+
+
Shares

८७ प्रतिशत एन्ड्रोइड स्मार्टफोन ह्याक हुने खतरा

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २८ गते २२:१२

Android-Stagefright-security-flaw

विश्वमा कैयौँ स्मार्टफोन उत्पादकहरुले उत्पादन गरेका दशौँ लाख स्मार्टफोनहरु ह्याकरको निसानामा पर्ने खतरा रहेको एक अनुसन्धानले देखाएको छ । बेलायतको क्याम्बि्रज विश्वविद्यालयका अनुसन्धानकर्ताहरुको टोलीले गरेको अनुसन्धान अनुसार विश्वमा प्रयोगमा रहेका मध्ये विभिन्न भर्सनका सफ्टवेयर प्रयोग भएका ८७.७ प्रतिशत एन्ड्रोइड स्मार्टफोनहरु ह्याक हुने खतरामा रहेका छन् ।

शोधकर्ताहरुले स्मार्टफोन र त्यसमा चालु रहेको सफ्टवेयरको विश्लेषण गरेर ८७.७ प्रतिशत स्मार्टफोनमा प्रचलित ११ प्रकारका खतरामध्ये कम्तिमा एउटा गम्भीर खतरा देखा परेको निष्कर्ष निकालेका छन् ।

शोधका क्रममा गुगलको एप स्टोरमा उपलब्ध डिभाइस एनालाइजर एपको सहायताले डाटा संकलन गरिएको थियो । एन्ड्रोइड स्मार्टफोनहरु ह्याकिंगको उच्च खतरामा रहनुको मुख्य दोषी फोन उत्पादकहरु रहेका शोधकर्ता ड्यानियल थोमस र एलेस्टर बेरेस्फोर्डले बताएका छन् ।

शोधकर्ताले आफ्नो अध्ययनका क्रममा २० हजार भन्दा बढि मोबाइल फोन प्रयोगकर्ताबाट तथ्यांक संकलन गरेका थिए ।

भाइरस आक्रमण वा ह्याकिंगको खतरालाई टार्नका लागि गुगलले आफ्नो अपरेटिंग सिस्टम एन्ड्रोइडमा धेरै प्रयास गरिरहेको भएपनि फोन उत्पादकहरुले एन्ड्रोइडमा उपलब्ध सेक्योरिटी अपडेटहरु आफ्ना उपभोक्तालाई उपलब्ध नगराउँदा सुरक्षा जोखिम बढेको निष्कर्ष शोधकर्ताहरुको रहेको छ ।

एन्ड्रोइडका अन्य स्मार्टफोन भन्दा एल जी, मोटोरोला तथा गुगलका नेक्सस ब्राण्डका स्मार्टफोन बढि सुरक्षित रहेको र स्मार्टफोन उत्पादकले नियमित रुपमा सेक्योरिटी अपडेट उपलब्ध गराउने गरेको शोधकर्ताहरु बताउँछन् ।

आफ्नो स्मार्टफोनलाई ह्याकिंगबाट जोगाउन तथा सुरक्षित राख्नका लागि केवल गुगल प्ले स्टोरबाट आधिकारिक एपहरु मात्र डाउनलोड गर्न समेत शोधकर्ताहरुले सुझाव दिएका छन् ।

शोधकर्ताहरुका अनुसार सुरक्षाका दृष्टिकोणले सबैभन्दा उत्कृष्ट टपटेन एन्ड्रोइड स्मार्टफोनको सूचिमा गुगलको नेक्सस पहिलो नम्बरमा रहेको छ । एलजी दोश्रो, मोटोरोला तेश्रो स्थानमा रहेकेा छ । स्मार्टफोन सुरक्षाको दृष्टिले सामसुङ चौथो स्थानमा रहेको छ । सोनी पाँचौँ, एचटिसी छैटौँ, एसस सातौँ, एल्प्स आठौँ, सिम्फोनी नवौँ तथा वाल्टन दशौँ स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?