Comments Add Comment

संवादले धानेको ‘षडङ्ग’

nepali-movie-sadanga
नेपाली चलचित्रमा ग्याङस्टारको कथा पर्दामा नउतारिएको होइन । तर, यो बिषयका चलचित्रले असफलताको नमिठो स्वाद चाखेका छन् । यही कारणले पनि नेपाली बजारमा ग्याङस्टारको कथा रुचाइएको पाइदैन ।

यो बर्ष प्रदर्शनमा आएको ‘मुखौटा’ र ‘ताण्डव’को असफलताले यो कुरा देखाइपनि सकेको छ । यही भिडमा शुक्रबारबाट चलचित्र ‘षडङ्ग’ यस्तै बिषयवस्तुमा निर्माण भएको छ ।

कथा के छ ?
‘षडङ्ग’ राजनीति, डन र चलचित्रकी नायिका विचको सम्बन्धको कथा हो । व्यवसायी विजय लामा(राजा)को लागि काम गर्ने सौगात मल्ल(कालु)को वरिपरी चलचित्र घुमेको छ । समाजमा उनीहरुले गर्ने विभिन्न खालका हर्कत, चन्दा असुलीको साथमा जोडिएको राजनीतिक सम्बन्धमा चलचित्र अगाडि बढ्छ ।

विवाहित राजाकी प्रेमिका बनेकी प्रियंका कार्की(सलिना)नै चलचित्रकी मुख्य पात्र बनेकी छिन् । प्रेमका लागि आफ्नो मित्रतासँगै नै जोखिम मोल्ने सौरमराज तुलाधर(विक्रम)का कारण चलचित्रमा थुप्रै उत्तारचढाव देखाइको छ । अन्तिममा एउटा यूवतीकै कारणले चर्चित डनदेखि व्यवसायीको खोल ओडेको डन राजाको जिवनमा समेत आएको उथलपुथललाई देखाउँदै चलचित्र सकिएको छ ।

सबल पक्ष
चलचित्रलाई नेपालमा बन्दै आएका ग्याङस्टार चलचित्रको कोटीमा केही माथि राख्न सकिन्छ । कारण, चलचित्रमा प्रयोग गरिएका संवाद सबल छन् । एउटै दृश्य लामो भएपनि संवादले दर्शकलाई हलचल गर्न दिदैन ।

चलचित्रको लेखक समेत रहेका निर्देशक सुरज सुनुवारले संवादलाई महत्वपूर्ण स्थान दिएका छन् चलचित्रमा । जसका कारण पनि दर्शकलाई चलचित्रमा प्रयोग गरिएका संवादले खुबै मनोरञ्जन दिन्छ । देशको राजनीतिक अवस्थाले जन्माएको डन प्रवृत्ती, भ्रष्टचारी नेता र प्रहरीका कारण बिग्रिएको बातावरण चलचित्रका सबल पक्ष हुन् ।

कमजोर पक्ष
चलचित्र भित्र थुप्रै कमजोरी छन् । चलचित्रलाई एउटा बन्द कोठाभित्र खिचिएको नाटक भन्दा पनि फरक पर्दैन । कारण, यसका दृश्य अत्याधिक लामा छन् । चलचित्रको कथावस्तु अगाडि बढ्नै सक्दैन । पात्रको विकास नभई चलचित्र एउटा गतीमा अगाडि बढ्दैन । जुन चलचित्र ‘षडङ्ग’ मुख्य कमजोरी हो ।

चलचित्रको कथा र पटकथामा देखिएको कमजोरीले  यसलाई नाटकिय शैलीमा अगाडि बढाएको हो । थुप्रै पात्रलाई २ घन्टामा समेटेर उनीहरुलाई भूमिका अनुसार स्थापित गर्नु आफैमा चुनौती हो, जुन चुनौतीलाई सामाना गर्न निर्देशक चुकेका छन् । लक्ष्य बिहिन यात्रामा दौडिएको ‘षडङ्ग’ लामा दृश्यमा अल्भिmएर सकिएको छ ।

गीतसंगीतका हिसाबले पनि चलचित्र कमजोर बनेको छ । नायिका हषिर्का श्रेष्ठलाई एउटा गीतमा फिचरिङ गरिएपनि त्यसले चलचित्रको बहावलाई झनै रोकिदिन्छ ।

कलाकारको अभिनय
‘षडङ्ग’ हेर्नुपर्ने एउटा कारण यसका कलाकारको अभिनय पनि हो । कलाकार सौगात मल्ललाई सलाम गर्नैपर्छ । उनले आफूले पाएको पात्र भित्र घुसेर यसरी अभिनय गरेका छन् कि, उनी पर्दाबाट हट्ने वित्तिकै दर्शकलाई अल्छी लाग्छ ।

नायिका पि्रयंका कार्कीले पनि आफूले पाएको भूमिकालाई न्याय गरेकी छिन् । विजय लामा, सौरमराज तुलाधर, अनुप बराल पनि पात्र अनुसार खुलेका छन् ।

चलचित्रको एउटा सबल पक्षमा निर्देशकले कलाकारलाई निचोरेर निकालेको अभिनय पनि हो । कलाकार ए गुरुङ र नविन महर्जनलाई पनि विर्सन मिल्दैन । ‘भालु’ डन बनेका नविन गुरुङ र डन बन्ने सोचमा लागेका ए गुरुङको भूमिकाले दर्शकलाई खुलेरै मनोरञ्जन दिएको छ ।

समग्रमा
‘षडङ्ग’ एउटा कथा र पटकथाको अभाव भएको चलचित्र हो । तर, यती भन्दैमा चलचित्रलाई नराम्रो भन्न मिल्दैन । कथावस्तु र पटकथामा कमजोर भएपनि कलाकारको अभिनय र संवाद उत्कृष्ट छ । जसले गर्दा दर्शकलाई लामा-लामा दृश्यमा पनि बोर लाग्दैन । यसअघि बनेका नेपाली ग्याङस्टार चलचित्र भन्दा ‘षडङ्ग’ माथि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment