Comments Add Comment

दसैंमा १३९ सभासदले घर जान नपाउने

७ असोज, काठमाडौं । संविधानसभाका रहेका १३९ सभासदले दसैंमा छुट्टी नपाउने भएका छन् । बाँकी सभासदले भने फूलपातीका दिन घर गएर २१ गते फर्कने गरी छुट्टी पाउने संसद सचिवालय स्रोतले जानकारी दिएको छ ।

माघ ८ मा संविधान जारी गर्ने हो भने दसैंमा पनि काम गर्नुर्पर्ने भन्दै संवैधानिक राजनीतिक सम्वाद समिति र संविधान मस्यौदा समितिका सदस्यलाई काठमाडौंमै दसैं मनाउन सभाध्यक्ष सुवास नेम्वाङले निर्देशन दिएको संसद सचिवालयका एक अधिकारीले अनलाइनखबरलाई बताए ।

फाइल फोटो : सम्वाद समितिको बैठक ।
फाइल फोटो : सम्वाद समितिको बैठक ।

सभासदको दसैं बिदाबारे राखिएको जिज्ञासामा सभामुख नेम्वाङले अनलाइनखबरसँग भने-‘संवाद समिति र मस्यौदा समिति बाहेकका सभासदहरुले फूलपातीका दिन घर गएर असोज २१ गते हाजिर हुनुपर्छ, अरु माननीयले यसपालि काठमाडौंमै दसैं मनाउनुपर्छ ।’

सचिवालयका अनुसार बाबुराम भट्टराई नेतृत्वको सम्वाद समितिलाई सभाध्यक्ष नेम्वाङले सहमति भएका विषयमा तत्कालै आंशिक प्रतिवेदन बुझाउन निर्देशन दिएका छन् ।

त्यस्तो प्रतिवेदन तत्काल संविधानसभाको बैठकमा राखिने भएकाले फूलपातीको अघिल्लो दिनसम्म संविधानसभाको बैठक बस्न सक्ने सचिवालयले जनाएको छ । ‘यही कारण फूलपातीको अघिल्लो दिनसम्म सबै सभासदलाई काठमाडौंमै रहन सभाध्यक्ष नेम्वाङको निर्देशन छ,’ स्रोतले भन्यो ।

संवाद समितिले पठाएको प्रतिवेदनमा संविधानसभा बैठकले छलफल गरेपछि तुरुन्तै मस्यौदा समितिमा पठाउने भएकाले मस्यौदा समितिका सभासदलाई पनि दशैंमा काठमाडौं नछाड्न सभामुखले भनिसकेको सचिवालय स्रोतले जानकारी दियो ।

सम्वाद समिति र मस्यौदा समितिमा ७१ र ६८ गरी कूल १ सय ३९ सभासद छन् । यीमध्ये केही सभासदको घर काठमाडौंमा छ भने अधिकांश सभासद राजधानी बाहिरका छन् ।

सभामुख भन्छन्- म पनि इलाम जान्न

subash nembangसभामुख नेम्वाङले आफूलाई दसैंमा घरबाट बोलावट भए पनि आफू गृहजिल्ला इलाम नजाने बताए । ‘घरबाट बोलाइरहेका छन्, जिल्लाबासीले पनि दसैंको निम्तो दिइरहेका छन्,’ नेम्वाङले अनलाइनखबरसँग भने- ‘तर मैले यसपालिको दसैंमा आउन भ्याउँदिन भनेको छु, माघ ८ सम्म म काठमाडौं बाहिर जान्न ।’

दसैंको तलब बाँडियो, कात्तिकमा सुख्खा

यसैवीच संसद सचिवालयले सभासदहरुको खातामा असोज महिनाको तलव सोमबार निकासा गरेको छ । तर, कात्तिकको तलव खुवाउने पैसा सकिएको स्रोतले बतायो ।

‘असोजको तलब त सभासदज्यूहरुलाई जसोतसो खुवाइयो, कात्तिकमा खुवाउने उपाय छैन’ स्रोतले अनलाइनखबरसँग भन्यो’, ‘निरन्तर संसद अवररुद्ध हुँदा विनियोजन बजेटमा छलफल नै हुन नसकेपछि सभासदलाई तलव खुवाउन समस्या पर्न लागेको हो ।’

सभासदहरुले दसैं भत्ता भने एक पैसा पनि नपाउने सचिवालयका एक कर्मचारीले बताए । उनले भने- ‘सभासदलाई दसैं खर्च दिने चलन छैन ।’

व्यवस्थापिका संसद अझै सुचारु नहुने हो भने सभासदलाई जस्तै निजामति कर्मचारीलाई पनि तलब खुवाउन संकट पर्ने भन्दै सभाध्यक्ष नेम्वाङले शीर्षनेता र दलका सचेतकहरुको पटक-पटक ध्यानाकर्षण गराइसकेको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment