Comments Add Comment

सम्पन्न हुनुपर्ने बेलामा पनि सुरु भएन राहुघाट जलविद्युत निर्माण कार्य

Raghughat-Hydro-Project

११ साउन म्याग्दी । आर्थिक वर्ष २०७१/७२ मा सम्पन्न गर्ने लक्ष्य राखिएको राहुघाट जलविद्युत् आयोजनाको काम अझै सुरु हुन सकेको छैन । नेपाल विद्युत् प्राधिकरणले म्याग्दीमा निर्माण गर्न लागेको ३२ मेगावाटको आयोजनामा सरकार, दातृ निकाय, ठेकेदार कम्पनी एवम् विद्युत् प्राधिकरणका कारण ढिलासुस्ती भएको हो ।

यसै आर्थिक वर्षमा सम्पन्न गर्ने भनेर २०६६ सालदेखि विद्युत् प्राधिकरण कार्यक्षेत्रमा उपस्थित भए पनि सकिनुपर्ने समयसम्म मुख्य काम सुरुसम्म नहुनु चरम लापर्बाही र ढिलासुस्ती भएको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य प्रमोदकुमार श्रेष्ठले बताए ।

पछिल्लो समय आयोजनाको सिभिल निर्माणको जिम्मा पाएको भारतीय कम्पनी आइभिआरसिएलका कारण ढिलासुस्ती भएकाले सकेसम्म छलफल गरेर चित्त बुझाई काम अघि बढाउने नभए ठेक्का तोडेर अर्को कम्पनीसँग सम्झौता गर्नुपर्ने श्रेष्ठको भनाइ छ ।

विसं २०६८ मा कार्यक्षेत्रमा उपस्थित भएको आइभिआरसिएलले काम नपाएर बसेको करिब दुई वर्षको क्षतिपूर्तिको दाबी गरेकोमा भनेजस्तो नभएपछि काम गर्न आनाकानी गरेको विद्युत् प्राधिकरणका कर्मचारीहरू बताउँछन् । २०७० मङ्सिरमा १८ महिनापछि क्षतिपूर्ति दाबीको विषयमा भएको छलफलपश्चात् बिनासर्त कार्यक्षेत्रमा फर्किएको ठेकेदारले मुख्य काम अझै सुरु नगरेकाले शङ्का उब्जाएको हो ।

ठेकेदार कम्पनीको दिल्लीस्थित केन्द्रीय कार्यालयले कार्यक्षेत्रमा पर्याप्त बजेट उपलब्ध नगराएकाले कामले गति लिन नसकेको बताइएको छ । आइभिआरसिएलका राहुघाट जलविद्युत् आयोजनाका प्रबन्धक विक्रम चौहानले भने आर्थिकलगायत कुनै पनि समस्या नरहेको र कार्यक्षेत्रमा काम भइरहेको छ । बाँध, सुरुङ र विद्युत्गृह निर्माणका लागि संरचना बनाउने काम जारी रहेको र बर्खा सकिएलगत्तै सिभिल निर्माणको कामले तीव्रता पाउने चौहानले बताए ।

राहुघाट जलविद्युत् आयोजनाको सिभिल इन्जिनियरिङ कामअन्तर्गत १२ किलोमिटर प्रवेशमार्ग निर्माण, ६.१५ किलोमिटर टनेल, विद्युत् गृह, डयामलगायतका सिभिल इन्जिनियरिङसम्बन्धी काम गर्न विद्युत् प्राधिकरणले २०६७ कात्तिक १८ गते भारतीय निर्माण कम्पनी आइभिआरसिएलसँग सम्झौता गरेको थियो ।

राहुघाट जलविद्युत् आयोजनाका उपप्रबन्धक मनी काफ्लेले भने आयोजनाको प्रगतिबारे जानकारी लिन खोज्दा सम्पर्कमा आउन चाहनुभएन । प्राधिकरणले सरकारसँग बुझाएको प्रतिवेदनमा राहुघाट आयोजनाको प्रगति १० प्रतिशतमात्र भएको उल्लेख छ ।

भारतको एक्जिम बैंकको ३१ मिलियन डलर सहुलियत ऋण र बाँकी नेपाल विद्युत् प्राधिकरणको गरी ६७ मिलियन डलर कुल लागतमा राहुघाट निर्माण हुन लागेको हो । दग्नाम र झीँ गाविसको सिमानामा बाँध रहने रन अफ द रिभर प्रकृतिको आयोजनाको छ किलोमिटर सुरुङ र पिप्ले-२ तिल्केनीचौरमा विद्युत्गृह रहने जनाइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment