+
+
Shares

‘कर्णप्रसाद हेजू’ बन्ने चिन्ताले सभासद डराए

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख १७ गते १९:२४

१७, वैशाख, काठमाडौं । राहत नपाएको भन्दै भूकम्प पीडितमा आक्रोश देखिन थालेपछि सभासदहरुलाई चाहिँ आफ्नै ज्यानको चिन्ताले सताउन थालेको छ ।

Baneshwor Todfod (2)

तीन दिनअघि सिंहदरबारमा आफ्ना सहकर्मीसँग एमाले सभासद गंगालाल तुलाधरले मुखै फोरेर भने-‘यस्तै हो भने अब हामीलाई भूकम्प पीडितले कर्णप्रसाद हेजू बनाउँछन्, जनतामा आक्रोश देखिन थालिसक्यो ।’

को हुन् कर्णप्रसाद हेजू ?

कर्णप्रसाद हेजू ०४३ सालमा भक्तपुरबाट निर्वाचित राष्ट्रिय पञ्चायत सदस्य -सांसद) थिए । ०४५ साल भदौ ५ गते भूइँचालो आएपछि उनी त्यसको तीन दिनपछि जनप्रतिनिधिको हैसियतबाट राहत बाँड्न भक्तपुरको सुकुलढोका पुगेका थिए । तर, उनी त्यहीँ स्थानीयबाट पिटिए र घटनास्थलमै मारिए ।

हेजूले राहत वितरणमा ढिलाइ गरेको, आफ्ना मान्छेलाई मात्रै बाँडेको र पक्षपात गरेको स्थानीयवासीले आरोप लगाएका थिए । त्यसपछि उनलाई भीडले छाताले घोचेर, ब्लेडले चिरेर र लाठीले कुटेर दिनदहाडै मारेको थियो । आक्रोशित स्थानीयवासीका अगाडि प्रहरीले समेत सांसदलाई जोगाउन सकेन ।

भक्तपुरको यो घटनाको दोष त्यसबेलाको पञ्चायती सरकारले नेपाल मजदुर किसान पार्टीलाई लगायो । सो पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेसहित सैयौंमाथि ज्यान मुद्दा लाग्यो, दर्जनौ जेलमा परे । ०४६ सालमा प्रजातन्त्र आएपछि मात्रै उनीहरु राजबन्दीका रुपमा रिहा भए ।

हेजूको हत्या भएपछि भक्तपुरदेखि काठमाडौंको रत्नपार्कसम्म उक्त घटनाको विरोधमा विशाल जुलुस निस्किएको थियो । सो जुलुसमा तत्कालीन प्रधानमन्त्री मरिचमान सिंह आफैं उपस्थित भएका थिए ।

तत्कालीन राष्ट्रिय पञ्चायतका सदस्य हेजू पञ्चायतमा प्रवेश गर्नुअघि नेपाल मजदुर किसान पार्टीमा आवद्ध थिए । उनी पार्टी छाडेर निर्दलीय पञ्चायती व्यवस्थामा प्रवेश गरेपछि राष्ट्रिय पञ्चायतमा निर्वाचित भएका थिए ।

०४५ साल दोहोरिने डर

भूकम्प पीडितहरुले राहत नपाउँदा राजनीतिक नेतृत्वप्रतिको आक्रोश ०७२ सालमा पनि कम देखिएको छैन । एमाले सभासद तुलाधरले भनेजस्तै स्थिति छ अहिले पनि ।

अनलाइनखबरको टोली ललितपुरको हरिशिद्धी र खोकनामा निरीक्षणमा जाँदा त्यहाँ दुई दिनसम्म सरकारको उपस्थिति थिएन । पीडितहरुमा आक्रोश थियो, उनीहरु पत्रकारलाई समेत नेता ठानेर प्रश्न गर्थे, ‘तीन दिनसम्म तिमीहरु कहाँ गयौ ? हामीलाई के लिएर आएका छौ ?’

पीडितहरुमा यस्तै आक्रोश बढ्दै गयो भने राजनीतिक नेता, मन्त्री र सभासदहरुको सुरक्षाको प्रश्न गम्भीर बन्न सक्ने संकेत देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?