
२ असार, काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नका लागि आफूलाई ४ वर्ष लागेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग एकता अभियानलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
‘आजभन्दा ४ वर्ष पहिलेदेखि यात्रा गरेँ । एकीकृत समाजवादीसम्म आउन मलाइ ४ वर्ष लाग्यो । ४ वर्षपछि मैले भनेजसरी हामी एकीकृत हुँदैछौं,’ गौतमले भने, ‘म ७ वर्षको उमेरमा कम्युनिस्ट पार्टीको झन्डा समातेको हुँ । त्यो गणना गर्दा ७० वर्ष भएछ । अहिले ७७ वर्षको छु ।’
उनले आफू कम्युनिष्ट आन्दोलनमा लाग्ने क्रममा शैक्षिक योग्यता पनि अघि बढाउन नसकेको सम्बोधनको क्रममा बताए । पछिल्लो पटक नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच एकता हुँदा आफू अत्यन्त खुसी भएको बताउँदै त्यो खुसी टिक्न नसकेकोमा चिन्ता व्यक्त गरे ।
‘मैले मेरो हातबाट कम्युनिस्ट पार्टीको झन्डा त्यसबेला फहराएँ । त्यो मैले झुक्न दिएको छैन । म धेरै हन्डर, ठक्कर खाएर कमसेकम अनेक पक्षलाई विचार गर्दा १९ २० वर्ष भूमिगत रहेर पार्टी काम गरेको छु,’ नेता गौतमले भने, ‘यो सबै कालमा आफ्नो शैक्षिक क्षेत्र बढाउन लागिनँ । म पार्टीमात्रै परेँ । पार्टी लेखेँ । पार्टी नाचेँ । गीत लेखेँ । म एसएलसी पास गरेको मान्छे मात्रै हुँ । त्यो पनि थर्ड डिभिजनमा बल्ल बल्ल पास गरेँ ।’
प्रतिक्रिया 4