Comments Add Comment

भारत र चीनको पैसाले एमालेभित्र भाँडभैलो

Kp-Oli-at-Biratnagar

  • एमाले अध्यक्ष केपी ओली विराटनगरका कार्यकर्तासँग

२१ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार बिराटनगर पुग्दा मोरङका एमाले अध्यक्ष महेश रेग्मी उनको स्वागतमा सहभागी भएनन् । अध्यक्ष बनेपछि पहिलोचोटि मोरङको औपचारिक पार्टी कार्यक्रममा पुगेका ओलीलाई स्वागत गर्ने पङ्तीमा पर्शुराम बस्नेतलगायतको टोलीमात्रै थियो ।

अध्यक्ष ओली बिराटनगरमा मदन भण्डारी फाउण्डेसनले आयोगजना गरेको पूर्वाञ्चल स्तरीय भेलामा सहभागी भए । जबकि सो कार्यक्रममा एमाले मोरङका अध्यक्ष रेग्मी, जीवन घिमिरे लगायतको टोली उपस्थित भएन ।

पार्टी अध्यक्ष सहभागी भएको कार्यक्रममा जिल्ला अध्यक्ष नै सहभागी नहुनुको कारण के हो ? अनलाइनखबरको प्रश्नमा माधव नेपाल पक्षका एक जिल्लास्तरीय नेताले भने- ‘सिंगो नेकपा एमाले नै मदन भण्डारीको विचार बोक्ने पार्टी हो, यसमा फाउन्डेसन किन चाहियो ? नेताका नाममा एनजिओ खोलेर गुट चलाइएकाले हामीले कार्यक्रम बहिस्कार गरेका हौं । सिंगै एमाले मदन भण्डारी फाउन्डेसन हो, यहाँ गुट किन ?’

पुरानै विवाद

एमालेभित्र मदन भण्डारी फाउन्डेसन सुरुदेखि नै विवादमा पर्दै आएको छ । विद्या भण्डारी प्रमुख रहेको मदन भण्डारी फाउन्डेसन केपी ओली पक्षको गुट सञ्चालन गर्ने हतियार बनेको माधव नेपाल पक्षको आरोप छ ।

यही कारणले अघिल्लो साता मदन भण्डारीको जन्म दिन पारेर राजधानीमा आयोजना गरिएको कार्यक्रम बरिष्ठ नेता माधव नेपालले समेत बहिस्कार गरेका थिए ।

ओली पक्षले भने मदन भण्डारी फाउन्डेसनका नाममा देशैभरि कमिटीहरु गठन गर्न थालेको छ । माधव पक्षले यसलाई समानान्तर कमिटी बनाएको र अध्यक्षकै सक्रियतामा गुट चलाएको अर्थमा लिन थालेको छ ।

मोरङ एमालेका एक सदस्यले अनलाइनखबरसँग भने, ‘मदन भण्डारीका नाममा ओली पक्षले जिल्लामा समानान्तर कमिटी बनाएको छ, घनश्याम खतिवडाको अध्यक्षता मोरङमा चुनाव हारेकाहरुले समानान्तर कमिटी बनाएका छन् ।’

विदेशी पैसाको चर्चा

मदन भण्डारी फाउन्डेसनमा यसअघि भारतीय दूतावासबाट ५० करोड रुपैयाँसम्मको प्रोजेक्ट परेको एमाले नेताहरु बताउँछन् ।

पछिल्लोपटक मधेसमा खानेपानी, शिक्षा, स्वास्थ्य आदिमा खर्च गर्न भनेर चीनबाट ठूलो रकम आएको सूत्रहरुको दाबी छ ।

स्रोतका अनुसार दुई महिनाअघि एमाले नेता प्रदीप नेपालसहितको पूर्वसञ्चारमन्त्रीहरुको टोली चीन भ्रमणमा गएको थियो । सो भ्रमणमा संलग्न केही सदस्यले मधेसमा चीनले सहायता नगरेको गुनासो गरेका थिए । त्यसको प्रतिवादमा चिनियाँ अधिकारीहरुले मदन भण्डारी फाउन्डेसन र सुजाता कोइराला नेतृत्वको जीपी फाउन्डेसनमार्फत् आफूहरुले मसेसमा लगानी गरेको खुलासा गरेका थिए ।

तर, चीनले मदन भण्डारी फाउन्डेनलाई कति पैसा दिएको छ भन्ने चाहिँ चिनियाँ अधिकारीहरुले नखुलाएको स्रोत बताउँछ ।

चीन या भारतले विकास निर्माणका लागि एमालेबाट पेश गरिएको प्रोजेक्टका आधारमा पैसा दिएको बताइन्छ । तर, त्यो पैसाको हिसाब पार्टीमा नराखी मदन भण्डारी फाउन्डेनकै नाममा गुटका लागिमात्रै खर्च गरिएको भन्दै एमालेको केन्द्रीय तहसम्म कुरा उठिरहेको स्रोत बताउँछ ।

स्रोतका अनुसार एमाले उपमहासचिव घनश्याम भुसाल र सचिव योगेश भट्टराई लगायतले पार्टीमा नेतापिच्छेका फाउन्डेसन र एनजीओहरु नचलाई पार्टीभित्रैबाट संस्थागत गतिविधि गरिनुपर्ने महाधिवेशनताका माग गरेका थिए ।

अहिले फेरि मदन भण्डारीजस्तो नेतालाई एनजीओको मागीखाने भाँडो बनाइएको र ओलीले यसैबाट गुट चलाएको माधव नेपाल पक्षले आरोप दोहोर्‍याउन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment