१० असार, काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिमा आधारित भिडियो प्लेटफर्म ‘भिल’ र संगीत प्रदायक कम्पनी ‘एपिडेमिक साउन्ड’बीच व्यावसायिक साझेदारी भएको छ ।
यो नयाँ सम्झौतापछि भिल प्लेटफर्ममा आबद्ध ब्रान्ड र भिडियो निर्माता (क्रिएटर्स) हरूले कुनै पनि कानुनी झन्झट बिना गीत, संगीत र साउन्ड इफेक्टहरू सिधै प्रयोग गर्न पाउने भएका छन् ।
दुई कम्पनीबीच भएको प्राविधिक समायोजनका कारण प्रयोगकर्ताहरूले एपभित्रै सहज रूपमा संगीत फेला पारी आफ्ना भिडियोहरूमा राख्न सक्नेछन् ।
यो साझेदारीपछि भिल प्रयाेगकर्तालाई भिडियो निर्माणको क्षेत्रमा प्रतिलिपि अधिकार (कपिराइट) सम्बन्धी आउने कानुनी अस्पष्टता र समस्याहरू नरहने दाबी गरिएको छ ।
एपिडेमिक साउन्डसँग आफ्ना सबै संगीतको शतप्रतिशत बौद्धिक सम्पत्ति अधिकार सुरक्षित रहेकाले, भिलको माध्यमबाट बनाइएका भिडियोहरू विश्वभरका सामाजिक सञ्जालमा राख्दा वा व्यापारिक रूपमा प्रयोग गर्दा पनि भिडियो हट्ने (टेकडाउन हुने) वा कपिराइट दाबी आउने जोखिम रहने छैन ।

टिकटक र युट्युब जस्ता सञ्जालहरूमा दैनिक साढे ३ अर्बभन्दा बढी भिडियो भ्युज बटुलिरहेको एपिडेमिक साउन्ड र भिलको यो सहकार्यले ब्रान्डहरूलाई सुरक्षित रूपमा प्रचार सामग्री बनाउन सजिलो पार्ने विश्वास लिइएको छ ।
साझेदारीका विषयमा बोल्दै एपिडेमिक साउन्डका व्यापारिक प्रमुख रास्मस थोफ्टेले गुणस्तरीय संगीत र कानुनी सुरक्षा खोजिरहेका डिजिटल निर्माताहरूको मागलाई यो प्रविधिले सम्बोधन गर्ने बताएका छन् ।
त्यस्तै, भिल कम्पनीका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत दिलीप ढकालले यो सहकार्य आफ्ना प्रयाेगकर्ताका लागि निकै फाइदाजनक साबित हुने र यसले कानुनी अन्योलता हटाएर ब्रान्ड र भिडियो निर्माताहरूलाई ढुक्कसँग काम गर्ने वातावरण दिने उल्लेख गरे ।
हाल भिल प्लेटफर्ममा विश्वका १२१ भन्दा बढी देशका ५ लाख ५० हजारभन्दा धेरै भिडियो निर्माता र ४५० भन्दा बढी ब्रान्डहरू आबद्ध छन् ।
प्रतिक्रिया 4