Comments Add Comment

अनशन बहस : चामलदेखि मेडिकलसम्म

रूद्रप्रसाद भट्टराई

हिजोआज अनशन शब्द निकै चर्चित छ हाम्रो नेपालमा । काम गर्ने र गराउनेको अभिन्न साधन बन्न पूगेको छ अहिले । शान्तिपूर्ण कार्यक्रम भएपनि आधुनिक हतियारको शक्तिभन्दा कम छैन, अनशन । तर, भाषागत रुपमा यो शब्द अनशनबाट अनसनमा झरेको भने पक्कै छ ।

Rudra-Prasad-Bhattaraiकत्तिले आफ्नो नीजि स्वार्थ पूर्तिको लागि यो शब्दाबलीको प्रयोग गरेका छन भने कोहिले सामुहिक र प्रणालीलाई सपार्नको लागि यसमा दत्तचित्त छन् । जे र जो भएपनि आखिर अनशन अन्तिम विकल्पको रुपमा देखापरेको छ । अन्यबेला चिर निन्द्रामा पर्ने सम्बन्धित निकाय यो शब्दले चर्चित हुने भएर हो कि क्या हो त्यसपछिमात्र तात्ने गरेको पाइन्छ । कोहिबाट अपरिचित र बेअभ्यासमा छैन अनशन । शिक्षक, विद्यार्थी, किसान, पत्रकार, डाक्टर, इन्जिनियर, उद्यमी व्यवसायी आदि सबैमा परिचित छ ।

विश्व अनि नेपालमा अनशनको शुरुवात कहिलेबाट भयो कुनै तथ्यांक र अभिलेख त छैन तरपनि आवश्यकतालाई पुरा गर्नको लागि प्रयोग गरिएको एक स्वरुपको रुपमा यसको प्रयोग भएको ठोकुवा गर्न सकिन्छ । प्राप्ति गर्ने क्रममा यसको दूरुपयोगका घटनाहरुपनि उत्तिकै देखिएका छन् । कोहि चामलका लागि , कोहि जनावरहरुको अधिकारका लागि, कोहि करार हुन, कोहि स्थाइ हुन, कोहि वेथिति विरुद्ध, कोहि आधारभूत आवश्यकता परिपूर्तिको लागि यस्तै यस्तै अनशनमा बसेका छन् । यसमध्ये प्रायः आवश्यकता पाउन सक्षम पनि देखिएका छन भने न्यून संख्याको मात्र पूरा भएको छैन । जसरी बुझिएपनि अनशन शब्दको उपयोग कम सकारात्मक बढी नकारात्मकतर्फ धकेलिंदै गएको सहजै अनुभव गर्न सकिन्छ ।

पछिल्लो समयमा गोरखा फुजेलका अधिकारी दम्पति आफ्नो छोराको हत्यारालाई कारबाहीको माग राखि पटक-पटक अनशनमा बसे । तर न्याय पाएनन् । ज्यान लिएरै छाड्यो राज्यले । अहिलेसम्म उनीहरुका जायज माग पूरा हुन सकेका छैनन् । यसमा आफ्नै तरिकाले राजनीतिकरण गर्न खोजिएको देखियो । त्यस्तै केहि समय अघि नेपाल आंशिक प्राध्यापक संघ केन्द्रीय कार्यसमिति कीर्तिपूरले करारको माग राखि विभिन्न पटक गरेर अनशन बसेका छन, कति माग पूरा गरे वा गरेनन् आफ्नो ठाउँमा छन तर उनीहरुले पनि दरिलो सहारा आशनकै लिए । विद्यालयका अस्थायी शिक्षकहरुपनि स्थायीको माग राखि कुनै समय अनशनमै व्यस्त थिए । भारतमा जन्मेका महात्मा गान्धी अहिंसात्मक आन्दोलनका विश्वप्रख्यात धरोहरले अनशनकै प्रयोगबाट त्यसताकाका निरंकुशतालाई घुंडा टेकाउन सकेका थिए । यस्तै अन्ना हजारे र रामदेवले पनि चलाएको भ्रष्टाचार विरोधी आन्दोलन पनि अनशनबाटै चर्चित र पछि आम आद्मी पार्टीबाट राम्रै जनमत हात पनि पारे । यसकारण प्राप्तीकै लागि अनशन शब्दको प्रयोग र बेप्रयोग भएको स्पष्टै छ ।

यसकारण अनशन अहिले जनचासोको बीचमा रहेको छ । अत्याज्य विभिन्न मुद्दाहरुमध्ये अनशन खेल डरलाग्दो र देशलाई भारी बन्न पूगेको छ भने आलेटाले अनि प्रणालीको घज्जी उडाउनेको लागि तरवार सावित भएको छ । मुद्दाहरु कालान्तारदेखि नै चलेतापनि सम्बन्धित निकाले जनआवाजहरु नसुनेपछि विकल्पहरुका महा विकल्पमध्ये यस शब्दको अभ्यास गरिहालिन्छ हाम्रो नेपालमा । कयौँ अवरोधहरुको परवाह नगरी सुतिहालिन्छ अनि पाल टांगेर सक्ने राजनीति गर्छन् त नसक्नेहरु बलबुतोले भ्याएसम्म आफ्ना कार्यहरु अगाडि बढाउँछन् । पहुँच नहुनेहरु बढी अनशनमा बस्छन् तर पहुँचमा हुनेहरुले धेरैसमय नलगाइ टुङ्ग्याइहाल्छन् ।

जसरी बुझिएपनि अनशन शब्दको उपयोग कम सकारात्मक बढी नकारात्मकतर्फ धकेलिंदै गएको सहजै अनुभव गर्न सकिन्छ

यस्तै देशभित्र विभिन्न सञ्चारमाध्यमहरुमा पटक पटक गरेर चर्चित शिर्षक रहृयो प्राध्यापक डाक्टर गोविन्द केसीको अनशन । उनको माग पूरा गर्ने लिखित सम्झौतापछि धेरैपटक अनशन तोडियो । यसबीचमा पनि थुप्रै नाटकहरु मन्चन गर्यो त्रि.वि.ले । भरसक् मागमा नछिरिकन टार्ने प्रयास गर्यो, तर सकेन र अन्तत् उनकै माग अनुसारको लिखित सम्झौतापछि अनशनले विश्राम लियो । देख्ता डा. केसीको मात्र ज्यानको सवाल देखिएपनि देशभरमा कयौँ जनताहरुको उपचारका सेवाबाट वञ्चित हुनुपरेको घटना चानचुने होइन र यसको क्षतिपूर्ति त्रि.वि.का पदाधिकारीले कहिल्यै पनि तिर्न सक्नेछैनन् । बरियाताक्रम मिच्दै आफूखुसी र आफ्नो सञ्जालमार्फतको सर्कुलेसनलाई पालना गर्ने निहुँमा धेरै कनिष्ठलाई डिन बनाएको र बनाइरहने संस्थाको परिपाटीले अब विश्वविद्यालयमाथि धमीलो पानीमा माछा मार्ने, जथाभावी सम्बन्धन दिने र पैसाको खेललाई निरन्तरता दिने कुराको अन्त्य गर्न डा. केसी लागिरहे । साथै सम्वन्धनको कुरापनि जोडिइरह्यो, उनी अडिग नै रहे । यो घटना दोहोर्‍इरहेको छ, समाधान निस्किएको छैन । उनको यो यात्रा अहिलेपनि बहसभित्र परेको छ । किनकी उनको आन्दोलन फेरी जारी भएको छ ।

पछिल्लो यहि हप्ताबाट सुरुभएको अनशन यो छैटौँ पटक हो । उनले सबै विश्वविद्यालय र प्रतिष्ठानहरुमा वरिष्ठता र कार्यदक्षताका आधारमा नयाँ पदाधिकारी नियुक्त गर्न, माथेमा प्रतिवेदनको कार्यान्वयन, मेडिकल कलेजका नक्कली भौतिक पूर्वाधारसम्बन्धी आरोपमाथि छानविन र दोषिलाई कारवाही, अनियमितताको अन्त्य आदि माग राखेका छन् । यस्तै चिकित्सा विश्वविद्यालय विधेयक तत्काल संसदमा पेश गर्नुपर्ने, केयूले अनियमिततापूर्वक दिएको सम्वन्धन खारेज, कैलाली, जुम्ला र दाङ्गमा निर्माणाधिन सरकारी मेडिकल कलेज निर्माण र सञ्चालनको कार्यलाई तिव्रता दिनुपर्ने, जानकी मेडिकल कलेजका विद्यार्थिहरुको व्यवस्थापन आदि माग अघि सारेका छन् । उनका माग कति व्यवहारिक छन् त्यसमा बहस हुन सक्छ ।

नीति निर्माण तहमा बसेर राम्रा कानूनहरु निर्माण गर्दै दीर्घकालीन हुने कार्यहरु गर्नुपर्नेमा विश्वविद्यालयहरुमा पछिल्लो समय घुष्याहा र भ्रष्ट व्यक्तिहरुको मनोमानी बढ्नाले पेशा र पद्दतिमाथि धब्बा जन्मन पूगेको छिपाउन सकिन्न । यस्ता गतिविधिले गर्दा पैसा खर्च गरेर जे पनि जसरी पाइन्छ भन्ने केहीतन्त्रले जरा गाडेको छ । त्यस्ता तत्वहरुका लागि डा. केसी जस्ता धेरै व्यक्तिहरु सक्रियरुपमा लाग्नुपर्ने देखिएको छ । यदि यो वेथितिलाई यत्तिकै छाडिदिने हो भने गलत परिपाटीको कहिल्यै अन्त्य हुँदैन । यो कार्यले अनशन शब्द अनसनमा नझर्ने ग्यारेन्टि गर्न सकिन्छ ।

तसर्थ, केसीमात्र होइन, गोरखा फुजेलका अधिकारी परिवारले अहिलेसम्म न्याय पाउन सकेका छैनन् । यस्ता घटनाहरु अरुपनि कत्ति छन् कत्ति । इतिहासले विश्लेषण गर्ने छुट्टै परिपाटी होला, तर न्याय नभएको प्रष्टै देखिन्छ । सरकार, संसद, राजनीतिक दल, पदाधिकारी, विभिन्न निकायहरु राजनीतिक संस्कार र दायित्ववोध नभएका कारण यस्तो शैलीको निरन्तरता बढ्दै गएको छ । यसकारण अबपनि यस्ता गलत गतिविधिलाई साथ दिँदै भ्रष्ट र अन्यायी क्रियाकलापलाई जिताउँदै जाने हो भने भोलिको पिढीले अनियमितता र भ्रष्टचारीको बिम्ब प्रयोगमा ल्याइरहने छन् । त्यसैले नियम र संस्कार निर्माण गर्ने यो भन्दा उपयुक्त समय हुन सक्दैन, चाहे त्यो सरकार, त्रिवि र अन्य निकाय नै किन नहोस् । सुध्रिने र सुधार्ने बेला पनि यहि नै हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment