निमुसंगम घर्ती
१ भदौ, घोराही । घोराहीको बैंक रोडमा फेन्सी पसल गर्दै आएका नारायणप्रसाद भण्डारीलाई सटरको भाडा तिर्नु छ तर पसल खोल्न नपाएको हप्तादिन भैसक्यो । सटरमा ताला झुण्ड्याएर कोठामा बस्न बाध्य छन् उनी । सटरको भाडा बढिरहेको छ तर बन्दले व्यापार छैन ।
घोराही बजारमा रिक्सा चलाउँदै आएका घोराहीका देवराज नेपालीलाई पनि अहिले छाक टार्न गाह्रो भएको छ । रिक्सा चलाएर दैनिक ५ सय रुपैयाँ कमाउँदै आएका देवराजले बन्दकाबेला पाँच रुपैयाँ पनि कमाउन नसकेको गुनासो गरे ।
भण्डारी र नेपाली उदाहरणको पात्र मात्र हुन् एक हप्तादेखि दाङ बन्द जारी रहँदा चौतर्फी नोक्सानी भैरहेको छ । विभिन्न माग पूरा गराउने नाममा थरुहट र अन्य पार्टीहरुले बन्द जारी राखेपछि जनजीवन प्रभावित भएको छ भने दैनिक २ करोडको ब्यापार व्यवसाय ठप्प छ ।
रिक्सा चालक नेपालीले भने, ‘जनताको अधिकारका लागि बन्द गरेका हौं भन्छन् तर जनतालाई दुख्ख दिएर कसरी जनताको न्याय हुन्छ ?’
सल्यान पुग्नु पर्ने तर बन्दले घोराहीमै अलपत्र परेका विकास बुढाको पनि पिडा उस्तै छ । उनी भन्छन्, ‘अत्यावश्यक काम लिएर हिँडेकाहरु बीच मै अलपत्र छन्, मजदुरहरुका हात खालि छन् । व्यापारमा सटर बन्द छ अनि चक्काजाम छ । यसरी कसरी हुन्छ देशको बिकास ?’
दैनिक २ करोड रुपैयाँ घाटा
बन्दले ब्यापार व्यवसायमा दैनिक २ करोड रुपैयाँ घाटा हुने गरेको दाङ जिल्ला उद्योग वाणिज्य संघका महासचिव दीपक सुवेदी बताउँछन् ।
बन्दका कारण दाङका झण्डै साढे ४ सय विद्यालयहरु पनि बन्द छन् भने सैयौ गाडीहरु चल्न नसक्दा व्यवसायी र मजदुर मारमा छन् ।
‘बन्दले किसानका तरकारी बारीमै कुहिएको छ । गाडीहरु ग्यारेजमा थन्किएका छन्, मजदुरहरु बन्द खुल्ने आशमा भोको पेट बसेका छन्, बजारका सटरहरुमा ताल्चा लागेका छन्, बिद्यार्थीहरु स्कूल जान पाएका छैनन् यो कस्तो नयाँ नेपाल हो ?’ घोराहीका सुमन शर्माले प्रश्न गरे ।
बन्दले कस्लाई प्रभाव पारेको छ भनेर हेर्ने हो भने दिनभरी मजदुरी गरेर साँझको छाक टार्नेलाई पारेको छ । सुमन भन्छन्, ‘संविधान निर्माणको चरणमा भएका यस्ता बन्दलाई सदाको लागि बन्द गर्न अब बन्ने संविधानमै व्यवस्था गर्नुपर्छ ।’
प्रतिक्रिया 4