Comments Add Comment

सरकारले वार्ताको वातावरण बनाउनुपर्छ : महन्थ ठाकुर

Mahanta-Thakur

गौतम श्रेष्ठ

१२ भदौ, रौतहट । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले वार्ताका लागि सरकारले विगतमा गरिएका सम्झौताहरुलाई कार्यान्वयन गरेर वातावरण बनाउनु पर्ने बताएका छन ।

८ भदौमा कविर चोकमा सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएका राजकिशोर ठाकुरलाई श्रद्धाञ्जली दिन गौर आएका अध्यक्ष ठाकुरले जनतामाथि गोली हान्न लगाएर चार जनाको इच्छा अनुसार संविधान जारी गर्न लागिएको बताए ।

सरकारले वार्ताका लागि पठाएको पत्र प्राप्त भएको र त्यसको लिखित जवाफ आजै साँझसम्म सरकारलाई पठाइने भन्दै ठाकुरले भने-पहिले सरकारले वार्ताको वातावरण बनाउनु पर्छ । एकातिर जनतामाथि बल प्रयोग गर्ने र अर्को तिर वार्तामा बोलाउनुको औचित्य हुँदैन ।’

मधेसमा शुरु भएको आन्दोलन राजनितिक भएको भन्दै उनले यसलाई बलपूर्वक समाधान गर्न नखोज्न चेतावनी दिए । उनले गम्भीर भएर राजनितिक रुपमै समाधानको लागि पहल गर्न सरकारसँग आग्रह समेत गरेका छन ।

तमलोपा अध्यक्ष ठाकुरले मधेस विद्रोहपछि भएको सम्झौता र अन्तरिम संविधानमा स्वीकार गरेका स्वायत मधेस प्रदेशसहितका विषय लागु गर्न माग गरेका छन् ।

ठाकुरले मृतकलाई शहिद घोषणा गरी आश्रीत परिवारलाई क्षतिपूर्ती दिन पनि माग गरेका छन् । साथै आन्दोलनका क्रममा घाइतेहरुको उपचार व्यवस्था गर्न र पक्राउ परेकाहरुलाई रिहा गर्न माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment