रको खारेजी र सर्वदलीय राजनीतिक सम्मेलन पहिलो माग हो । दोस्रो ११ बुँदे सम्झौता र २५ बुँदे बाधा अड्काऊ खारेजीको माग हो । तेस्रो, संविधानसभाको संख्या ६०१ नै हुनुपर्छ भन्ने हो । र, पाँचौ भनको विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार प्रदान गरिनुपर्छ भनेका छौं । यी पाँचवटा मागको अविभाज्यरुपमा सम्बोधन गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment