Comments Add Comment

चिसोका कारण सप्तरीमा एकको मृत्यु

१३ पुस, सप्तरी। विगत एक सातादेखि बढेको अत्यधिक चिसोका कारण सप्तरीको नकटी रायपुर गाविसमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नकटी रायपुर गाविस-८ निवासी ६५ वर्षीय रघुनाथी यादव छन् । अत्यधिक जाडोका कारण गत बिहीबार राति यादवको घरमै कठयाङ्गि्रएर मृत्यु भएको स्थानीय नर्मदेव यादवले जानकारी दिनुभयो ।

गत मङ्सिरको अन्तिम साताबाट सुरु भएको चिसो क्रमशः बढ्दै जाँदा जिल्लाको जनजीवन प्रभावित भएको छ भने अधिकांश केटाकेटी र वृद्धवृद्धा बिरामी पर्न थालेका छन् । बाक्लो हुस्सु र चिसो हावाका कारण बस्तीमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास र हाडजोर्नीका बिरामी निकै बढेका छन् । सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल तथा ग्रामीण भेगका सरकारी स्वास्थ्य संस्थाहरूमा अहिले बिरामीको चाप निकै बढेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

चिसोका कारण बिरामी परेका दैनिक करिब २० देखि २५ सम्म उपचारका लागि आउने गरेको गजेन्द्रनारायण सिंह अस्पतालका मेसु डा शैलेश झा बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “दैनिक बिरामीको सङ्ख्या बढ्दै गएपछि बेडको अभावमा भूइँमा राखेर पनि उपचार गरिरहेका छौँ ।” यता पछिल्ला पाँच दिनयता चिसो झनै बढेपछि सदरमुकाम र जिल्लाका अन्य बजार क्षेत्रमा चहलपहल र आवागमन निकै पातलिएको छ भने सरकारी कार्यालयमा सेवाग्राहीको सङ्ख्या हृवात्रै घटेको छ । दिनभरी घाम नलागेपछि सदरमुकाम राजविराजसहित ग्रामीण भेगका विद्यालयमा विद्यार्थीको सङ्ख्या घटेको शिक्षकहरु बताउँछन् ।

चिसोका कारण बिहान यात्रुको सङ्ख्यामा कमी आएपछि सगरमाथा बस व्यवसायी संघले आजदेखि जिल्लाबाट सञ्चालन हुने केही यातायातका साधनको सङ्ख्यामा कटौती गर्नुका साथै समयतालिकासमेत हेरफेर गरेको जनाएको छ । यसैबीच चिसो बढेपछि स्थानीय प्रशासनले सप्तरी सदरमुकाम राजविराजका विभिन्न स्थानमा आगो ताप्ने व्यवस्था मिलाएको छ । सर्वसाधारणको बढी चहलपहल हुने रुपनी बस बिसौनी, मिनीमार्केट, गजेन्द्र चोक, जनआन्दोलन चोक, अस्पताल प्राङ्गणमा आगो ताप्न दाउरा उपलब्ध गराएको सप्तरीका प्रहरी उपरीक्षक दिनेश अमात्यले जानकारी दिनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment