+
+
Shares
फिल्म :

नेपालको चलचित्र उद्योगबारे के भन्छन् दिपक, दयाहाङ र विपिन ?

दिपकराज गिरी न त कलाकार हो, न त निर्माता, न कथाकार, न नायक, न त फिल्म हलको मालिक ।

दीपक ओली दीपक ओली
२०८२ भदौ ७ गते १०:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालको चलचित्र उद्योगले वर्षमा ७०/८० वटा फिल्म निर्माण गर्दै गुणस्तर सुधार गर्दै आएको छ भने पेशागत रूपमा पैसा कमाउन सकिने अवस्था छैन।
  • चलचित्रले सामाजिक विषयवस्तुमा प्रश्न उठाउनुपर्छ र दर्शकले आफूलाई महसुस गर्न सक्नुपर्छ भन्ने तीन प्रमुख शर्तहरू छन्।
  • सरकारले चलचित्र उद्योगलाई मनोरञ्जन मात्र नभई राष्ट्रिय पहिचान र आर्थिक स्रोतका रूपमा विकास गर्न दीर्घकालीन नीति र लगानी गर्नुपर्ने आवश्यकता छ।

चलचित्र मनोरन्जनको साधन मात्रै हो ? कि यसले पहिचान र संस्कृतिको जगेर्ना पनि गर्छ ? अथवा यसले राष्ट्रिय आय र रोजगारीमा पनि राम्रो योगदान गर्न सक्छ ?

चलचित्रले समाजमा के पस्कनु पर्ने हो ? आजका फिल्मले के पस्किरहेका छन् ? आम दर्शकको दृष्टिकोणले भन्ने हो भने चलचित्रमा १) कथा भन्ने तरिका अब्बल हुनुपर्छ, २) चलचित्रको कथाभित्र दर्शकले आफूलाई महसुस गर्न सक्नुपर्छ र ३) चलचित्रले सामाजिक विययवस्तुमा र अभ्यासमा प्रश्न उठाउन सक्नुपर्छ ।

फिल्मले उत्तर वा समाधान दिँदै हिँड्नुपर्छ भन्ने छैन । यति हुँदाहुदै पनि चलचित्र व्यवसायिकरूपमा असफल हुन सक्छ, जसलाई दर्शकको निर्णयमा छोडिदिनुपर्छ । तर ‘मेकिङ’ राम्रो भएको चलचित्रले पैसा गुमाइहाल्नु पर्दैन, चाहे त्यो जुनसुकै जनरामा बनेको किन नहोस् ।

नेपाली चलचित्र उद्योगले कसरी यात्रा सुरू गर्‍यो र कस्ता-कस्ता चरण पार गरेर यहाँ आइपुग्यो ? यो उद्योगको अहिलेको ‘प्रोपर्टी’ अर्थात विशेषता के हो ? आदि विषयमा निकै ठूलो अध्ययन गरेर कुनै स्पस्ट दृष्टिकोण बनाउन सकिएला । त्यसैले हाललाई त्यो कामलाई थाती राख्दै, यति चाहिँ अवश्य भन्न सकिन्छ कि यो उद्योगको आकाशमा चाँदीको घेरा देखिन थालेका छन् ।

नेपालको चलचित्र उद्योगको अवस्था कस्तो छ त ? यही क्षेत्रमा आफ्नो जीवनका दुई दशक वा त्यो भन्दा बढी समय बिताएका स्रष्टालाई त पक्कै थाहा होला । यसैले यही उद्योगलाई जीवनको एक मात्र लक्ष्य बनाएर हिँडेका तीनजना चर्चित र विद्वान कलाकारहरूको दृष्टिकोणबाट बुझ्ने प्रयास गरौँ । विशेष कारणबस महिला कलाकारको विचारलाई समावेश गर्न सकिएन, जसको लागि पंतिकार माफी चाहन्छ ।

दिपकराज गिरी

 

मानिस कुनै विशेष परिचयको दास हुँदैन । दिपकराज गिरी न त कलाकार हो, न त निर्माता, न कथाकार, न नायक, न त फिल्म हलको मालिक । भगवान गौतम बुद्ध श्रीमतीका लागि गैरजिम्मेवार र निर्दयी पति थिए । जनताका लागि कर्तव्यच्यूत राजकुमार । तर साधकका लागि महान मार्गनिर्देशक थिए । त्यस्तै जसले जसरी चिन्छ उही हो, दिपकराज गिरी । तर मेरा लागि म नेपाली फिल्ममा समर्पित एक कर्मयोगी मानिस हुँ । नेपालको फिल्म उद्योग बिस्तारै अब्बल बन्दै गएको छ । वर्षमा २ वटा चलचित्र बन्ने उद्योगमा वर्षमा ७०/८० वटा फिल्म बन्नु पनि एउटा ठूलो प्राप्ति हो ।

गुणस्तर पनि बिस्तारै सुधार हुँदै जान्छ । कतिपय नवीनतम् विषयबस्तु र गुणस्तरीय फिल्म बनिरहेका पनि छन् । तर अहिल्यै नेपाली फिल्मको पेशा वा कलाकारितामा लागेर पैसा कमाउन सकिन्छ भन्ने अवस्था छैन ।

फिल्ममा हुने लगानी, राज्यको नीति-नियम र पूर्वाधारमा खर्च अनि आम मानिसको सिनेमा संस्कार नै यो उद्योग फराकिलो बनाउने तत्वहरू हुन् । यी ३ वटै कुरा हामीले चाहेजस्तो सकारात्मक ‘इन्डिकेटर’ मा छैनन् । नेपाली फिल्मले किन कोरियन जस्तो राम्रो मार्केट लिन सकेनन् भन्नु भनेको एउटा स्टेडियम पनि नभएको नेपालले किन वर्ल्ड कप नजितेको भने जस्तै हो ।

लैंगिक र जातीय भेदभाव नेपाली फिल्ममा निकै कम छ । खासमा जातियता विरुद्धमा धेरै नेपाली फिल्मले बिगुल फुकेका छन् । दर्शकलाई मेरो जातसँग कुनै दरकार छैन, बरू चलचित्रको गुणस्तरसँग उनीहरूलाई चासो हुन्छ । मैले बनाउने कतिपय चलचित्रमा महिला निर्देशक हुनुहुन्छ । महिलालाइ हेप्ने वा सम्मान नगर्ने भन्ने कुरा नेपाली चलचित्रमा निकै कम छ जस्तो लाग्छ मलाई ।

यदि कसैले आफ्नो जातजाती वा दाजुभाइलाई बढी मौका दिन्छ भने त्यसलाई सामान्य मान्नुपर्छ । मौका जसले पनि कसैलाई दिन सक्छ, तर व्यक्ति स्वयंले मेहनत नगरेमा कुनै पनि क्षेत्रमा लामो टिक्न सक्दैन । अझ सिनेमा उद्योग भनेको त काँचको घर जस्तै हो, अलिकति लापरवाही गरियो भने फुटिहाल्छ । म नेपाली फिल्म अझै राम्रो हुँदै जाने कुरामा निकै आशावादी छु । मलाई के लाग्छ भने राज्यले जति राम्रा नीति-नियम बनाउँछ र धेरै पूर्वाधारमा लगानी गर्छ, त्यति नै यो क्षेत्र अगाडि बढ्दै जान्छ ।

दयाहाङ राई

म आफूलाई एक अभिनेता मान्दछु र सोही रूपमा चिनाउन चाहन्छु । सानैदेखि मलाई सिनेमाको प्रविधि र यसका पात्रहरूले तान्थे । म भाग्यलाई मान्दिनँ । कुनै पनि कुरामा निरन्तरता दिइयो भने समयले बिस्तारै साथ दिन्छ भन्ने लाग्छ । म नाटक, टेलिफिल्म, साथीभाइहरूको नेटवर्क र सहयोगले गर्दा चिनिँदै र अगाडि बढ्दै गएँ । र, आफैंले आफैंमा एक अभिनेताको छवी पाउँदै गएँ । अहिले जुन राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा एउटा पहिचान बनेको छ, त्यो सबै निरन्तरता र मेहनतको कारणले गर्दा भएको हो । जसले पनि एकोहोरो भएर मेहनत गरिरह्यो भने सफलता अवश्य मिल्छ ।

सरकारले चलचित्र उद्योगमा संकटकाल घोषणा गरेको बेलामा र नेपाली चलचित्र पूर्णरूपमा असफल जस्तो भइसकेको बेलामा ‘लुट’ले एउटा ‘स्पार्क’ दिएको थियो । अब फरक र नवीनतम विषयवस्तुमा फिल्म गर्ने वा बनाउने चाहना बढिरहेको छ ।

नेपालको फिल्म उद्योगले बिस्तारै कोल्टे फेर्दै गए पनि अझै फड्को मार्न सकेको छैन । हामी मसलेदार र नक्कल गरिएका चलचित्रबाट भर्खर हाम्रा आफ्ना कथा र समस्यालाई देखाउने चरणमा पुगेका छौं । अझै पनि लगानी, कमाइ र ‘प्रोफेसनालिज्म’ को अभावमा सिर्जनशीलता र नवीनतम कथावस्तु लिएर काम गर्न सकेका छैनौँ । नयाँ-नयाँ प्रयोग गरेर फिल्म बनाउन सकिएको छैन ।

सिनेमामा कथाले मागेअनुसारको चरित्र लिनुपर्ने हुन्छ, ‘डाइलग’ पनि त्यसरी नै जान्छ तर राजनीतिक रुपमा बेठिक शब्द वा ‘डाइलग’ आउँदा कलाकारले यस्ता कुरा म बोल्दिन वा खेल्दिन भन्न सक्नुपर्छ । महिला, जनजाति वा कमजोर वर्गका कुराहरूलाई फिल्मले उठाउने हो, तर उनीहरूलाई उल्टो असर पर्ने गरी हामीले चलचित्र बनाउनु हुँदैन ।

नेपालको फिल्मलाई कोरियन फिल्मसँग अहिल्यै तुलना गर्ने बेला आएको छैन किनकी उनीहरूको राज्य यो उद्योगप्रति निकै सकारात्मक छ, बृहत लगानी गरेको छ । पूर्वाधारमा अरबौं-अरब लगानी गरेको छ । हरेक उद्योगले गति लिन  सरकारको सोच र लगानीको ठूलो भूमिका हुन्छ ।

सरकारले यसलाई मनोरञ्जन उद्योगको रूपमा मात्र नहेरेर देशको पहिचान र ‘क्यासकाउ’ उद्योगकै रुपमा लिई पूर्वाधारमा  लगानी गर्नु जरुरी छ । त्यसैगरी युग र प्रविधिअनुसार सुहाउँदो ऐन-कानुन पनि आउनुपर्‍यो । हाम्रो समाज र राज्यले नाटकलाई पनि प्रार्थमिकतामा राखेर पाठ्यक्रममा राख्ने र थिएटर एकेडेमी खोल्न गर्न जरुरी छ ।

हरेक अन्तर्राष्ट्रिय प्रदर्शनीमा कोरियन, चिनिया, भारतीय, थाई फिल्म उद्योगबाट सहभागिता जनाउने, स्टल राखेर आफ्ना देशका फिल्म, संस्कार र पहिचानको बारेमा जानकारी दिइनर् गरिन्छ  तर, नेपालले त्यस्तो गरेको बिरलै देख्न पाइन्छ ।

भर्खर-भर्खर विदेशी कार्यक्रममा भाग लिन जाने कलाकारलाई ‘एर टिकट’ उपलब्ध गराउने व्यवस्था सुरू भएको छ । त्यसको पनि प्रक्रिया निकै झन्झटिलो भएर धेरैले पाउँदैनन् पनि । फर्केर आएपछि मात्रै बिल पेस गर्ने र भुक्तानी पाउने हो । तर त्यही व्यवस्थाका लागि पनि हामी कलाकार राज्यप्रति आभारी छौं ।

विपिन कार्की

मेरो परिचय विशुद्ध कलाकारको हो । म नेपाली फिल्म उद्योगप्रति समर्पित छु । म हरदम सिक्न र आफूलाई झन्झ-न् खार्न चाहन्छु । नेपाली चलचित्र उद्योगले ठूलो सम्भावना बोकेको छ । तर यसका लागि सबै पक्षले मिलेर काम गर्न जरुरत छ । नयाँ आउने कलाकारले यहाँ आउनासाथ ठूलो भाग खोज्नु हुँदैन ।

जति धेरै जानेको भए पनि सुरूमा सानो बनेर काम सिक्ने, साथीभाइ बनाउने र सिनियरप्रति ‘लोयल’ हुनेको मात्रै यो उद्योगमा लामो ‘करियर’ हुन सक्छ ।  सुरूमै ठूलो बन्नेहरू यस उद्योगमा टिक्न सक्दैन जस्तो लाग्छ मलाई ।

त्यसैगरी लगानीले पनि यो उद्योगलाइ ठूलो असर पार्छ । पैसा मात्रै ठूलो कुरा हुँदैन तर यही उद्योगमा आश्रितले त कमाइ गर्नु पनि पर्‍यो । नत्र कसरी टिक्ने ?

फिल्मले समाजको दर्पण हुन सक्नु पर्ने रहेछ । दर्शकले आफ्ना कुरा, भावनाहरू प्रतिबिम्बित भएको पाए भने उनीहरू त्यो फिल्मसँग ‘कनेक्ट’ हुने रहेछन् । त्यसैले हामीले ठूला-ठूला सिद्धान्तका कुरा भन्दा समाजका कुरालाई सरलरुपमा चलचित्रमा राख्न सक्यौं भने त्यो चलचित्र सफल हुने रहेछ ।

फिल्मका संवाद बोल्दा राजनीतिक रूपमा सही छैन भने म त्यसलाई अर्को सही शब्द वा ‘डाईलग’ राख्न लगाउँछु । एक जिम्मेवार कलाकारले समाजका कुनै पनि तप्कालाई नराम्रो असर पार्ने संवाद बोल्नु हुँदैन । जस्तो कि महिला, जनजाती वा कुनै पनि पेशाकर्मीलाई अप्ठ्यारो पार्ने कुराहरू संवादमा राख्नु हुँदैन, त्यस्तो कुरामा म प्रतिबद्ध  छु ।

यद्यपी एक अराजक वा विद्रोही चरित्र बोकेको नायकले रिसको आबेगमा गीताका श्लोकमा जस्ता पवित्र शब्द मात्र बोल्नुपर्छ भनियो भने चाहिँ त्यो प्राकृतिक हुँदैन ।

नेपालमा फिल्मका लेखकहरू लगभग सबै पुरुष हुने भएकाले महिलाका भावना र कुराहरू त्यति धेरै मात्रामा समेटिन सकेका छैनन् । पुरुषहरूले प्राकृतिकरूपमा महिलाका समस्या, भावनाहरू उजागर गर्न नसक्नु सामान्य नै हो । त्यसैले पनि चलचित्रमा महिलाका विषयवस्तु बढी मुखरित हुन नसकेका हुन् । नेपालमा महिला लेखक धेरै आउनु पर्‍यो जसले गर्दा धेरै कुरामा परिवर्तन आउन सक्छ । कथाहरू पनि नया सिराबाट आउन सक्छन् ।

नेपालको फिल्मलाई उँभो लगाउने हो भने चलचित्र विकास बोर्ड बढी सक्रिय हुन जरुरी छ । बोर्डको सक्रियता र बजेट दुवै कम छ । हाल बोर्डले पाइराखेको बजेटले यो उद्योगलाई सुधार्न खासै योगदान गर्न सक्दैन । हामीले नयाँ-नयाँ प्रविधि, राम्रा क्यामेरा, योग्य प्राविधिकमा लगानी गर्न सक्नुपर्छ ।

राम्रा-राम्रा फिल्मी प्रोजेक्टका लागि राज्यलेनै लगानी गर्नुपर्छ । यस्ता कुरामा गरेको लगानी फर्केर फेरि यही क्षेत्रमा नै आउने हो । ठूला-ठूला शुटिङ सेटहरूमा पनि सरकारबाट वा सामुदायिक तहबाट लगानी गरिनुपर्छ ।

यद्यपी यो कुरा सरकारको मात्रै जिम्मेवारी भने होइन । अहिले राम्रो गरिराखेका विदेशी चलचित्र उद्योग पनि कुनै बेला निकै कमजोर थिए । कोरियन फिल्म उद्योगले सन २००० पछि मात्रै फड्को मारेको हो । यी देशमा कति हस्तीहरूले व्यक्तिगतरुपमै ठूला योगदान दिएका थिए ।

जस्तो कि रसियन चलचित्र उद्योगमा सर्गेई आइन्स्टाइन, आन्द्रेइ टारकोभ्सकीले, जापानिज चलचित्र उद्योगमा अकिरा कुरोसवा, यासुजिरो ओजुले र कोरियन चलचित्र उद्योगमा बोगँ जून-हु, पार्क चान वुक, किम कि-दुकले महत्वपूर्ण योगदान दिए । उनीहरूकै कारणले चलचित्र उद्योगले उडान भर्यो । बोगँ जून-हुको ‘प्यारासाइट’ र ‘स्नो-पाएर्सर’ले त अन्तर्राष्ट्रय रूपमै सर्वोच्च ख्याति कमाए ।

कलाकारले यही क्षेत्रमा काम गरेर बाँच्न सक्ने बनाउन र यो उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिलाउन हामी सबैले मिलेर जानुको विकल्प छैन । साथमा सरकारको दीर्घकालीन ‘भिजन’ र लगानी पनि यो क्षेत्रका लागि मेरुदण्ड जस्तै हुनेछ ।

अन्त्यमा,

जेहोस ‘आमा’ देखि ‘ऊनको स्वीटर’ सम्मको नेपाली चलचित्र उद्योगलाई सरसर्ती हेर्दा समाज प्रतिबिम्बित कथाहरू, परम्परा र आधुनिकताको समिश्रण, भावनात्मकता प्रधान, संस्कृति र पहिचानका मुद्दाहरू, आशा र संघर्षका कथाहरू सकारात्मक विशेषताको रुपमा पाउन सकिन्छ ।

अर्कोतिर विदेशी कथा तथा शैलीको नक्कल, प्रविधिको कम ज्ञान र प्रयोग, महिला र जनजातीको कम प्रतिनिधित्व र कम पारिश्रमिक, अध्ययन् अनुसन्धानमा कमी, गहन र नवीनतम विषयवस्तुको अभाव, कलात्मकता भन्दा बोलवाला र पैसा हावी भएका जस्ता कुराहरू यस उद्योगका कमजोर पक्षहरू हुन् ।

लेखक
दीपक ओली

डोल्पाको समाज, जीवन र सामाजिक द्वन्द्वबारे अध्ययनरत लेखक आर्थिक-सामाजिक विषयमा कमल चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?