Comments Add Comment

प्रधानमन्त्रीको कार्यालयबाट सूचना चुहिएको बामदेवको आरोप

susil-koirala-and-bamdev-gautam

१३ चैत, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतमले प्रधानमन्त्रीकै कार्यालयबाट सरकारका गोप्य सूचना चुहिएको आरोप लगाएका छन् ।

मन्त्रिपरिषदको शुक्रबारको बैठकमा गौतमले अध्यागमन बिभाग र भिसा प्रणालीलाई अत्याधुनिक गर्ने सम्बन्धी फाइल अघि नबढ्दै प्रधानमन्त्रीकै कार्यालयबाट मिडियामा गलत ढंगले प्रवाह गरिएको आरोप लगाए ।

स्रोतका अनुसार बैठकमा प्रधानमन्त्रीले अनलाइन भिसा प्रोसेसिङ प्रणाली विदेशी कम्पनीलाई दिने सम्बन्धी विषय मिडियामा विवादित बनेका कारण तत्काल रोक्ने आशयको प्रस्ताव राखेका थिए ।

तर, गृहमन्त्री गौतमले भावनात्मक कुरा गरेरमात्र नहुने बताए । ‘सरकारले गर्न लागेको कामको सूचना तपाईकै कार्यालयबाट गलत नियतबाट बाहिर चुहाइएको छ’-गौतमको भनाइ उधृत गर्दै एक मन्त्रीले भने । गौतमे विदेशी कम्पनीबाट प्राविधिक सहयोग लिने काम पहिले पनि भएको भन्दै कतिपय मिडियाले विगतमा एमआरपीको पनि बिरोध गरेको स्मरण गराएका थिए ।

बैठकमा अर्थमन्त्री रामशरण महत र सञ्चारमन्त्री मिनेन्द्र रिजालले केही मिडियाले टिप्पणी गरेकै भरमा काम रोक्न नमिल्ने भन्दै यसमा पर्याप्त छलफल गर्न सकिने बताएका थिए ।

त्यसपछि बैठकले हाल बिधेयक समितिमा रहेको अध्यागमन सम्बन्धी प्रस्तावमा समितिमा नरहेका मन्त्रीहरुले पनि चाहेको खण्डमा छलफलका लागि सहभागी हुन सक्ने निर्णय गरेको छ ।

बैठकमा प्रधानमन्त्री कार्यालयबाट सूचना कसरी चुहियो भन्ने प्रश्न केही मन्त्रीले उठाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment