Comments Add Comment

प्रधानमन्त्री निवासमा नेविसंघको नाराबाजी

१४ साउन, काठमाडौं । प्रधानमन्त्रीनिवास बालुवाटारमा कांग्रेसको भ्रातृ संगठन नेविसंघका नेता–कार्यकर्ताले बुधबार नाराबाजी गरेका छन् । स्ववियु चुनाव माग गर्दै प्रधानमन्त्री सुशील कोइरालालाई ज्ञापनपत्र बुझाउन गएका विद्यार्थीले भेट्न नपाएपछि नाराबाजी गरेका हुन् ।

nebisanghaशंकरदेव क्याम्पसका स्ववियु सभापति शुभराम बस्नेतको नेतृत्वमा उपत्यकाका क्याम्पसका नेविसंघ इकाइ अध्यक्षहरूको टोली बुधबार बिहान आठ बजेको समय लिएर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन गएको थियो । तर, प्रधानमन्त्रीले भेट्ने समय नदिएपछि नाराबाजी गर्न बाध्य भएको बस्नेतले बताएको नयाँ पत्रिकामा खबर छ ।

बालुवाटारको ३ र २ नम्बर गेटभित्र नेविसंघका करिब ६० जना नेता तथा कार्यकर्ताले नाराबाजी गरेका हुन् । प्रधानमन्त्रीका स्वकीय सचिव अतुल कोइरालाले बिहान आठ बजे बोलाएको, तर भेट्न नदिएको बस्नेतको भनाइ छ । यसअघि पनि पटक–पटक समय दिएर पनि भेट्न नदिएको उनले बताए ।

‘प्रधानमन्त्रीका स्वकीय सचिव अतुल कोइरालाले मंगलबार नै हामीसँग बुधबार बिहान आठ बजेका लागि समय निश्चित भयो, आउनुस् भन्नुभएको थियो । त्यसैअनुरूप हामी पुग्यौँ । तर, समय नपाएपछि प्रधानमन्त्रीनिवास परिसरमै नाराबाजी गर्न बाध्य भयौँ,’ बस्नेतले भने, ‘आज मात्र होइन यसअघि पनि पटक–पटक समय दिने, तर भेट्न पुग्दा समय छैन भन्दै फर्काउने गरिएको थियो । सधैँ यस्तो गरेपछि हामी विरोधमा उत्रन बाध्य भयौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment