Comments Add Comment

राजनीतिको आवरणमा माफियाहरुको आतंक ‘स्वाइन फ्लू’ जस्तै

-जागृत रायमाझी

 “All commodities are salable except father and mother”.

अर्थात् बाउ र आमावाहेक सबै बस्तुहरु बिक्रीयोग्य हुन्छ भन्छ पुँजीवादले । बजारलाई राजनीति, कानुन, सुरक्षा, उत्पादन, बिनिमय, शिक्षा, स्वास्थ्य, सेवा, मनोरञ्जन आदि सबै जिम्मा लगाउँदा विकृति र अस्तब्यस्तताले मानव सभ्यता नै समाप्त हुने खतराको घण्टी टिङटिङ् बज्यो विकसित पुँजीवादी मुलुकहरुमा ।

Jagrit-Rayamajhi-finalत्यसपछि उनीहरुले जनताको आधारभुत आवश्यकता राज्यले पूरा गर्ने समाजवादको न्युनतम अवधारणा कपिपेष्ट गरे । तर, पुँजिवादमा असाध्यै ढिलो प्रबेश गरेको हाम्रो देशमा गाँस, बाँस, कपास, शिक्षा, स्वास्थ्य, सार्बजनिक यातायात जस्ता जनताका आधारभुत र अति सरोकारका बिषय समेत निजी क्षेत्र र माफियाहरुको जिम्मा लगाएर पुँजिवादी सत्ताधारीहरुले नयाँ जोगीको धेरै खरानी घसाइ गरिरहेका छन् । त्यसैको एउटा उदाहरण हो नेपालको स्वास्थ्य र शिक्षाको चरम निजीकरण र डरलाग्दो माफियाकरण ।

के हो मेडिकल राजनीति ?

मेडिकल राजनीतिको सार भनेको  जनतालाई ‘आधारभुत स्वास्थ्य’ र जनताका छोराछोरीलाई ‘स्वास्थ्य शिक्षा’बाट बञ्चित गर्नु हो । अर्थात, अचाक्ली महँगो स्वास्थ्य सेवा हुने खानेको मात्र बशको बिषय बनाउनु हो । त्यसमा पनि ४० लाखभन्दा कममा डाक्टर बन्न नपाउने भएपछि गरिबका छोराछोरीका लागि ‘मेडिकल शिक्षा’ समेत आकाशको फल सरह भैगयो । सक्नेले पनि घरजग्गा ‘शकुनी दाउँमा’ राखेर मात्र पढ्न पाउने भए ।

दोस्रो कुरा, रातारात लखपतिबाट करोडपति र करोडपतिबाट अरबपति बन्ने सजिलो र छोटो बाटो हो, मेडिकल शिक्षामा लगानी । किनकी १५० जनासम्म एमबीबीएस बिद्यार्थी भर्ना गर्दा बार्षिक झन्डै ६० करोडको बैधानिक कारोबार गर्न पाउँछ मेडिकल कलेजले ।

अझ, कोठाभरि धन थुपारेका सम्भ्रान्त परिवारका छोराछोरीको नामको अगाडि डाक्टर झुन्ड्याउने सपना केही खोका बुझाएपछि पूरा हुने भैहाल्यो । अनि ५ बर्षको रकम एकैचोटि असुल्न पाउने भएपछि ब्याजको मात्रै हिसाब गर्दा पनि दोब्बर हुने भो । तेस्रो कुरा, कालो धनलाई सेतो बनाउँदै सम्मानित सामाजिक तक्मा लगाउन मेडिकल कलेजमा लगानी गर्नेहरुको तँछाड मछाड छ । नाम, इज्जत र धनको चिनी घोलेर चास्नी खान मेडिकलमा जस्तो अरु पेशामा कहाँ सम्भव छ र ?

के छ नेपालको मेडिकल चित्र ?

नेपालका शहर गाउँमा हामी तीनवटा व्यापारका अखडाहरु छ्याप्छ्याप्ती पाउँछौं । प्राइभेट मेडिकल या हस्पिटल, प्राइभेट रक्सी केन्द्र र प्राइभेट स्कुल कलेजहरु । यस्तो बनाइयो कि प्राइभेट रक्सी भट्टी, प्राइभेट स्कुल-कलेज र प्राइभेट मेडिकल या हस्पिटलले नै नेपाली सभ्यताको संरक्षण गरिरहेको छ । अथवा यी नै आधुनिक नेपालका सौन्दर्यका अवयवहरु हुन् । झण्डै वार्षिक २५ सय विध्यार्थी उत्पादन गर्न नेपालमा अहिले १८ वटा मेडिकल कलेजहरु, ३ वटा मेडिकल प्रतिष्ठानहरु छन् । ती मध्ये आधाभन्दा बढी काठमाडौंमा नै छन् ।  अहिले पाँचवटा मेडिकललाई सम्बन्धन दिने हो भने अझ बढ्नेवाला छ ।

असाध्यै बिरामीको घनत्व हुने सरकारी शिक्षण अस्पताल महाराजगञ्जमा ६० जनाको मात्रै एमबीबीएस कोटा छ । तर, पैसा असुल्न बनेका सबै प्राइभेट मेडिकलमा १५० भन्दा बढी कोटा दिइएको छ । जबकि कतिपय मेडिकल कलेजहरु नमस्ते गरी गरी बिरामी ल्याउनुपर्ने हालतमा छन् । सजिलोका कारण नयाँ खोल्न आँटेका सबै मेडिकल कलेजहरु काठमाडौं नै ताकिरहेका छन् । राज्यसँग नेपाललाई अहिले कति वटा, कहाँ र कस्तो मेडिकल कलेज चाहिने हो, केही थाहा छैन । र, आगामी १०, २० र ५० बर्षका लागि कति जनशक्ति र संस्था चाहिने हो, कुनै गुरुयोजना पनि छैन । अर्कोतर्फ नेपालको आफ्नै मौलिक उपचार विधि भएको आयुर्वेद, होमियोपेथिक मेडिकल बिज्ञान त राज्यको छिछि र दुरदुरको बिषय बनेको छ । बाढीले बगाएको बालक जस्तो भगवान भरोसामा छ नेपालको मेडिकल नीति ।

को हुन् शैक्षिक माफिया ?

मुलतः आफ्नो अख्तियारको लुकिछिपी दुरुपयोग गर्ने र कालोधन्दाबाट सम्पत्ति आर्जन गर्नेहरु माफिया हुन् । माफियाको निम्ति शक्ति र सम्पत्ति भन्दा तेस्रो सत्य केही छैन । शक्ति र सम्पत्तिका लागि मानवीयतामाथि कबड्डी खेल्न होस् या मान्छे हत्याको जुवा खेल्न होस्, माफियाहरु हाँसीहाँसी सक्छन् । नैतिकता, सामाजिक उत्तरदायित्व र मूल्य मान्यताको माफियाहरुलाई बाल मतलब !

नेपालमा मुलतः चार प्रकारका शैक्षिक माफियाहरु छन् ।

राजनैतिक शैक्षिक माफिया

राजनीति गर्नेहरुको मुख्य दुई कर्म छ, एउटा जनताको हित र अर्को समाजको बिकास । यो भन्दा बाहेक अरु मुख्य पेशा बनाउनेका निम्ति राजनीतिमा ‘नो इन्ट्री’ हुनुपर्थ्यो । तर, बिडम्बना ! पार्टी र राजनीतिको आवरणमा दलाली, भ्रष्टाचार र कमिशनधारी माफियाहरुको आतंक ‘स्वाइन फ्लू’ भन्दा कम छैन ।

अझ निर्वाचनमा शिक्षा, स्वास्थ्य र सार्बजनिक यातायात जस्ता जनताको आधारभुत आवश्यकता पूरा गर्ने गायत्री मन्त्र जपेर आएका मुखौटे नेताहरु लुकिलुकी नाफाखोर ब्यापारी बनिरहेका छन् । त्यसमा पनि स्वास्थ्य र स्वास्थ्य शिक्षा जस्तो अति संवेदनशील क्षेत्रलाई व्यापार र माफियाकरणको ‘रग्बी खेल मैदान’ बनाउन ठूला साना पार्टीका ठूलासाना नेताहरु नै लागिपर्नु राजनैतिक शैक्षिक माफियाकरणको सबैभन्दा भद्दा अवतार हो ।

त्यसकारण, राजनीति मूल पेशा बनाउनेले जनतालाई निःशुल्क स्वास्थ्य शिक्षा र जनताका छोराछोरीलाई निःशुल्क मेडिकल शिक्षा दिलाउन मेहनत गर्नुपर्नेमा जनताबाट असुलेर आफ्नो ढुकुटी भरेर कुबेर बन्नतिर लाग्छन् भने ती कांग्रेस, एमाले या माओवादी जो कोही भए पनि शैक्षिक माफिया नै हुन् ।

पदधारी शैक्षिक माफिया

मन्त्री, सचिव, विश्वविद्यालयका पदाधिकारी, मेडिकल काउन्सिल जस्ता अख्तियार प्राप्त पदधारी भएर पनि मेडिकल माफियाको रंगमञ्चमा अभिनय गर्नेहरु ‘पदधारी माफिया’मा पर्छन् । आफ्नो ‘आइडेन्टिटी कार्ड’मा ठूलो अक्षरले राष्ट्रसेवक लेखेका यी पदधारीहरु दिनभरि मेडिकल शिक्षालाई ब्यापारीकरण र माफियाकरण गराउने बैधानिक नेपाली कागजको मुचुल्का उठाउने काम गर्छन् र रातिराति मेडिकल कलेजको मालिकको स्वरुपमा स्टार होटलमा प्रकट हुन्छन् ।

कालाधने शैक्षिक माफिया

भन्सार छल्ने, कर छल्ने, राज्यले प्रतिबन्ध लगाएको काम गर्ने, हतियार, फिरौती, अपहरण, हत्या जस्ता जघन्य अपराधमा संलग्न भएर आर्जन गरेको कालोधनलाई सेतो बनाउन र पाप पखाल्न शिक्षामा लगानी गर्नेहरु कालाधने माफियाको बाकसभित्र पर्छन् । राजनीति र कर्मचारीतन्त्रसँगको मिलेमतोमा ‘काले काले मिलेर खाउँ भाले’ गरिरहेका छन् यी कालाधने माफियाहरुले ।

विदेशी शैक्षिक माफिया

नेपालको समग्र शिक्षा र मेडिकल शिक्षामा विदेशीहरुको गिद्धेनजर पनि कम्ति परेको छैन । उनीहरुको प्रत्यक्ष र परोक्ष लगानी छर्लङ्गै छ मेडिकल शिक्षामा । कैयौं मेडिकल कलेजका मालिक त विदेशी भाषा अझ त्यसमा पनि हिन्दी बोल्ने नेपाली होइन, हिन्दी बोल्ने हिन्दुस्तानी मात्रै छन् । त्यहाँ भित्र छिर्‍यो भने नेपालको मेडिकल कलेज हो कि हिन्दूस्तानको, छुट्याउन ‘ओरिजिनल हाँस’ चाहिएला ।

को र के हुन् डा. गोबिन्द केसी ?

बिषयको चर्चामा ब्यक्तिहरुको आन्द्राभुँडी केलाउनु उपयुक्त हुन्न । तर, केही ब्यक्तिहरु यस्ता पनि हुन्छन्, जो बिषयको विम्व बनेर आउँछन् । अहिले डा. गोविन्द केसी मेडिकल माफियाहरुको बिरुद्ध सतिसालको विम्व बनेर आएका छन् । डा. केसीलाई पागल भनेर आफ्नो माफिया आवरण ‘दुलही घुम्टो’ले छेक्न चारै प्रकारका माफियाहरु लागेका छन् ।

अलिअलि ‘एमाओवादी हिङ’ पनि गोविन्द केसीको निष्ठा भुत्ते पार्न लाग्या छ भन्ने बजार हल्ला छ । यत्रो जनसरोकारको बिषयमा एमाओवादी मौनताले बजार हल्लालाई पुष्टि नगरोस् । यो पंक्तिकार एमाओवादी भएकोले शुभेच्छा प्रकट गर्छ । तर, कांग्रेस अझ एमाले त संस्थागत हिसाबले नै लागेका छन् डा. केसीलाई या त आर्यघाट या त पाटन अस्पतालमा ‘पागल शैया’मा भर्ना गराउन ।

‘धादिङ्गे डन चरी’का गुरु राजेन्द्र पाण्डेले त हाकाहाकी भनिसके डा. केसी पागल हुन् । अब, त्यत्रो चुनाव जितेका समाजवादी पार्टी एमालेका नेताको ‘गिदी टेष्ट’ गर्ने कसको आँट ? राजेन्ऽ पाण्डे मात्रै यो कुबाटोमा छन् या सिङ्गो एमालेले आड भर दिएको छ त्यो एमालेको कुरा हो । तर, स्वास्थ्य जस्तो संवेदनशील बिषय बजारको बेलगाम घोडालाई जिम्मा दिएर समाजवादको सुगा रटान रट्नु चाहिँ एमालेको नवमण्डले प्रवृत्ति नै हो ।

जे होस्, डा. केसी सरकारी अस्पतालमा मात्र सेवा गर्ने एक इमान्दार चिकित्सक हुन् र मेडिकल माफियाका बिरुद्ध जेहाद छेड्ने अभियन्ता । उनको यति परिचय नै काफी छ ।

के हो उपाय ?

जनताको ‘स्वास्थ्य अधिकार’ र जनताका छोराछोरीको ‘स्वास्थ्य शिक्षाको अधिकार’ कुनै नेताको निगाह या माफिया महाजनको तथास्तुको बिषय होइन जनताको नैसर्गिक अधिकार हो । त्यसकारण स्वास्थ्य र स्वास्थ्य शिक्षाको ब्यवस्थापनको सम्पूर्ण जिम्मा राज्यले लिनुपर्छ ।

दोश्रो कुरा, मापदण्ड र गुणस्तर उल्लंघन गर्ने संस्थाहरुलाई निर्मम दण्ड गर्नुपर्छ । किनकी एउटा मेडिकल कलेजको उपचार र शिक्षासँग लाखौं जनताको जीवन जोडिएको छ ।

तेस्रो कुरा, राजनैतिक नेता, सार्बजनिक पदधारीहरु, कालोधनेहरु रबिदेशीहरुको मेडिकल लगानीलाई पूर्ण निषेध गर्नुपर्छ । मेडिकल क्षेत्र माफियाहरुको निम्ति ‘रेस्ट्रीक्टेड एरिया’ बनाईनुपर्छ ।

चौथो कुरा, च्याउसरी खोलिएका मेडिकल कलेजहरुको बन्ध्याकरण गरिनुपर्छ । मापदण्ड र गुणस्तरबिहीनताको अन्त्य गरिनुपर्छ । विभिन्न जनघनत्व र प्राकृतिक अनुकुलताका क्षेत्रलाई ‘मेडिकल जोन’ बनाई मेडिकल कलेजहरु देशैभर बिस्तार गरिनुपर्छ ।

पाचौं कुरा, ज्वरो र सिटामोल खान र खानुपर्छ भनेर सिक्न काठमाडौं नै आउनुपर्छ भन्ने स्वास्थ्य र स्वास्थ्य शिक्षाको विकल्पहीन केन्द्रको केन्द्रीकृत मान्यता भत्काउनुपर्छ । आवश्यकता अनुसार देशैभर स्वास्थ्य संस्था र स्वास्थ्य शिक्षाको बिस्तार गर्नुपर्छ ।

छैठौं कुरा, मेडिकल शिक्षा पढ्न इच्छुक र प्रतिभावान बिध्यार्थीलाई राज्यले बिना धितो शैक्षिक कर्जाको ब्यवस्था गर्नुपर्छ ।

सातौं कुरा, तत्कालै एकमुष्ट विद्यार्थीबाट रकम असुल्ने ब्यवस्थालाई किस्ताबन्दीमा र मेरिट सिस्टमबाट मात्रै मेडिकल शिक्षामा प्रवेशको प्रावधान राखिनुपर्छ ।

बिट मार्दामार्दै

चिन्ताको कुरो, नेपालमा जनसरोकार र जनजिविकाका अहं मुद्दाहरु पार्टी, नागरिक समाज, पत्रकार, बुद्धिजिवी या सरोकारवाला कसैको पनि प्राथमिकताको बिषय पर्दैन । चर्खा चलाएर गान्धी गान्धी भए, रोटीको नाराले लेनिन-लेनिन भए । तर यहाँ गान्धी र लेनिनका अनुयायी घोषणा गर्नेहरुलाई जनताको चुल्हो, छानो र ज्यानको फिक्री नै छैन । डा. केसी र मेडिकल माफियाको संघर्ष भारत-पाकिस्तानको क्रिकेट जस्तो मनोरञ्जनको बिषय बनाइएको छ ।

डा. केसी एक्लै लडिरहेका छन्, इमान्दारको खडेरीमा बिज बनेर । निष्ठाको महामारीमा औषधि बनेर । काँतरहरुको बिगबिगीमा शाहस बनेर । हामी सबैले हातेमालो गर्ने कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment