Comments Add Comment

विश्व खाद्यको चामलमा कनिकै कनिका

१५ जेठ, काठमाडौं । भूकम्पपीडित क्षेत्रमा वितरण गर्न विश्व खाद्य संगठनले पठाएको चामलमा कनिकाको मात्रा अत्यधिक पाइएको छ। खानयोग्य चामलमा २५ प्रतिशत कनिका हुनुपर्ने अन्तर्राष्ट्रिय मापदण्ड भए पनि काभ्रे र गोरखामा वितरित चामलमा ३२ प्रतिशतसम्म कनिका भेटिएको हो।

फाइल तस्वीर
फाइल तस्वीर

ठेकेदारले बदमासी गरेर बढी कनिका मिसाएका कारण समस्या आएको खाद्य कार्यक्रमकी सूचना अधिकारी सकुन गजुरेलले बताइन्। ‘खाने चामलमा २५ प्रतिशत कनिका हुनुपर्ने अन्तर्राष्ट्रिय मापदण्ड छ तर काभ्रेपलान्चोक र गोरखामा बाँडिएको चामलमा ३२ प्रतिशत कनिका भेटिएको छ,’ गजुरेलले भनिन्, ‘ठेकेदारको बदमासीले तोकिएको मापदण्डभन्दा ७ प्रतिशत बढी कनिका मिसिएको चामल सप्लाई भएको देखियो।’ ठेकेदारले उक्त कनिका कुन अवधिको मिसावट गरेको हो वा आफैँ कनिका भएको हो भन्नेबारे विस्तृत अनुसन्धान गर्नुपर्ने उनको भनाइ रहेको नागरिकमा खबर छ।

‘भूकम्पप्रभावित क्षेत्रमा वितरित चामलको नमुना परीक्षण गर्दा अखाद्य पदार्थ देखिएन,’ गजुरीलले दाबी गरिन् ‘तर अन्तर्राष्ट्रिय मापदण्डभन्दा धेरै कनिका मिसिएको छ।’

खाद्य तथा गुण नियन्त्रण विभागले भने विश्व खाद्यको तर्कसँग सहमत हुन नसकिने नतिजा परीक्षणमा पाइएको दाबी गरेको छ। विभागका प्रवक्ता पूर्णचन्द्र अवस्थीले रेडक्रस सोसाइटीद्वारा वितरित चामल खान अयोग्य रहेको नतिजा परीक्षणमा आएको बताए। ‘जुन अवस्थाको चामल वितरण भएको छ, त्यसमा कुनै पनि मात्रा पुगेको देखिँदैन,’ प्रवक्ता अवस्थीले भने, ‘कनिका, बियाँ, पौष्टिक तत्वलगायत अन्य आवश्यक मात्रा नपुगी कसरी गुणस्तरीय छ भन्न सकिन्छ?’

वितरण भएको चामलमा समस्या आएपछि विश्व खाद्य कार्यक्रमले ५ मेटि्रक टन चामल सप्लायर्सलाई फिर्ता गरेको छ। ‘जसले खाद्य कार्यक्रमलाई सप्लाइ गरेको हो, उसैलाई फर्काएर नयाँ चामल आयात गरिएको छ,’ सूचना अधिकारी गजुरेलले भनिन्, ‘जसलाई वितरण गर्न ल्याइएको हो, त्यहाँबाटै असन्तुष्टि आएकाले फिर्ता गरिएको हो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment