Comments Add Comment

म मधेस विरोधी होइन : गच्छदार

१३ साउन, काठमाडौं । मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले आफू मधेस विरोधी नभएको बताएका छन् । साथै उनले प्रदेशहरुको सीमांकनसहितको संविधान जारी हुने दाबी समेत गरेका छन् ।

bijay-gachhadarफोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारले आफूले सत्तामा जान नभई संविधान, स्थायीत्व र विकासको लागि १६ बुँदे सम्झौतामा हस्ताक्षर गरेको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालको ज्ञापन पत्र बुझ्दै गच्छदारले भने-‘विजय गच्छदार मधेसी विरोधी भयो, एजेण्डा छाड्यो भन्नु गलत हो । मेरो शरीरमा मधेस र मधेसीको रगत रगरगमा भरिएको छ । गच्छदार न कहिले मधेसी विरोधी थियो न रहने छ ।’

गच्छदारले सीमांकनसहितकै संविधान जारी हुनेमा ढुक्क हुन सबै पक्षलाई आग्रह गरेका छन् । मधेसको भावना समेटेर संविधान आउने दावी गर्दै उत्तर दक्षिणमात्र नभई जिल्लाहरु टुक्राएर भएपनि प्रदेशको निर्माण गरिने योजना सुनाए ।

संविधानको मस्यौदाको विरोधमा रहेका केही मधेसी दलहरुले वार्ता नै गर्दिनौं भन्नु अनुचित रहेको गच्छदारले बताए । आफूहरु सीमांकन र नामांकनसहित संविधान जारी गर्न लागि परेकोले बार्तामा बसेर समाधान खोज्न आब्हान गरे ।

वार्तामा बसेर समस्या समाधान गर्नुको साटो, वार्ता नै गर्दिन भन्नु यो कत्तिको लोकतान्त्रिक हो ?’ उनले भने-‘मधेसका केही दलहरुले पनि अहिलेको अवस्थामा सीमांकन सहितको संविधान जारी गर्नको लागि बार्तामै बसेर समस्याको समाधान खोज्न लाग्नु पर्छ ।’

गच्छदारले आफ्नो लागि पहिला देशको र त्यसपछि मधेस र मधेसी जनताको एजेण्डा भएको बताए । उनले भने-‘मैले राजनीतिक गर्दा सबैभन्दा पहिला राष्ट्र र जनता बनाउँछु । त्यसपछि मात्रै अरु एजेण्डा प्राथमिकतामा आउँछन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment