Comments Add Comment

अर्बौं ठग्ने युनिटीका सञ्चालक क्षेत्री दाजुभाइ पक्राउ

Bishnu-and-Krishna-khatri

१५ साउन, काठमाडौं । सर्वसाधारणको अर्बौ रुपैयाँ ठगी गरेर फरार भएका युनिटी लाइफ इन्टरनेशनलका सञ्चालक विष्णु खत्री र कृष्ण क्षेत्री पक्राउ परेका छन् ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले युनिटीका प्रवन्ध निर्देशक विष्णु र तालिम निर्देशक कृष्ण क्षेत्री दाजुभाइलाई नेपाल-भारतको सीमा क्षेत्र गड्डा चौकीबाट पक्राउ गरेको हो । विहान साढे ५ बजेतिर लुकिछिपी रहेको अवस्थामा पक्राउ गरेको प्रहरीले बताएको छ ।

पवर्तको आर्थर डाँडाखर्क ३ का ४७ वर्षका कृष्ण र ४२ वर्षका विष्णु दाजुभाइ हुन् ।

फेसबुकमा मरेको नाटक गर्दा फन्दामा परे

असार २३ गते विहानै कृष्ण क्षेत्रीले ललितपुरको भैसेपाटीमा आफ्नो भाइ विष्णुको हत्या भएको भन्दै फेसबुकमा शंकास्पद तस्वीर पोष्ट गरेका थिए । उनले रगत जस्तो केही लागेको सेतो कपडाले शरीर छोपेको र नाकमा कपास राखेको अवस्थामा विष्णु लडिरहेको तस्वीर पनि शेयर गरेका थिए ।

लामो समयदेखि फरार विष्णु मारिएको अल्ला चलेपछि प्रहरीलाई पनि सुरुमा के हो भन्ने पर्‍यो । तर, विहान साढे १० बजेतिर विष्णुकी पत्नी श्रीषाले आफ्नो पतिको हत्या नभएको अनलाइनखबरमा स्पष्टिकरण दिइन् ।

प्रहरीलाई नै चुनौती दिने गरी मृत्युको नाटक गरेपछि अपराध महाशाखा प्रमुख एसएसपी सर्वोन्द्र खनालले प्रहरी निरीक्षक सुदिप पाठकको कमाण्डमा फिल्डमा टोली खटाए ।

साथै यो प्रकरणमा खनालले भारतीय सुरक्षा अधिकारीहरुसँग समेत समन्वय गरेको स्रोतले बताएको छ । मरेको नाटक गरेर प्रहरीलाई चुनौती दिन खोजेका क्षेत्री दाजुभाइ आफैं प्रहरी फन्दामा परेका छन् ।

सरकारले वातावरण बनाए पैसा फिर्ता दिन्छौं

गैरकानुनी रुपमा बैंकिङ, इन्स्योरेन्स लगायतका आर्थिक गतिविधि सञ्चालन गरेर सार्वसाधारणको अर्बौं ठगेको भन्दै सरकारले चार वर्ष अघि कारबाही सुरु गरेको थियो ।

ललितपुर जिल्ला अदालतले १७ चैत २०७० मा ठगीको अभियोगमा तीन वर्ष कैद १ करोड ६ लाख २६ हजार २७६ जरिवानाको फैसला सुनाएको थियो ।

युनिटी ठगी प्रकरणमा अध्यक्ष काशी गुरुङ यसअघि नै पक्राउ परेपनि क्षेत्री दाजुभाइ फारर थिए ।

पक्राउ परेका क्षेत्री दाजुभाइले सरकारले वातावरण बनाए सबैको रकम फिर्ता दिने दाबी गरेका छन् । उनीहरुले भने-‘हामी सबैको रकम फिर्ता दिन तयार नै छौं । त्यही भएर आएका हौं । तर, सरकारले वातावरण बनाउनुपर्छ ।’

नेपालमा विभिन्न सात स्थानमा जग्गा तथा अस्पतालमा लगानी भएको उनीहरुले बयान दिएका छन् ।


के हो युनिटि काण्ड ?

यूनिटी समूहले सरकारी निकायबाट अनुमति नलिइ युनिटी लाइफ इन्स्योरेन्स र सहकारी लगायतका संस्था सञ्चालन गरेर सर्वसाधारणको अर्बौ ठगी गरेको थियो ।

विभिन्न प्रकारका सेवा दिने भन्दै युनिटीले पाँच वर्षमा ३ लाख ६६ हजार ३ सय ३४ सदस्यबाट ३ अर्ब ७९ करोड बढी रकम उठाएको थियो । ०६७ जेठ १८ गते १ सय १२ जनालाई प्रतिवादी बनाइ दायर मुद्दामा १२ अर्ब ७५ करोड बढी बिगो दावी गरिएको थियो ।

युनिटी काण्डका १२ जना अभियुक्तलाई ललितपुर जिल्ला अदालतले तीन वर्ष कैद र अर्ब करोड ६ लाख २६ हजार बिगो बराबरको जरिवाना सुनाएको थियो । तर, सोही काण्डमा अदालतले कालू गुरुङलगायतका १ सय जनालाई सफाइ दिइएको थियो ।

बीमा समितिको अनुमति बीमा बीमासम्बन्धी कुनै पनि कारोबार गर्न पाइदैन भने सहकारी विभागको सहमति नलिइ सहकारी सञ्चालन गर्न पाइँदैन । वित्तीय कारोबारका लागि राष्ट्र बैंकबाट पनि इजाजत लिनु पर्छ । तर, युनिटीले राज्यका कुनै पनि निकायमा दर्ता नभइ बीमा र बित्तीय कारोबार गर्दै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment