Comments Add Comment

भारतले रोक्यो नेपाली एयरबसको पहिलो उडान

Nepal-Airlines-New-plane-Sagarmatha  (2)

१३ फागुन, काठमाडौं । भारतले स्वीकृति नदिँदा नेपाल वायु सेवा निगमको नयाँ एयरबसको पहिलो अन्तराष्ट्रिय उडान नै स्थगित भएको छ । उडान स्थगित भएको सूचना बुधबार विहान मात्रै पाएका झण्डै २ सय यात्रुहरु अलपत्र परेका छन् ।

भारतले मागेका बिभिन्न कागजपत्र निगमले समयमा बुझाउन नसकेपछि सगरमाथा नाम दिइएको ए ३२०-२०० एयरबसको पहिलो उडान नै प्रभावित भएको हो ।

शुक्रबार उडाउने योजना

निगमका प्रवक्ता रामहरी शर्माले अनलाइनखबरसँग भने, ‘हाम्रो अपरेसन अथोरिटी पाँच बर्षको थियो, जुन २०१५ सम्म भ्यालिड नै छ । तर, भारतले अरु धेरै कागजात माग्यो, मंगलबार राति १० बजेसम्म पनि मिलाउने प्रयास गर्‍यौं तर नसकेपछि क्यान्सिल गर्नै पर्ने स्थिति आयो ।’

भारतले अस्थायी उडान अनुमतिपत्रको सट्टा स्थायी अनुमति पत्र मागेको छ । यसैगरी नयाँ विमान दर्ता, ५ वर्ष भित्रमा भएका विमान दुर्घटना विवरण लगायतका कागजपत्र पनि मागेको छ । भारतले मागेअनुसारको कागजपत्र लिएर निगमका कर्मचारी दिल्लीमा दौडधूप गर्न व्यस्त छन् ।

‘आज दिनभरको प्रयासमा कागजात मिलाउने र शुक्रबार उडान भर्ने योजना छ,’ प्रवक्ता शर्माले भने ।

यात्रु अलपत्र

 गत माघ २५ गते ‘सगरमाथा’ नाम दिइएको एयरवस काठमाडौं अवतरण गरेको थियो । बुधबार विहान ८ बजे दिल्लीमा पहिलो उडान भर्ने योजना बनाइएको थियो । सोही अनुसार अग्रिम टिकट बिक्री भएका थिए । नेपालबाट दिल्ली जानका लागि १३० र दिल्लीबाट नेपाल आउनका लागि ६५ टिकट बिक्री भएका थिए । तर एकाएक उडान स्थगित भएपछि यात्रुहरु समस्यामा परेका छन् ।

वैकल्पिक व्यवस्था

टिकट लिइसकेकाहरुलाई अर्को विमानमा पठाउने प्रयास भैरहेको छ । ‘तर सिट टाइट-टाइट छ, मिलाउने प्रयास गर्दैछौं,’ प्रवक्ता शर्माले भने ।

निगमको नयाँ एयरबसको सस्तो टिकट किनेकाहरु अब अर्को विमानमा जान पर्ने भएपछि महंगो टिकट तिर्नुपर्ने बाध्यता छ । तर, पनि सकेसम्म सहुलियतमा पठाउने प्रयास भैरहेको निगमले जनाएको छ ।

दिल्ली-काठमाण्डौंका लागि नेपाली यात्रुका लागि एकतर्फी भाडा ७ हजार ८४ रुपैयाँ छ । विदेशीको हकमा भने ८ हजार २ सय ३० रुपैयाँ तोकिएको छ ।

नयाँदिल्लीका लागि निगमले सातामा चार दिन उडान भर्ने तालिका बनाएको छ । विमान अभावमा निगमले दिल्ली-काठमाडौं उडान ०६८ मंसिर पछि गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment