Comments Add Comment

कुन वाणिज्य बैंकको लाभांस दिने हैसियत कति ?

पुष्प दुलाल

१८ भदौ काठमाडौं । सञ्चालनमा रहेका ३० वाणिज्य बैंकमध्ये आर्थिक वर्ष २०७०/७१ मा  २८ बैंकले मात्रै नाफा कमाएका छन् । उनीहरुको नाफा २३ अर्ब रुपैयाँ छ ।

बैंकहरुले प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरण्का आधारमा नाफा कमाउने बैंकमध्ये नेपाल बैंक बाहेक सबै बैंक सेयरधनीलाई प्रतिफल दिनसक्ने हैसियतमा छन् ।

जनता बैंक सबभन्दा कम (३ प्रतिशत) र नबिल बैंकको सबैभन्दा बढी (६५ प्रतिशत) प्रतिफल दिने हैसियतमा देखिएका छन् ।

सबैभन्दा बढी अर्थात २ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा कमाएको नविलले २० प्रतिशत बोनस र ४५ प्रतिशत नगद लभांसको घोषणा गरिसकेको छ ।

Bonus distribute-2

त्यसैगरी एभरेष्टले १२ प्रतिशत बोनस र ५० प्रतिशत नगद गरी ६२ प्रतिशत लाभांसको घोषणा गरिसकेको छ । बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २ अर्ब १ करोड रुपैयाँ पुग्नेछ । चुक्ता पुँजी कम भएकाले नविलको भन्दा करिब ८० करोड रुपैयाँ नाफा कम भए पनि एभरेष्टले नविलकै हाराहारीमा प्रतिफल वितरण गर्न सफल भएको हो ।

राष्ट्र बैंकले खुद नाफाको २० प्रतिशत रकम साधारण जगेडा कोषमा अनिवार्य राख्नुपर्ने व्यवस्था गरेको छ । जस अनुसार बैंकहरुले नाफाको अधिकतम ८० प्रतिशत रकम मात्रै प्रतिफल वितरण गर्न सक्छन् ।

यसैलाई आधार मानेर बैंकहरुले वितरण गर्न सक्ने अधिकतम लाभांसको क्षमता निकालिएको छ । बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरणमा देखाएको प्रोभिजनिङ राष्ट्र बैंकले जस्ताको त्यस्तै स्वीकृत गरे यो समाचारमा उल्लेख गरेबमोजिमको अधिकतम प्रतिफल दिन सक्छन् । प्रतिफल कति दिने भन्ने त सम्बन्धित संस्थाको सञ्चालक समितिले निर्णय गर्छ ।

अपरिस्कृत वित्तीय विवरणलाई आधार मान्दा  १२ वटा बैंकहरु २० प्रतिशतभन्दा बढी प्रतिफल दिने हैसियतमा देखिन्छन छन् भने ११ बैंकहरुसँग १० देखि २० प्रतिशतसम्म प्रतिफल दिने क्षमता देखिन्छ । त्यसैगरी चार वटा बैंक १० प्रतिशतभन्दा कम प्रतिफल दिने अवस्थामा देखिन्छन भने तीन वटा बैंक प्रतिफल दिने हैसियतमा छैनन ।

एक अर्ब २३ करोड रुपैयाँ नाफा कमाए पनि सञ्चित नोक्सानीका कारण सरकारी स्वामित्वको नेपाल बैंकले लाभांस वितरण गर्न पाउँदैन । बैंक २ अर्ब ५९ करोड रुपैयाँ सञ्चित घाटामा छ । त्यसैगरी १ अर्ब ६० करोड रुपैयाँ घाटामा रहेको ग्राण्ड बैंक र २४ करोड रुपैयाँ घाटामा रहेको किष्ट बैंकले लाभांस वितरण गर्न पाउँदैनन । किनभने बोनस ऐनमा घाटामा रहेका संस्थाले बोन वितरण गर्न नपाउने व्यवस्था छ ।

न्यून आर्थिक वृद्धि, अधिक तरलता, तीव्र प्रतिस्पर्धा र राष्ट्र बैंकले स्प्रेड (कर्जा र निक्षेपबीचको व्याज अन्तर) तोकेका कारण बैंकरुको नाफामा वृद्धिमा संकुचन आएको जनता बैंकका प्रमुख कार्यकारी अधिकृत डा. रमेश भट्टराई बताउँछन् ।

बाणिज्य बैंकहरुको अनुमानित लाभांसा दिने क्षमता  

बैंक नाफा रु. करोडमा लाभांश क्षमता (प्रतिशतमा)
नविल बैंक २३१ ६५ (घोषणा भइसेको)
इन्भेष्टमेन्ट बैंक १९५ ३७
एभरेष्ट बैंक १५४ ६२ (घोषण भइसकेको)
कृषि विकास बैंक १५० १२
स्टाण्डर्ड चार्टर्ड १३७ ५४
नेपाल बैंक १२३
ग्लोवल आईएमई १०१ १९
नेपाल एसविआई ९२ २७
एनआइसी एशिया ८१ २८
सिद्धार्थ बैंक ७९ ३५
एनबी बैंक ७८ २८
प्राइम बैंक ६३ १९
सिटिजन्स बैंक ५६ २१
बैंक अफ काठमाडौं ५१ २१
लक्ष्मी बैंक ४८ २१
सानिमा बैंक ४५ १६
माछापुच्छ्र्रे बैंक ४५ १४
एनएमवी बैंक ४१ १६
एनसीसी बैंक ३७ २०
कुमारी बैंक ३४ १५
मेगा बैंक ३१ १०
सनराईज बैंक ३० ११
लुम्बिनी बैंक २४ १०
सिभिल बैंक २४
सेन्चुरी बैंक १४
जनता बैंक
किष्ट बैंक (२४)
ग्राण्ड बैंक (१६०)
हिमालयन बैंक ११० २६

‘यस्तो अवस्थामा पनि अधिकांश बैंकले १० प्रतिशतभन्दा बढी लाभांस दिने हैसियतमा छन्, यो सन्तोषजनक हो’ भट्टराईले अनलाइनखबरसँग भने- केही वर्षपछि सबै वाणिज्यबैंकहरु २० प्रतिशत प्रतिफल दिने हैसियत राख्छन ।

त्यसो त  अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्षको बैंकहरुको नाफा तीन प्रतिशतले अर्थात ५३ करोड रुपैयाँले मात्रै बढी हो । दुई बैंक घाटामा जाँदा बैंकहरुको नाफाको औषत वृद्धिदर तीन प्रतिशतमा सीमित भएको हो ।

विदेशी लगानीको स्ट्याण्डर्ड चार्टर्ड बैंकले सेयरधनीलाई ५३ प्रतिशतसम्म लाभांश दिन सक्छ भने इन्भेष्टमेन्ट बैंकले ३७ प्रतिशत र सिद्धार्थ बैंकले ३५ प्रतिशतसम्म प्रतिफल दिनसक्ने हैसियत देखिन्छ ।

तोकिएको न्यूनतम चुक्ता पुँजी पुर्‍याउन नसकेका संस्थाहरुका लागि भने राष्ट्र बैंकले न्यूनतम चुक्ता पुँजी पुग्नेगरी बोनस सेयरको घोषणा गरेर नगद लाभांस वितरण गर्न पाउने व्यवस्था गरेको छ । जसअनुसार एभरेष्ट, बैंक अफ काठमाण्डू, कुमारी, लक्ष्मी, लुम्बीनी र एनसीसी बैंकले २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुग्नेगरी बोनस सेयर घोषणा गरेपछि मात्रै नगद लाभांस वितरण गर्न पाउँछन् ।

बढी प्रतिफल दिने संस्थाको सेयरमा लगानीकर्ताको आकर्षण बढ्छ । लगानीकर्ताको आकर्षणसँगै आपूर्तिभन्दा माग बढी हुदा सो संस्थाको सेयर मुल्य बढ्छ । तर, प्रतिफल दिन नसक्ने तथा कमजोर प्रतिफल दिने संस्थाप्रति लगानीकर्ताहरु आकषिर्त हुँदैनन,  जसको असर सेयर मूल्यमा पर्छ ।

सेयरको मूल्यलाई संस्थाको वास्तविक अनुहार देखिने ऐनाको रुपमा पनि विश्लेषण गरिन्छ । ‘त्यसैले बैंकहरु नाफा र संस्थागत शुसासनमा बढी जोड दिन्छन्’ सीइओ भट्टराई भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment