Comments Add Comment

म हलिउडको हिरो बन्न चाहन्थें : सुशील कोइराला

२१ असोज, काठमाडौं । तत्कालीन राजा महेन्द्रले ०१७ मा जननिर्वाचित सरकारलाई अपदस्थ गरी निरंकुश पञ्चायती व्यवस्था सुरुवात गर्दा देशबाट प्रजातन्त्र मात्रै लुटिएन, नेपाली कांग्रेसका अहिलेका सभापति सुशील कोइरालाको सपना पनि तुहियो । त्यतिबेला कोइराला कांग्रेसका सामान्य सदस्यमात्रै हुनुहुन्थ्यो । राजनीतिक भविष्यबारे न उहाँले कल्पना गर्नुभएको थियो, न नेता बन्ने कुनै सपना नै ।

susil koiralaभर्खरका लक्का जवान सुशील रंगमञ्चको हिरो बन्न चाहनुहुन्थ्यो, त्यो पनि हलिउडको । त्यसका लागि उहाँले प्रारम्भिक तयारी पनि गरिसक्नुभएको थियो, भारतमा नृत्य र फोटोग्राफीको प्रशिक्षण लिएर । ‘हिरो’ बन्ने सपना पूरा गर्न उहाँ हलिउडतिर हानिने अन्तिम तयारीमा हुनुहुन्थ्यो । उहाँलाई अमेरिकाको भिसासमेत आइसकेको थियो । तर, १ पुस ०१७ मा राजा महेन्द्रले ‘कू’ गरेपछि सुशीलको सपनामाथि पनि बज्रपात भयो । र, हिरो बन्न तम्तयार उहाँ नेपाली कांग्रेसको राजनीतिमा होमिनुभयो ।

सुशीललाई नजिकबाट जान्नेहरूका अनुसार राजा महेन्द्रले दुई महिना ढीलो मात्रै ‘कू’ गरेको भए पनि सुशील अमेरिका पुगिसक्नुभएको हुन्थ्यो र सम्भवतः यतिबेला हलिउडमा जमिरहनुभएको हुन्थ्यो । राजनीतिमा त सुशील बाध्यताले मात्रै होमिनुभएको हो ।

रंगमञ्चको हिरो बन्ने सपना तुहिए पनि बाध्यताले रोजिएको राजनीतिमा भने सुशील हिरो बन्न सफल हुनुभएको छ । नेपाली राजनीतिक बजारमा उहाँ चल्तीकै हिरो हुनुहुन्छ । यद्यपि, रंगमञ्चका हिरोले हिट फिल्म दिएर दर्शकलाई खुसी बनाएजस्तै राजनीतिक हिरो सुशीलले नेपाली जनतालाई अझै खुसी बनाउन सक्नुभएको छैन ।

७८ वषर्ीय अविवाहित सुशीलको हिरो बन्ने सोच र योजनाबारे उहाँकै धेरै कार्यकर्तालाई थाहा छैन । उहाँ आफैँ पनि यसबारे धेरै बोल्नुहुन्न । पार्टीकोे सर्वोच्च पदमा पुगेका बेला बाध्यतावश राजनीतिमा लागेको विषयमा सार्वजनिक रूपमा नबोल्नु स्वाभाविक पनि हो ।

सुशीलसित लामो संगत गर्नुभएका कांग्रेस नेता पुरुषोत्तम बस्नेतका अनुसार रंगमञ्च र फोटोग्राफी सुशीलको पहिलो रोजाइ थियो । राजनीतिक यात्रा बाध्यात्मक परिस्थितिको उपजमात्रै हो । ०१६ अघि नै सुशीलले वनारसमा नृत्य र फोटोग्राफीसम्बन्धी प्रशिक्षण लिनुभएको थियो । उहाँले लामो समय बनारसमा बिताउनुभएको थियो ।

सुशील हलिउडमा काम गर्न र कोरियोग्राफी सिक्न अमेरिका जाने अन्तिम तयारीमा हुनुहुन्थ्यो । त्यहीबेला राजा महेन्द्रले ०१७ पुस १ गते जननिर्वाचित सरकारलाई विघटन गरी निर्दलीय पञ्चायती व्यवस्था थालेपछि उहाँको अमेरिका यात्रा रोकियो ।

Mirror-front-page‘सुशील दाको हलिउडमा खेल्ने साह्रै ठूलो धोको थियो,’ कांग्रेस नेता बस्नेत भन्नुहुन्छ- ‘तत्कालीन राजा महेन्द्रले जननिर्वाचित सरकार विघटन गरेसँगै उहाँ अमेरिका जान रोकिनुभयो ।’ अमेरिका जान सुशीलको भिसा आइसकेको थियो । तर, राजनीतिक परिर्वतनसँगै तत्कालीन सरकारले उहाँलाई विदेश जान प्रतिबन्ध लगायो ।

कांग्रेस नेता बस्नेतका अनुसार राजा महेन्द्रले दुई महिनापछि मात्रै ‘कू’ गरेको भए पनि सुशील अमेरिका पुग्नुहुने थियो । तर, राजाको ‘कू’सँगै उहाँ भूमिगत हुनुपर्‍यो ।’

केही समयअघि एक दैनिक पत्रिकासितको कुराकानीमा पनि सुशीलले हलिउड चलचित्रमा खेल्ने आफ्नो धोको पूरा नभएको बताउनुभएको थियो । तपाइर्ं राजनीतिमा नआएको भए कुन पेसामा हुनुहुन्थ्यो भन्ने प्रश्नमा कोइरालाले भन्नुभएको छ, ‘म हिरो हुन्थेँ, हलिउडमा खेल्ने मेरो इच्छा थियो । राजनीति मेरो पहिलो रोजाइ होइन ।’

राजा महेन्द्रले ‘कू’ गरेपछि बीपी कोइरालासहित कांग्रेसका शीर्ष नेताहरू गिरफ्तार भए । बीपीको परिवार संरक्षण गर्ने जिम्मेवारी सुशीलको काँधमा आयो । त्यतिबेलासम्म राजनीतिमा त्यति धेरै सक्रिय नरहेका सुशील बिस्तारै राजाको शासनविरुद्ध आन्दोलनमा सक्रिय हुनुभयो ।

आन्दोलनमा सुशील यसरी समर्पित हुनुभयो कि हलिउडको हिरो बन्ने सपना तुहिएको मात्रै होइन, आफ्नो जवानी घर्केकोसमेत पत्तो पाउनुभएन । देशमा प्रजातन्त्र पुनःस्थापना हुँदासम्म उहाँको उमेरले नेटो काटिसकेको थियो । विवाह गर्ने तीव्र इच्छा भए पनि घर्किंदो उमेरसँगै उहाँले अविवाहित जीवन बिताउने निधो गर्नुभयो ।

सुशीलले बेलाबेलामा भन्ने गर्नुभएको छ्, ‘मैले प्रजातन्त्रसँग विवाह गरँे ।’ तर पनि, कहिलेकाहीँ उनका कुराबाट विवाह गर्ने समय आन्दोलनमा बिताएकोमा पछुतो मानेको संकेत पाउन सकिन्छ । ‘विवाह गर्न त मन थियो, आन्दोलनमा लाग्ने समयमा विवाह गरेको भए परिवार बालबच्चा कसले हेरिदिन्थ्यो ?’ सुशीलले भन्ने गर्नुहुन्छ, ‘विवाहलाई भन्दा मैले आन्दोलनलाई रोजेँ ।’

हिरो कि भिलेन ?

कांग्रेस सभापति सुशील कोइराला आमजनता र नेपालको राजनीतिमा अपरिचत नाम होइन । सामान्य रहनसहनबारे ‘प्रवचन’ दिएर नथाक्ने तथा साम्यवादका चर्का कुरा गर्ने कम्युनिस्ट नेताहरूको भन्दा निकै साधारण जीवनयापन गरिरहेका ७८ वषर्ीय अविवाहित सुशील तीन वर्षदेेखि कांग्रेसको नेतृत्व सम्हाल्दै आइरहनुभएको छ ।

१२औं महाधिवेशनले उहाँलाई सभापतिको जिम्मेवारी सुम्पे पनि पार्टी सञ्चालन गर्न असफल भएको आरोप सुशीलमाथि लाग्ने गरेको छ । पार्टीको सभापति वा प्रधानमन्त्री हुनुमात्रै राजनीतिक जीवनको सफलता वा असफलताको मानक हुने हो भने उनको राजनीतिक जीवन सफल मान्न सकिन्छ । होइन, उसले निर्वाह गरेको भूमिकालाई आधार बनाउने हो भने इतिहासले सुशीललाई नायक वा खलनायक -सफल वा असफल) के हुन् भन्ने निधो गर्नेछ ।

अहिले देशमा हुने हरेक राजनीतिक घटनाक्रममा सुशीलको महत्वपूर्ण भूमिका रहने गरेको छ । पुरानो राजनीतिक दलको नेतृत्वकर्ताको हैसियतले पनि त्यसो हुनु स्वाभाविक हो । तर, जीवनको अन्तिम समयसम्म निर्वाह गर्ने भूमिकाले नै उनलाई राजनीतिक नायक वा खलनायकका रूपमा चित्रण गर्नेछ ।

०३४ पछि निरन्तर पार्टीको केन्द्रीय नेतृत्वमा रहेका सुशील प्रजातन्त्र स्थापना, पुनःस्थापना र राजतन्त्रविरुद्ध आन्दोलनमा सक्रिय छन् । पार्टीको साधारण कार्यकर्तादेखि सभापतिको जिम्मेवारीसम्म उनले सम्हालिसकेका छन् । नेपाली राजनीतिक रंगमञ्चमा अहिलेसम्म जमिरहेका सुशील आगामी दिनमा ‘हिट’ हुन्छन् कि ‘फ्लप’ हेर्न बाँकी छ ।

(मंगलवारदेखि बजारमा आउने मिरर न्यूजको दशैं अंकबाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment