Comments Add Comment

काम प्रभावकारी बनाउन पर्यटन मन्त्रालयलाई संसदीय समितिको निर्देशन

१३ पुस, काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले पर्यटन, नागरिक उड्डयन तथा संस्कृति मन्त्रालय अन्तर्गतका विकास समितिको काम कारबाही प्रभावकारी नभएको भन्दै समितिको परिचालन र अनुगमनका लागि संयन्त्र बनाउन मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिको आइतबारको बैठकमा पर्यटन र संस्कृतिअन्तर्गतका समितिका पदाधिकारीसँग उनीहरू आबद्ध समितिले गरेका कामको प्रगति विवरण, बजेटलगायतका विषयमा जानकारी मागिएको थियो । सो क्रममा केही विकास समितिमा पदाधिकारी रिक्त रहेको विवरण आएपछि समितिको बैठकले रिक्त पदाधिकारी तत्काल पूर्ति गर्न निर्देशन दिएको छ ।

समितिको कार्यादेश, कर्मचारीको अभावजस्ता कारणले प्रभावकारी रूपमा काम गर्न नसकिएको समितिका पदाधिकारीले गुनासो गरेका थिए ।

नागरिक उड्डयन तथा संस्कृति मन्त्रालयका निमित्त सचिव सुरेश आचार्यले संस्कृतितर्फ ११ र पर्यटनतर्फ १३ वटा समिति रहेको जानकारी दिए ।

उनका अनुसार संस्कृतितर्फ ३९ करोड बजेट विनियोजन गरिएको तथा पर्यटनतर्फ २७ करोड विनियोजन गरिएको छ ।

मन्त्रालयले सन् २०१५ देखि २०२४ सम्मको रणनीतिक कार्ययोजना तय गरेको जानकारी दिँदै उनले सन् २०२० पछि प्रत्येक वर्ष २० लाख पर्यटक नेपाल भित्रयाउने लक्ष्य लिइएको बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment