Comments Add Comment

‘नेपालमै छ पेट्रोलियम पदार्थको खानी’

रविन्द्र घिमिरे

१४ असोज, काठमाडौं । नेपालमा पेट्रोलको खानी छ कि छैन होला ? धेरै नेपालीको दिमागमा अहिले यस्तो प्रश्न उठिरहेको छ । यसबारे अध्येताहरु भन्छन्- नेपालभित्रै छ पेट्रोलियम पदार्थको खानी । तर, अनुसन्धान सकाएर उत्खनन् गर्न बाँकी छ ।

dailekh_shreesthan_gas(1)
दैलेख लगायत देशका विभिन्न ठाउँमा बलिरहेका ‘अखण्ड दीप’ पेट्रोलियम पदार्थ नै भएको भन्दै त्यहाँबाट ग्यास निस्किएको अनुसन्धानकर्ताहरुको तर्क छ । खानी तथा भूगर्भ विभाग भन्छ- ‘नेपालमा पेट्रोलियम पदार्थको सम्भावना प्रचुर छ ।’

नेपालको तराईको अधिकांश क्षेत्रबाट पेट्रेलियम पदार्थ उत्खनन् गर्न सकिने भनेर आजभन्दा झण्डै ३५ वर्ष अघि नै पत्ता लागेको हो । यसै विषयमा अध्ययन गर्न खानी विभागमा पेट्रोलियम अन्वेषण परियोजना पनि स्थापना गरिएको छ । तर, सरकारले परियोजनालाई सक्रिय गरेर पेट्रोल नेपालमै उत्खनन् गर्ने गरी त्यस्ता कुनै नतिजा दिने किसिमका कार्यक्रम अघि सारेको छैन ।

‘हामीले नेपालमा पेट्रोलियम पदार्थको सम्भावना भएका क्षेत्रहरु पहिचान गरेका छौं । तर, सयौं मिटर जमीनमुनि भएको पेट्रोलियम पदार्थ डि्रल गरेर भए/नभएको पुष्टि गर्न अझै सकेका छैनौं ।’ परियोजनाका प्रमुख तथा भूगर्भविद सोमनाथ सापकोटाले अनलाइनखबरसँग भने, ‘यसका लागि ठूलो बजेट आवश्यक पर्छ । अवौर्ं बजेट लगाउन न सरकार तयार भएको छ । न कुनै विदेशी कम्पनि नै अघि सरेका छन् ।’

अहिले दैलेखको पादुका क्षेत्रमा कच्चा तेल निस्किएर बगिरहेको छ । अन्य धेरै क्षेत्रमा पनि प्राकृतिक ग्यासहरु निस्किरहेका छन् । त्यसले नेपालको पेट्रोलियम सम्भावनालाई सतहमा नै ल्याएका छन् । दैलेख कै श्रीस्थानमा जमीन मुनिबाट निस्किएको ग्यास अखण्ड दीपका रुपमा मन्दिरमा बाल्ने गरिएको छ ।

अन्वेषणमा अहिलेसम्म के भए ?

परियोजनाले नेपालको चुरेभन्दा मुनिको सबै तराईको भू-भागबाट पेट्रोलियम पदार्थको उत्खनन् हुन सक्ने अनुमान गरेको छ । पेट्रोलियम बन्ने स्रोत पहाडी भू-भाग हो भने, चुरे सिल्ड क्षेत्रमा पर्छ ।

Petrol block
(ओयली एरिया) नेपालको तेल पाइने सम्भावित क्षेत्र

तराईबाट उत्खनन् गर्न सकिने भएकाले त्यसलाई रिर्जभ्वायरका रुपमा मानिएको छ । विभिन्न वैज्ञानिक आधारहरुलाई पछ्याएर विभागले पेट्रोलियमको सम्भावनालाई पुष्टी गर्ने गरी भौगर्भिक एक्स्-रे लगायत विभिन्न अध्ययन सकेको छ । त्यसैका आधारमा ती क्षेत्रमा पेट्रोलियम पदार्थ पाइने सम्भावनालाई विभागले बाहिर ल्याइसकेको छ ।

तिनै अध्ययनका आधारमा सम्भावित भू-भागलाई १० वटा ब्लकमा विभाजन गरिएको छ । ती ब्लकहरुमा पेट्रोलियम पदार्थको अन्वेषण र उत्खननका लागि विभागले छुट्टाछुट्टै विदेशी कम्पनीलाई अनुमति दिएको थियो ।

तर, सम्झौताअनुसार काम नभएपछि तिनीहरुको सम्झौता गतवर्ष मात्रै खारेज गरिएको थियो । १, २, ४, ६ र ७ नम्बर ब्लकमा केरिन इनर्जीले पाएको अनुमति खारेज भएको थियो भने ३ र ५ मा टेक्साना, ८ र ९मा इएबी र १० नम्बर ब्लकमा बीबीबीको अनुमति रद्द भएको थियो । त्यसपछि कुनै ब्लकका लागि पेट्रोलियम पदार्थको अन्वेषण र उत्खननका लागि कसैलाई अनुमति दिइएको छैन् ।

मोरङको बाहुनीमा तेल निकाल्ने प्रयास

भारतले ०४५ सालमा नकाबन्दी लगाएपछि त्यतिबेलाको सरकारले पेट्रोलियम पदार्थको अन्वेशषणमा विषेश ध्यान दिएको थियो । त्यसैको परिणामस्वरुप सेल नेपाल नामक कम्पनीले बिराटनगर आसपासको क्षेत्रमा अन्वेषण काम सुरु गर्‍यो ।

मोरङको बाहुनी गाविसस्थित राधानगरमा सेल नेपालले ३५ सय २० मिटर गहिराइसम्म डि्रल गर्‍यो । तर, त्यति गहिराइसम्म पुग्दा पनि तेल नभेटिएपछि कम्पनी अन्वेषणबाट पछि हट्यो । अहिले पनि राधानगरमा पेट्रोल खोज्न खनिएको खाडल यथावत छ ।

‘सम्भावना भएको क्षेत्रमा डि्रल गरिएको थियो, अझै केही गहिराइसम्म्ा डि्रल गरेको भए पेट्रोलिम पदार्थ नभेटिएला भन्न सकिन्न,’ परियोजना प्रमुख सापकोटाले अनलाइनखबरसँग भने, ‘त्यतिबेलाको सरकारको पहलमा पनि त्यति काम भएकै हो । तर, त्यसपछि पेट्रोलियमको सम्भावनालाई प्रष्ट्याउन सक्ने गरी उल्लेख्य काम भएका छैनन् ।’

त्यसैगरी ०४६ सालबाट देशमा विकसित नयाँ बहुदलीय राजनीतिक परिस्थितिपछि पेट्रोलियम पदार्थको खोज र उत्खननमा राज्यले खासै काम गर्न सकेन ।

सम्भावना कसरी धेरै ?

नेपालको जुन भूभागमा अहिले पेट्रोलिम पदार्थ छ भनेर अनुमान गरिएको छ, भारत र पाकिस्तानका त्यस्तै श्रृङ्खलामा पर्ने भूभागमा डिजेल/पेट्रोल भेटिएका छन् ।

पाकिस्तानमा नेपालको जस्तै चुरे पर्वत श्रृङ्खलामा पर्ने पाट्वर बसिन क्षेत्रमा तेलको उत्खनन् भइरहेको छ । भारतले पनि चुरे श्रृङ्खलाभन्दा मुनिको विभिन्न क्षेत्रबाट तेल निकालिरहेको तथ्य हामी माझ छलर्ङ्ग छ । ‘यी तथ्यहरु अनुसन्धानको आधार हुन्, अनुसन्धानले जस्तो पनि निश्कर्ष दिन सक्छ ।

अनुसन्धानले तेल छ भन्ने सम्भवना पुष्टी हुन्छ नै भन्ने छैन,’ सापकोटाले भने- ‘यदि अन्वेषणबाट सकारात्मक निश्कर्ष आयो भने देशको अर्थतन्त्रले उलट पनि खान सक्छ । तर, अनिश्चितताको बीचमा सम्भावनालाई पहिल्याउन ठूलो लगानी जरुरी छ ।’

कति लाग्छ लगानी ?

नेपालले पेट्रोलियमको सम्भावनाका विषयमा अनुसन्धानसम्म पनि नसकिनुको एउटै कारण छ, बजेट । यसको अन्वेषणका लागि नै ठूलो खर्च हुन्छ । तर, खानी तथा भूगर्भ विभागले पनि अहिलेसम्म एउटा ब्लकको अध्ययन सक्न र ड्रिलहरु गर्न कति लग्छ भनेर कुनै पूर्वानुमान पनि गरेको छैन ।

दैलेखको पादुकामा भेटिएको कच्चा तेल
दैलेखको पादुकामा भेटिएको कच्चा तेल

सरकार त्यसमा ठूलो खर्च लाग्ने देखेपछि विस्तृत अनुसन्धानमा अघि सरेको छैन । ‘आफै गर्छु’ भनेर आएका विदेशी कम्पनीले पनि वातावरण नभएको भन्दै काम गर्न सकेनन् । नयाँ संविधानले मुलुकलाई संघीयतामा लगेको अवस्थामा प्राकृतिक स्रोतको बाँडफाँड नटुंगिँदा पेट्रोलियम पदार्थमा लगानी गर्न विदेशी कम्पनी आउने कुरा पनि अन्योलमा छ । अर्बौं खर्च गरेर डिजेल/पेट्रोल निकाल्नुभन्दा लागत सस्तो हुने बिजुली निकाल्दा हुने भन्ने बहसले पनि ‘नेपाली पेट्रोलियम’ बहस सेलाएको छ ।

अब पनि नेपालमा भएको सम्भवनालाई नकेलाउनु भनेको भारतको अर्को नाकाबन्दी कुर्नु नै हो ।

भारतले ०४५ सालमा घोषितरुपमा नाकाबन्दी गर्दा होस् या अहिलेको अघोषित नाकाबन्दी । यी नाकाबन्दीमा भारतले पेट्रोलियम पदार्थको आपूर्तिमा प्रभाव पार्न सबैभन्दा बढी कडीकडाउ गर्‍यो । कारण एउटै हो, पेट्रोलियम पदार्थको खाँचो । यो इन्धनको सबैभन्दा सहज, सुलभ र सर्वब्यापी साधन हो । यसैका आधारमा वैज्ञानिक युगमा आविस्कार भएका यन्त्र उपकरण चलेका छन् भने त्यसैले मानव जीवनलाई सहज गरेको छ ।

साधन स्रोतको आपूर्ति, परिचालन, सर्वसाधरणको दैनिक गुजारा, विकास र देशको सुरक्षादेखि हरेक कार्यमा पेट्रोलियम पदार्थ कतै न कतै जोडिएकाले यसको महत्व छोटो बयानमा सम्भव छैन । यसैकारण विश्वमा अहिलेसम्म भएका भएका ठूला युद्धहरु पनि पेट्रोलियम पदार्थको पहुँच वृद्धिका लागि भएको छ भन्नु गलत हुने छैन ।

यस्तो महत्वपूर्ण मानिने पेट्रोलियम पदार्थमा भूपरिबेष्ट्रित राष्ट्र नेपाल परनिर्भर छ । अझ भनौं नेपालले पेट्रोलियम पदार्थको निर्भरता छिमेकी बैगुनी मुलुक भारतलाई सुम्पिएको छ । यसैको परिणाम आज हामी भोगिरहेका छौं । जसलाई शब्दमा वर्णन गर्दा न्याय नहोला ।

अहलेको बहस

भारतको नाकाबन्दीको सन्दर्भमा ‘नेपालमा चीनबाट पेट्रोलियम पदार्थ ल्याउन सकिँदैन ?’ भन्ने बहस चुलिएको छ । ०४५ सालको नाकाबन्दीमा मरिचमानले सिंगापूरबाट तेल ल्याएको उदाहरण दिँदै कतिपयले कोइराला सरकारलाई पनि त्यस्तै विकल्प खोज्न सुझाव दिएका छन् ।

आयल निगमले पनि भारतीय आयल कर्पोरेशनलाई पत्र लेखेर तेल नदिए विकल्प खोज्ने जानकारी दिएको छ । धेरै पेट्रोलियम विज्ञले तत्कालको संकट टार्न चीनबट तेल ल्याउन सुझाव दिएका छन् । कतिपयले अब भारतसँग तेल लिन बन्द गरेर चीन उन्मुख हुन सरकारलाई अर्ति पनि दिइरहेका छन् ।

सँधै यसैगरी चल्छ ?

पेट्रोलियम पदार्थ किन्ने उपयुक्त बजार खोज्ने काम होला/नहोला एउटा पाटो हो । तर, सार्वभौमसत्ता सम्पन्न राष्ट्र नेपालमा आफ्ना योजनाहरु लाद्न भारतले पेट्रोलियम पदार्थलाई हतियार बनाएको कुरा कहीँ कतै लुकेको छैन ।

अहिलेसम्म कुनै साम्राज्यवाद नभोगेको नेपालले पेट्रोलियम पदार्थमा परनिर्भर बन्नुपर्दा अर्धऔपनिवेशिक राष्ट्रको जस्तो व्यवहार भोगिरहनु परेको तथ्य अब पर्दा पछाडि छैन ।

केही विज्ञले भनेजस्तै अहिले भारत जाने ट्यांकरलाई मोडेर चीनतर्फ पेट्रोलियम पदार्थ किन्न पठाइयो भने अल्पकालीन समाधान होला पनि । तर, एकदलीय ब्यवस्थामा चलेको चीन नीति सँधै नेपालप्रति एउटै हुन्छ, भन्ने के ग्यारेन्टी ?
योजना बनाएर सिक्किम निलेको भारतसंगको सम्बन्ध चिढ्याएर चीनतर्फ लाग्दा तिब्बतको कथा बिर्सिनु पनि उपयुक्त नहोला कि ? यति भनिरहँदा यहाँ छिमेकी मुलुकप्रति अविश्वास गरौं भन्ने विषयमा जोड दिन पटक्कै खोजिएको होइन । तर, हामी पेट्रोलियम पदार्थमा कति परनिर्भर हुने ? अनि कति औपनिवेशिक जस्तो ब्यवहार खपिरहने ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment