Comments Add Comment

खुसी भएर बाँच्न खोज्ने जास्मिनको यादमा

वसुधा नेपाल पोखरेल, (वासिङ्गटन डीसी) 

साथी हो उ मेरी । कलेजमा सँगै पढेकी ।

जतिखेर बसे पनि उसको फेसबुक फलो गर्छु, त्यतिखेर कता कता मन नमीठोसँग चिमोटिन्छ ।

उसले आफ्नो प्रत्येक बिगतलार्इ आफ्नो बर्तमान जस्तै प्रस्तुत गरेकी हुन्छे फेसबुकका भित्ताहरुमा ।

Bashudhaसँगै पढे पनि उसको र मेरो भेट नभएको बर्सौ भइसकेको थियो । अचानक एकदिन मेरो घर आइपुगेकी थिर्इ, जास्मिन । उस्तै राम्री, उसको मुहारमा खासै परिवर्तन पाइँन । तर, मुस्कान भने कताकता खोजेर ल्याउनु परेजस्तो । कलेजको कक्षा कोठामा  छरिने उसको मुस्कान, जीवन जगतले खोसेजस्तो भान भइरहेको थियो मलाइ ।

उसको जिन्दगीमा आइपरेका दुखद घटना नकोट्याउने पक्षमा थिएँ म । तर आज उ मेरो सामु उसका मनका सबै कुरा पोख्न खोज्दै थिर्इ ।

उसको जीवनमा अचानक आइपरेको दुर्घटनाले आफन्त तथा शुभचिन्तक सबै दुखी थिए ।उसले आफ्नो यथार्थ बिस्तारै पोख्दै थिर्इ आज । शायद उसको मन जितेको मान्छे मै हुँ जस्तै गरी ।

जास्मिन भन्दै थिर्इ ” हेर न सोचेको जस्तो त कहाँ हुँदो रहेछ र ? हिजोसम्म आफ्ना भन्ने मान्छेहरु पनि नजानिँदो पाराले परिवर्तन भएको देख्दा अचम्म लाग्छ । हिजोसम्म मलार्इ हेर्ने आखा र ब्यवहार बदलिएको देख्दा नजानिँदो गरी मन दुखेर आउँछ ।
उ अगाडि भन्दै थिर्इ ” मलार्इ मेरा श्रीमान अझै पनि मेरो वरिपरि नै हुनुहुन्छ जस्तो लाग्छ। अफिसको कामले बिदेश जानुभएको छ, भोलि पर्सि आउनु हुन्छ जस्तो लाग्छ । मलार्इ आफुलार्इ कुनै परिवर्तित रंगमा मात्र सीमित राख्न मन लाग्दैन । मैले सधैं लाउने गरेको रंगमा सजिन मन लाग्छ। अस्ति अचानक मेरो एकजना आफन्तले अर्को बिहा गरिस् कि के हो ? भनेको सुन्दा सार्है चित दुख्यो । मेरा श्रीमानले पहिले पनि यस्तो दुर्घटना भएको महिला देख्दा किन यसरी रंग नै  उडाएर बस्ने ? सबैथोक लगाउनुपर्छ भन्नुहुन्थ्यो “।
म बिलकुल अमूक भएर जास्मिनको कुरा सुनिरहेकी थिएँ । उ अगाडि भन्दै थिर्इ एउटी छोरी छ, पढ्न बाहिर पठाएर एक्लै म कसरी बसुँ ? छोरीलार्इ पनि उसका बाबा यतै कतै हुनुहुन्छ जस्तो लाग्छ रे ।
यसरी बोल्दै थिर्इ जास्मिन, मानौ मनका सबै पीडा आजै पोखिदिन चाहन्छे । उसको पीडाको अनुभुत मभित्र भित्रै गरिरहेको थिएँ ।
अर्कोचोटि फोन गरेर भन्दै थिर्इ मैले तिम्रो सुझाव अनुसार छोरीलार्इ बिहा गरिदिएर ज्वाइँसँगै पढ्न पठाइ दिने भएँ नि । हेर न ज्वाइँ पनि ठ्याक्कै नानुको ड्याडी जस्तै स्वभाव मिल्ने । राशि पनि उहि रहेछ । अनुहार, हाइट पनि मिल्ने । हुँदा हुँदा आवाज पनि उस्तै छ ।

मैले भनें जास्मिन,  भगवानले सबै मिलाउँछन, चिन्ता नगर । जवाफमा जास्मिनले भनी ” सद्दे मान्छे निस्किनु भएको मेरो श्रीमान एकछिनमा त्यसरी आचानक बित्नु भयो, मलार्इ त भगवानसँग पुरै बिश्वास नै उठिसकेको थियो ” । उसका प्रत्येक शब्द-शब्दमा पीडा मात्र देखिन्थ्यो  ।

केही बर्ष अगाडि हर्ट अट्याक् भएर उसको श्रीमानको निधन भएको थियो । रेडियोबाट त्यो खबर सुन्दा, अत्यन्त मर्माहत भएको थिएँ म ।  उसको गोरो हँसिलो उज्यालो अनुहार सम्झेँ । भेट्न जाने हिम्मत गर्न सकिन । अफिसबाट फर्किँदा बाटोमा उसको घर अगाडि मान्छेहरुको भीड थियो । एक मन गाडी रोकेर जास्मिनलार्इ भेट्न जाउँ भन्ने मन नलागेको होइन, तर जिन्दगीमा परेको यत्रो ठूलो बज्रपात, मेरी जास्मिनको अनुहार कसरी हेरूँ ? कुन शब्दले सान्त्वना दिउँ ? मेरो हिम्मत जुटेन । असाध्य दुखी हुँदै बिस्तारै गाडी अगाडि बढाएँ । जान सकेकी थिइँन त्यसदिन ।

उ भर्खरको उमेरकी छे । उसले खुशी भएर बाँच्न पाउनुपर्छ । समाजले उसलार्इ उसले लगाउने गरेको रंगप्रति आपत्ति जनाएर उसलार्इ दुखित बनाइदिनु हुँदैन । उसले कलेज पढदादेखि नै लगाउने रंग हो  रातो । चुरा पनि त सानैदेखि लगाएकी हो नि । पूजा गर्दा पनि पहिल्यैदेखि अग्रपंक्तिमा उभिन्थी उ । माया पाउने अधिकार अझै छ  उसँग ।
उसले आफ्नो सन्तानको घरजम गराइ सकेपछि आफुखुशी बाँच्न पाउनुपर्छ । चाहे उसले अहिलेसम्म पाएको मायामा भुल्न सधैको जस्तो रंगको पहिरनमा सजिन चाहोस् । त्यो  पाउनु पर्छ, या उसको चाहना भयो भने नयाँ सिराबाट नयाँ जीवनको सुरूवात गर्न पाउनुपर्छ उसले । त्यसमा हाम्रो समाजले उसको मनमा ठेस लगाउने कुनै पनि कुरा गर्नु हुँदैन ।

उसको मनमा ठेस लाग्छ कि भनेर मैले भन्न नसकेको कुरा आज अक्षर मार्फत पस्किने कोसिस गरेँ ।

तिमी खुसी खुसी तिम्रो बिगतलार्इ बर्तमान जस्तो गरी फेसबुकमा पोखेर खुसी रहन चाहनु  तिम्रो अधिकार क्षेत्रभित्रको कुरा  हो । यसमा कसैले ठेस लगाउन सक्दैन , त्यो देखेर मलाइ कता कता खुसी पनि लाग्छ। तिम्रो पीडा तिम्रा लिखित अभिब्यक्ति मार्फत म पनि महसुश गरिरहेको हुन्छु । कहिले काहिं तिमीले बिगतको फोटो राखेर  ”आइ एम कमिङ्ग् सुन” लेखेको देख्दा असाध्य पीडा हुन्छ ।

सामान्य अरु नारीहरु जस्तै रंगीचंगी लुगा  लगाएर बाँच्न तिमीले जन्मदेखि पाएको तिम्रो अधिकार हो । समाजले भनेका कुराहरुलार्इ किन्चित पनि मन न दुखाएर तिमी हाँस, तिमी बाँच । जुन कुराले तिमिलार्इ बर्तमानमा खुसी भएर बाँच्ने प्रेरणा दिन्छ, त्यो गर । रमाएर बाँच – जास्मिन ।

मेरो समाज ! जहाँ जास्मिन जस्ता धेरै मेरा साथीहरु छन् उनीहरुलार्इ खुसी भएर बाँच्न खोज्ने आधारहरु खोस्ने अभिष्ट प्रयाश नगर । खुसी साथ संसारमा बाँच्न आएकी  उ तिम्री सन्तान हो ।

आफू पनि रमाउ र सम्पूर्ण जीवन जगतलार्इ रमाएर बाँच्ने आधार बन । मेरो समाज !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment