
२ असार, काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले १० वर्षभित्र समाजवाद निर्माण गरेर यूरोपका मुलुकको अवस्थामा पुग्ने बताएका छन् ।
एकीकृत समाजवादीसँग समाहित हुन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता गौतमले नेपालीहरू मागेर नभइ संसारलाई पाल्नसक्ने अवस्थामा पुग्ने दाबी गरे ।
‘लोकतान्त्रिक मूल्यमान्यतामा आधारित समाजवाद निर्माण गर्ने चरणमा छौं । त्यो भएपछि १० वर्षमा हामी यूरोपियन मुलुकको अवस्थामा पुग्नेछौं । हामी मागेर खाने अवस्थामा होइन कि अरुलाई दिने अवस्थामा पुग्नेछौं,’ गौतमले भने, ‘हामी संसारका मगन्ते होइनौं, संसारलाई पाल्नसक्ने अवस्थामा पुग्नेछौं । यो देश हाम्रो हो । यो देश हाम्रा पुर्खाले हामीलाई सुम्पेको हो । त्यही समाजवाद निर्माणका लागि सुम्पेको हो ।’
उनले आफू ४ वर्ष अघि नै एकीकृत समाजवादीमा आएको भए अहिलेसम्म समाजवाद सुरु भइसक्ने जिकिर पनि गरे ।
‘४ वर्ष पहिला म आउन पाएको भए, यो समाजवाद निर्माण सुरु हुन्थ्यो । म लागेपछि समाजवाद सुरु हुन्छ । म एक्लै होइन, तपाईंहरूसँगै लाग्ने हो । एकपटक पार्टीले निर्णय गरेपछि हुन्छ,’ गौतमको भनाइ थियो ।
प्रतिक्रिया 4