Comments Add Comment

संकटमा पर्दैछ पोखराको प्याराग्लाइडिङ

Pokhara paraglaiding (1)
सन्देश श्रेष्ठ
२६ चैत, पोखरा । पर्यटकीय नगरी पोखराको आकाशमा चराजस्तै उड्ने प्याराग्लाइडिङ संकटमा पर्ने भएको छ । पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएपछि प्याराग्लाइडिङ संकटमा पर्ने भएको हो ।

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रकृया सुरु भएसँगै व्यवसायीक वृत्तमा प्याराग्लाइडिङ बन्द हुने चर्चा बढेको छ । आकाशमा प्याराग्लाइडिङ उडाउँदा ठूला जहाजहरु उडान अवतरणमा समस्या उत्पन्न हुने नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोत बताउँछ ।

पोखराको पर्यटनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने साहसिक खेलहरु अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै समाप्त हुने स्रोतको दाबी छ । प्राधिकरणले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न नचाहे पनि स्थानिय व्यवसायी, नागरिक र नेताहरुको दाबबपछि प्रकृया अगाडि बढाइएको हो ।

प्याराग्लाइडिङ बन्द हुने चर्चा चलेपछि यसमा आबद्ध व्यवसायीहरुले अन्य क्षेत्रमा उडान अनुमति दिनुपर्ने माग गर्न थालेका छन् । प्याराग्लाइडिङ कम्पनीहरुको छाता संस्था हवाई खेलकुद संस्था ‘ना’का उपाध्यक्ष सोविन बानियाले सराङकोट र तोरोपनीबाट प्याराग्लाइडिङ उडाउन प्रतिबन्ध लगाएमा विकल्प दिनुपर्ने बताउँछन् ।

सरकारले विकल्प नदिई प्याराग्लाइडिङ बन्द गरेमा ठूलो लगानी डुब्ने बताउँदै उपाध्यक्ष बानियाले यसबाट जटिल समस्या उत्पन्न हुने चेतावनी दिए । सरकारले प्याराग्लाइडिङको राम्रो अनुगमन तथा दर्ता जथाभावी दिँदा दुर्घटनासमेत बढ्दै गइरहेको उनको भनाई छ ।

पोखरा विमानस्थल कार्यालयका प्रमुख दीपक बरालले छिट्टै पोखराका प्याराग्लाइडिङहरुको अनुगमन गर्ने बताए । उनले प्याराग्लाइडिङ खेललाई व्यवस्थित बनाउन आफुहरु लागिपर्ने दाबी गरेका छन् । दुर्घटना लुकाउने कम्पनीलाई कारवाही गर्ने उनको चेतावनी छ ।

अहिले पोखरामा ३५ प्याराग्लाइडिङ कम्पनी रहेका छन् । पछिल्लो ४ महिनामा १५ वटा कम्पनी थपिएका छन् । प्रत्येक कम्पनीले ५० लाखदेखि २ करोडसम्म लगानी गर्ने गरेको बताउँदै बानियाले हालसम्म प्याराग्लाइडिङमा एक अर्बको हाराहारीमा लगानी पुगेको बताउँछन् ।

साहसिक खेलको रुपमा परिचित प्याराग्लाइडिङ दैनिक तीन सय ५० पर्यटक उड्ने गरेका छन् । दैनिक साढे तीन सय पर्यटक उड्ने प्याराग्लाइडिङमा पाइलटको भने सधै अभाव हुने गरेको छ ।

पोखराका कुल ११० जना पाइलटमध्ये ५० जना विदेशी र ६० जना नेपाली रहेको उपाध्यक्ष बानियाले जानकारी दिए । एक पाइलटले दैनिक ३ फ्लाइट मात्र गर्न पाउँछ भने एउटा कम्पनीले ६ जनासम्म पाइलट राख्न सक्छन् ।

नेपाल सरकारले लाइसेन्सको मान्यता हालसम्म नदिएपनि आफूहरुले ‘ना’ को तर्फबाट छुट्टै लाईसेन्स दिँदै आएको बानियाले बताए । उनका अनुसार यस वर्ष ४० जना पाइलट उत्पादन भएका छन् ।

नेपालीलाई लाइसेन्स नदिएका कारण आफुहरुले हाललाई लाइसेन्स प्रकृया स्थगीत गरेको समेत बानियाले बताए । अन्तराष्ट्रिय संस्था एफएआईको मान्यता प्राप्त ‘ना’ले प्याराग्लाइडिङका पाइलटहरुलाई लाइसेन्स दिने गरेको उनले प्रष्ट्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment