१३ माघ काठमाडौं । सोमबार बसेको कामना विकास बैंकको सञ्चालक समितिको बैठकले ओम फाइनान्ससँगको मर्जर प्रक्रिया अन्त्य भएको निर्णय गरेको छ । गत शुक्रबार मात्रै संयुक्त मर्जर समितिले मर्जर प्रक्रिया अन्य गर्न सिफारिस गरेको थियो ।
ओम फाइनान्सको यसैहप्ता बस्ने सञ्चालक समितिले पनि कामनासँगको मर्जर प्रक्रिया अन्त्य भएको औपचारिक निर्णय गर्दैछ ।
गत असार २९ गते दुई यी संस्थाहरुबीच गाभ्ने/गाभिने सैद्दान्तिक सहमति भएको थियो । असोज ५ गते राष्ट्र बैंकले मर्जरका लागि सैद्दान्तिक सहमति दिएको थियो ।
त्यसैगरी, बैंक अफ काठमाडौं -बीओके)ले पनि मर्जर प्रक्रिया अघि बढ्न नसक्ने भन्दै राष्ट्र बैंकलाई पत्राचार गरिसकेको छ । बीओकेले आइएलएफसी, श्री इन्भेष्टमेन्ट फाइनान्स र नेपाल एक्सप्रेस फाइनान्सबीचको मर्जर प्रक्रिया अवरुद्ध भएको भन्दै राष्ट्र बैंकलाई जानकारी गराएको हो । यी संस्थाहरुबीच २०७१ जेठ २९ गते मर्जरका लागि सैद्दान्तिक सहमति भएको थियो ।
हालै मर्जर प्रक्रिया अवरुद्ध भएका यी त उदाहारण मात्रै हुन । हालसम्म सैद्धान्तिक सहमति भइसकेका ३९ वटा बैंक तथा वित्तीय संस्थाहरुबीचको मर्जर प्रक्रिया अवरुद्ध भएको छ ।
बलियो संस्था निर्माणका लागि मर्जमा अग्रसर देखिएका संस्थाहरु मर्जर प्रक्रियाबाट पछि हट्नुको मुख्य कारण हो, सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) विवाद ।
ड्यू डेलिजेन्स अडिट (डिडिए) गर्दा संस्थाहरुको स्वाप रेसियोमा असन्तुलन भएपछि उत्पन्न विवाद नै मर्जर प्रक्रिया अवरुद्ध हुनुको ठूलो कारण भएको नेपाल राष्ट्र बैंकका प्रवक्ता मनमोहनकुमार श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए । स्वाप रेसियोसँगै सञ्चालक र कर्मचारी व्यवस्थापन विवाद मर्जर प्रक्रिया अबरुद्ध हुनुका कारण भएको उनले बताए ।
‘राष्ट्र बैंकबाट मर्जरका लागि सैद्धान्तिक सहमति पाइसेकाभन्दा संस्थाहरुबीच मात्रै मर्जरको सैद्धान्तिक सहमति गरेका संस्थाहरुको मर्जर प्रक्रिया बढी अबरुद्ध भएको छ’ श्रेष्ठले भने- ‘सञ्चालक र कर्मचारीको व्यवस्थापन पनि मर्जर प्रक्रिया अवरुद्ध हुनुको अर्को कारण हो ।’
नियामक निकाय नेपाल राष्ट्र बैंकले मर्जरलाई प्रोत्साहन गरेपछि संस्थाहरुले प्रक्रिया सुरु गरेका थिए । राष्ट्र बैंकले मर्जरसम्बन्धी विनियमावली ०६८ जारी गरेयता ६४ वटा बैंक तथा वित्तीय संस्था एकआपसमा गाभिएर २५ वटामा झरेका छन् । गत आर्थिक वर्षमा मात्रै २३ वित्तीय संस्था मर्ज भएर ९ वटामा झरेका थिए ।
मर्जरमा जाने संस्थाहरुलाई सरकारले करमा सहुलियत दिनेलगायतका सुविधाको घोषणा गरिसकेको छ । मर्जरमा जाने संस्थाका लागि सेयर हस्तान्तरण, घाटामा जाँदा कर छुट र कर्मचारी सेवानिवृत्त हुँदा प्राप्त हुने आयको स्रोतमा ५० प्रतिशत कर कट्टी गर्नेलगायतका सुविधा दिइएको छ । संस्थाहरुको संख्खा अत्यधिक भएको निष्कर्ष निकाल्दै सरकारले संख्या घटाउने नीति अबलम्बन गरेको छ ।
राष्ट्र बैंकले वाणिज्य बैंकलाई ०७१ असार मसान्त सम्ममा न्यूनतम चुक्ता पुँजी २ अर्ब, राष्ट्रियस्तरको विकास बैंकका लागि ६४ करोड र फाइनान्सका लागि २० करोड पुर्याउनुपर्ने बाध्यात्मक व्यवस्था गरिसकेको छ ।
बासल ३ लागू भइसकेकाले संस्थाहरुले जोखिममा आधारित पुँजी वृद्धिगर्नुपर्ने आवश्यकता छ, जसले संस्थाहरुलाई मर्जतर्फ आकषिर्त गरेको हो ।
यी हुन मर्ज हुन नसकेको संस्थाहरु
ओम फाइनान्स र कामना विकास बैंक |
बिओके, आइएलएफसी, श्री इन्भेष्टमेन्ट र नेपाल एक्सप्रेस |
नारायणी डेभलपमेन्ट बैंक र क्रिष्टल फाइनानस |
कुवेर मर्चेन्ट फाइनान्स र वल्र्ड मर्चेन्ट फाइनान्स |
पशुपति डेभलपमेन्ट बैंक र लर्ड बुद्ध फाइनान्स |
सोसियल डेभलपमेन्ट बैंक र कर्पोरेट डेभलपमेन्ट बैंक |
सिभिल मर्चेन्ट फाइनान्स र काठमाडौं फाइनान्स |
एनडीईपी डेभलपमेन्ट बैंक र हामा फाइनान्स |
किस्ट बैंक र भिवोर विकास बैंक |
पि्रमियम फाइनान्स र इम्पेरियल फाइनान्स |
सगरमाथा मर्चेन्ट फाइनान्स र रिलायन्स फाइनान्स |
सिद्धार्थ डेभलपमेन्ट बैंक र पब्लिक डेभलपमेन्ट बैंक |
सेन्ट्रल फाइनान्स र पाटन फाइनान्स |
पशुपति डेभलपमेन्ट बैंक र लर्ड बुद्ध फाइनान्स |
लुम्बिनी बैंक र मञ्जुश्री फाइनान्स |
पाथीभरा विकास बैंक र सिर्जना फाइनान्स |
एनडीईपी र यती डेभलपमेन्ट बैंक |
ललितपुर फाइनान्स, अरुण फाइनान्स र प्रोगेसिभ फाइनान्स |