Comments Add Comment

‘राजेश हमालको नाम लिएर मलाई तारो बनाउँदैछन्’

प्रेम राम (चमार) दलित अगुवा, सिरहा

मेरो घर सिरहा जिल्लाको धनगढी गाविस वडा नं ५ मा पर्छ । म पेशाले एक पशु चिकित्साकर्मी हुँ ।

धनगढीको वडा नम्बर ३, नयनपुरमा बस्ने पुलकित मल्लिक (डोम) को परिवारले लामो समयदेखि पानीको समस्या भोग्दै आएका छन् । उनीहरुलाई सार्वजनिक इनारमा पानी भर्न दिइँदैन ।

केही समयअघि हामीले राष्ट्रिय दलित आयोगमा उजूरी हाल्यौं । गत वैशाख २ गते आयोग र प्रधानमन्त्री कार्यालयको टोली आयो । उहाँहरुले डोम परिवारसित कुराकानी गर्नुभयो । त्यसपछि इनार छुवाउन जाने कुरा भयो । तर, डोम परिवारलाई इनारमा लैजान आँटेपछि गाउँभरिका महिलाहरु उभिएर बाटो छेके । पुरुषहरुले पछाडि बसेर उनीहरुलाई समर्थन गरे ।

पुलिस प्रशासनको मान्छेहरु पनि हुनुहुन्थ्यो । तर, कसैले केही गर्न सकेन । त्यत्रो महिला दिदीबहिनीलाई पक्राउ गर्न सक्ने अवस्था पनि थिएन । त्यसैले उहाँहरु भाग्नुभो । ज्यानमाथि खतरा आएपछि हामी पनि भाग्यौं । त्यसभन्दा पछि आयोगका सरहरुले कुनै सम्पर्क गर्नुभएको छैन ।

केही दिनअघि मलाई बीबीसीको सरहरुले यहाँ छुवाछुतसम्बन्धी कार्यक्रम बनाउनका लागि सहयोग माग्नुभयो । पहिले द्वन्द्वकालमा पनि मैले बीबीसीका सरहरुलाई जोखिम मोलेर यस्तो काममा समन्वय गर्दै आएको थिएँ । पैसा लिएर होइन, सेवाको रुपमा गरेको हुँ ।

म दुई-तीन दिन अघिदेखि गाउँमा परिचालित भएँ । उहाँहरुले राजेश हमाललाई डोमको घरमा ल्याएर राख्ने र कुराकानी गर्ने भन्नुभएको थियो । मैले बीबीसीको मेघराज रसाइली सरलाई पुलिसलाई खबर गर्नुपर्छ कि भन्दा उहाँले ‘पर्दैन, केही हुँदैन’ भनेर जवाफ दिनुभयो ।

बिहीबार मैले पुलकितको घरमा गएर सरसफाइ गर्न लगाएँ । आफैं पनि खटिएर उसको बंगुरको खोरदेखि घरको आँगनसम्म सरसफाइ गरियो । एन्टिसेप्टिक स्प्रे गरेर ठीकठाक पार्‍यौं ।

बीबीसीबाट शुक्रबार दिउँसो दुई बजे रसाइली सर आउनुभयो । पुलकितको छोरा दीपकसित १० मिनेट कुरा गर्नुभयो । उहाँले ‘पहिले तपाईंहरु कुन पीडामा हुनुहुन्थ्यो र अहिले कुन पीडामा हुनुहुन्छ ?’ भनेर सोध्नुभो । दीपकले ‘बाबुबाजेको पालादेखि नै यस्तै छ’ भनेर जवाफ दियो ।

राजेश हमाल
राजेश हमाल

शनिबार बिहान साढे ८ बजे राजेश हमाल आउने कुरा थियो । हामी पर्खिरहेका थियौं । बिहान साढे ९ बजे बीबीसीको टोलीले राजेश सरलाई लिएर आयो । उहाँलाई हेर्न ठूलो भीड जम्मा भयो गाउँमा । छिमेकी गाउँबाट पनि थुप्रै ठिटाठिटीहरु आए । राजेश हमालको सही गराएर लिए ।

राजेश हमालले सुरुमै दीपकको घरमा जानुभयो । दीपक उहाँलाई देखेर खुशी भयो र आफ्नो सबै पीडा सुनायो । अनि बीबीसीको विद्या दिदीले इनारमा गएर पानी हालेको भिडियो खिचौं भन्नुभयो । दीपक बाल्टिन लिएर राजेश हमालको साथमा हिँड्यो ।

तर, गाउँलेहरु विरोधमा उत्रिए । गाउँभरिका महिलाहरुले लाइन लागेर बाटो छेके । राजेश हमालले सम्झाउन खोज्नुभो, तर मान्नुभएन । ‘हामीले इनार छुवाउन खोजेको होइन, तपाईंहरुले पानी हालिदिएको फोटो मात्रै खिच्ने हो भनेपछि बल्ल एक जनाले पानी हालिदिए ।

पानी ल्याएपछि राजेश हमालले फेरि दीपकको घरमा आएर बस्नुभयो । दीपकले उहाँलाई चिया र बिस्कुट खुवायो । विद्या दिदीले दीपकको बाबुछोरालाई ‘तपाईंहरुलाई कस्तो महसुस भइरहेको छ ?’ भनेर सोध्नुभो । दीपकले हामीलाई त सँधै यस्तै हो भनेर जवाफ दियो ।

केहीबेर बसेर उहाँहरु हिँड्नुभयो । जानेबेलामा ‘हामी राजनीतिक दलहरुसित यो कुरा राख्छौं’ं भनेर भन्नुभयो । मलाई सप्तरीमा साझा सवालमा आउनुस् भन्नुभएको थियो, म जान भ्याइँन ।

मैले राजेश हमाललाई ल्याएको भनेर गाउँवासीले मलाई टार्गेट गरिरहेका छन् । कहिले नेतालाई ल्याउँछ, कहिले अभिनेतालाई ल्याउँछ भनेर मलाई गाली गरिरहेका छन् । दीपकलाई पनि लुकीलुकी भेटिरहेको छु । उहाँहरु गएपछि दीपकको परिवारमाथि झन् धेरै ज्यादती भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment