Comments Add Comment

७ घन्टा बालाजु र गोंगबुमा उद्दारको साक्षी बन्दा जे देखियो…

balaju-earth-quake-3

-विजय आवाज

भूकम्प आएको दिनदेखि आकाशमुनि बस्दा अनिदो आँखा र काँपेको मुटुले काठमाण्डौ र देश नै नियालिरहेको थियो ।

भूकम्पका समाचार अनलाइनमा पढ्न र रेडियोमा सुन्न बाहेक अन्य उपाय थिएन मसँग । काठमाण्डौको धरहरा पल्टिएको समाचार पढेपछि चिसिएको मेरो मन आज बिहानसम्म आइपुग्दा झनै दुखेको थियो ।

सधैजसो चलचित्रका समाचारमा दौडने म आज गोंगबु र बालाजुको क्षतिग्रस्त अवस्थाको बारेमा वुझ्न पुगेको थिएँ । अनामनगर, बाँनेश्वरको सामान्य क्षति देखेका आँखाहरु बालाजु पुग्दा कायल भैसकेका थिए । ३ वटा गेष्ट हाउस भग्नावशेषमा परिणत भएका रहेछन्, बालाजुमा ।

लुम्बिनी गेष्ट हाउसमा पुरिएका मानिसहरुको खोजी गर्दै थिए, नेपाल प्रहरी र नेपाली सेना । कसैको आफन्त, कसैको दाई त कसैको साथी, भग्नावशेष भित्र पुरिएका थिए । मानिसहरुको आँखामा चिन्ता, भय देखियो । ३ वटा गेष्ट हाउसमध्ये लुम्बिनी सर्वाधिक प्रभावित थियो । लुम्बिनी गेष्ट हाउसमा कति मानिस पुरिएका थिए, यकिन थिएन । बेलुकीसम्म एक महिलाको जिवित उद्धार गरिएको खबरले मनलाई केही शान्ति मिलेको छ । लुम्बिनी गेष्ट हाउसबाट १३ जनाको शब निकालिसकिएको एक स्थानियले बताए ।

balaju earth quake (1)

माछा पोखरीको छेउमै रहेको ५ तले घर पूर्ण रुपमा क्षतिग्रस्त भएको खबर एक स्थानियले बताएपछि म र मेरा फोटोग्राफर कविन अधिकारी त्यता लाग्यौ । भग्नावशेष भएको घरमा जे देखियो, त्यो अत्याधिक दुखद र कहालिलाग्दो थियो । त्यो घरमा ५० जना जति मानिस बसेको स्थानियले बताए । करिब ७ जनाको शव निकालिएको र केहीलाई उद्धार गरिएको रहेछ । घर भित्र अन्य केही मानिसहरु फसेकोले नेपाल प्रहरी र सेनाले खोजी गरिरहेको थियो ।

त्यहाँ देखिएको अर्को दृश्यले केही सन्तोष मिल्यो । स्थानियहरु २ लाइन बनाएर भत्किएको घरको भग्नावशेषबाट ढुङ्गा र इट्टा निकालिरहेका थिए । यस्तो एकता सबैतिर देखिए, घर भित्र फसेकाहरुले राहत नपाएर ज्यान गुमाउने थिएनन् होलान् ।

बालाजुपछि गोंगबु पुग्दा, त्यहाँको अवस्था झनै विकराल थियो । त्यहाँ पुगेपछि मलाई अनुभुती भयो, यो देशमा सरकार नै छैन । भत्किएका ४ वटा लज भित्र मानिसको उद्धार गर्ने काम भैरहेको थियो । नेपाल प्रहरी, चाइनाको रेस्क्यू टोली, भारतको रेस्क्यू टोली र टर्कीको रेस्क्यू टोली उद्धारमा खटिएको थियो ।

बाटोका दुई साइडमा डोजर र रेस्क्यू टोली भवन हटाउँदै भित्र रहेका मानिसलाई जिवितै उद्धार गर्ने काममा लागिपरेका थिए । एक गेष्ट हाउसबाट भारतीय रेस्क्यू टोलीले एक पुरुषको शव निकाल्यो । त्यसकै नजिक चाइनिज टोली घर भित्र रहेका एक पुरुषलाई जिवितै उद्धार गर्ने कोशिशमा थियो । बिहानैदेखि सुरु भएको यो काम दिनभर चालु रह्यो ।

स्थानियका अनुसार ती पुरुष लजमा काम गर्थे । उनले भित्र अन्य मानिस पनि जिवितै रहेको जानकारी गराएछन् । यसपछि, उनको उद्धार र अरुलाई पनि सकुशल राख्नु पर्ने चुनौती रेस्क्यू टोलीमा देखियो ।

बेलुकी ६ बजेसम्म पनि उनलाई भत्किएको घरबाट बाहिर ल्याउन सकिएको थिएन । वरिपरी त्यो दृश्य हेर्नेको रमिता मात्र देखियो, सहयोगी मन अगाडि बढेनन् । संचारमाध्यममा काम गरेपछि, यस्तो समयमा आक्रोश पनि सहनु पर्छ । मिडियाको आवश्यकता परेन भन्दै घरमा पुरिएकाहरुका आफन्तहरु हामीसँग झगडा गर्दै थिए । पेशाको धर्म आफूले पनि वुझ्नु र उनीहरुलाई पनि वुझाउनु आवश्यक थियो ।

स्थानियको आक्रोश सरकारप्रति खुबै देखियो । नेता र मन्त्रीलाई त्यो क्षेत्रमा प्रवेश नै नदिने भन्दै थिए, केही स्थानिय । भूकम्पले सवैभन्दा क्षति पुर्‍याएको रिङरोड क्षेत्रमा कुनै पनि नेता र मन्त्री नपुगेको, राहतको नाममा एक थोपा पानी पनि नदिएको आक्रोश उनीहरुमा देखियो ।

balaju earth quake (10)

हामी सहयोग भन्दा फाइदा लुट्छौ भन्ने पनि त्यहाँ देखियो । १५ रुपैयाँ पर्ने चाउचाउ र २० रुपैयाँ पर्ने पानीलाई डेढ सयसम्म लिएर कालोबजारी गरिरहेका छन् व्यापारी । साच्चै हामी मन नभएका नेपाली नै हौं की भन्ने महुशश यस्ता खालका व्यवहारले गराउँछ ।

योगेश नाम गरेका एक लज व्यवसायीले भने-‘हिजोसम्म म करोडपति थिएँ । आज रोडपति भए । मसँग चाउचाउ किनेर खाने पैसा पनि छैन ।’ बालाजु बसपार्कमा बसेका जनतालाई सरकारले न त पानी दिन सकेको छ, न त आकाशमुनि सुत्नका लागि एउटा पाल नै ।

सुरक्षा निकाय घाम र पानी नभनी काम गरिरहेका थिए । विदेशबाट आएको रेस्क्यू टोलीले नेपालीको दुःखमा मल्हम लगाउँदै थियो । बेलुकी करिब साढे ६ बजेसम्म पनि रेस्क्यू टोलीले घरभित्र रहेका मानिसलाई बाहिर ल्याउन नसकेपछि म निराश थकित जीउ लिएर कार्यालय फर्किएँ ।

कार्यालय छिर्नासाथ टेलिभिजनमा गृहमन्त्री बामदेव गौतम सरकारले राहत सबै ठाउँमा पुर्‍याएको र सुरक्षाको अनुभुति गराएको भन्दै थिए । दिनभर बालाजु र गोंगबु क्षेत्रमा राज्यबिहीनताको जे दृष्य देखेर फर्किएँ, त्यसले गृहमन्त्री ज्यूको भनाइप्रति कुरीकुरी गर्न मन लाग्यो ।

balaju earth quake (14) balaju earth quake (9) balaju earth quake (5) balaju earth quake (4) balaju earth quake (2)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment